२० माघ २०८२, मंगलबार | February 4, 2026

चीनसँगको सहकार्यलाई प्रगाढ बनाउँदै पारिस्परिक हितमा लगानी बढाउनुपर्ने



काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपालको दिगो विकासका लागि चीनसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । फाउण्डेसन फर पिस, डेभलपमेन्ट एण्ड सोसोलिजमले आज यहाँ आयोजना गरेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) र नेपाल चीन सहकार्यसम्बन्धी ‘काष्ठमण्डप डायलग’मा उनले लगानी सम्भावनालाई सही रूपमा पहिचान गरी बिआरआईअन्तर्गत नयाँ परियोजनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

सभामुख घिमिरेले असल मित्र र निकट छिमेकीका रूपमा नेपालले चीनको प्रगतिमा गौरव गर्नुका साथै बृहत् आर्थिक साझेदारीमार्फत चीनको अद्वितीय विकास र समृद्धिबाट लाभ हासिल गर्न चाहेको स्पष्ट पारे । “नेपालको विकास प्रयासमा रहेको चीनको साथ, सहयोग र सहकार्यको हामी उच्च प्रशंसा गर्न चाहन्छौँ”, उनले भने, “नेपाल सन् २०२६ भित्र अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुने परिप्रेक्ष्यमा सहज स्तरोन्नति र सोको दीगोपनाका लागि चीनबाट महत्वपूर्ण सहयोग रहने अपेक्षा गरेका छौँ ।”

नेपाल र चीनको ऐतिहासिक सम्बन्ध आपसी विश्वास, समझदारी र मैत्रीपूर्ण सहकार्यमा आधारित रहेको उल्लेख गर्दै सभामुख घिमिरेले बिआरआईमार्फत दुवै देशबीचको सहकार्य अझै मजबुत हुँदै गएको बताए । उनले भने, “यो पहल नेपालका लागि केबल पूर्वाधार विकासको माध्यम मात्र नभई आर्थिक वृद्धिका नयाँ ढोका खोल्ने अवसरका रुपमा लिनुपर्दछ ।”

नेपालले आफ्नो भौगोलिक अवस्थितिलाई उपयोग गर्दै ‘ट्रान्जिट हब’का रुपमा स्थापित हुनसक्ने औँल्याउँदै यसका लागि दुवै देशबीच भौतिक पूर्वाधार विकास सडक, रेलमार्ग, ऊर्जा, सूचना प्रविधि तथा व्यापारिक सहकार्यलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।

सभामुख घिमिरेले सात दशकअघि कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्ध निरन्तर विकसित र सुदृढ हुँदै आएको बताए । “हाम्रो नीति शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त अर्थात् पञ्चशीलद्वारा निर्देशित छ”, उनले भने, “दुई देशबीचको सुमधुर सम्बन्धलाई थप सुदृढ र घनीभूत तुल्याउँदै लैजान हामी सदा तत्पर रहँदै आएका छौँ ।”

सभामुख घिमिरेले ‘एक चीन सिद्धान्त’लाई दृढतापूर्वक पालना गर्नुका साथै यसप्रति नेपालको प्रतिबद्धता बलियो रहिआएको स्पष्ट पारे । चीन विगत लामो समयदेखि नेपालको एक भरपर्दो र महत्वपूर्ण विकास साझेदार मुलुकको रूपमा रहिआएको उल्लेख गर्दै सभामुख घिमिरेले नेपाल सरकार र नेपाली जनता चिनियाँ सरकार र जनताका तर्फबाट नेपालको विकास प्रयासमा हुँदै आएको सहयोग र सहकार्यका लागि आभारी रहेको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले बिआरआई अवधारणा विश्वव्यापी विकास परियोजनाका रुपमा रहेको जनाउँदै पूर्वाधार विकास, सम्पर्क सञ्जाल विस्तारलगायतमा बिआरआईले अभूतपूर्व अवसर प्रस्तुत गर्ने बताए । बिआरआईलाई चिनियाँ ऋणको पासोका रुपमा केहीले टिप्पणी गर्ने गरेको सन्दर्भ उल्लेख गर्दै उनले बिआरआई परियोजना विश्वका अधिकांश मुलुकका लागि वरदानसावित भएको जिकिर गरे ।

“बिआरआई नेपालका लागि महत्वपूर्ण प्रगति र समृद्धि हासिल गर्ने अवसर हो, यसलाई गम्भीरतापूर्वक विचार गर्नुपर्छ र सम्भावित फाइदाहरू बुझ्नुपर्छ”, नेता खनालले भने ।

नेपालका लागि चिनियाँ राजदूत छन सङले पूर्वाधार, सूचना प्रविधि, औद्योगिकीकरण, नवप्रवर्तन र नवीनतम् ज्ञानको खोज, अनुसन्धानमा गरिरहेको प्रगतिका बारेमा जानकारी दिँदै नेपालको विकास प्रयासमा चीन सदैव सकारात्मक रहेको बताए ।

डायलगअन्तर्गत नेपालमा विआरआई कार्यान्वयनः अवसर र चुनौतीलगायत विषयमा नेपाल र चीनका व्यवसायी, प्राध्यापकलगायतले छलफल गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  १२ : ५७ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको