२० माघ २०८२, मंगलबार | February 3, 2026

एसइईको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर परीक्षा दिन आग्रह



भक्तपुर । बिहीबार बिहान ८ बजेदेखि देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको अन्तिम तयारी पूरा भएकाले ढुक्क र निर्धक्क भएर परीक्षामा सहभागी हुन विद्यार्थीहरुलाई आग्रह गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भोलि चैत ७ गतेदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सबै तयारी पूरा भएको जानकारी दिँदै भने, “परीक्षाको सम्पूर्ण तयारी पूरा गरेका छौँ, सबै जिल्लाबाट परीक्षाको तयारी पूरा भएको र कुनै पनि केन्द्रमा कुनै समस्या नभएको जानकारी आएको छ । त्यसैले सबै परीक्षार्थीले भोलि बिहान ८ बजेदेखि आफ्नो परीक्षा केन्द्रमा पुगेर निर्धक्क भएर परीक्षा दिन सबैमा आह्वान गर्दछु ।”

बोर्डले एसइई परीक्षाका लागि आवश्यक प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका र अन्य सामग्री प्रत्येक जिल्लामा यसअघि नै पु¥याइसकेको छ । उनले यस वर्षको एसइई परीक्षामा पाँच लाख १४ हजार ७१ जनाले परीक्षा दिने जानकारी दिए । गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार सात सय ८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार दुई सय ८६ जना बढेको छ ।

नियन्त्रक पौडेलले प्रत्येक परीक्षा केन्द्रमा सुरक्षा व्यवस्थालाई मजबुत बनाएको बताउँदै देशभर परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न गराउन सरोकारवाला सबैमा आह्वान गरे ।

परीक्षामा एक सय ५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष हुने छन् भने २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटिने भएका छन् । परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराख्ने भएको छ ।

यस वर्षको परीक्षामा जापानको एक परीक्षा केन्द्रमा २९ जना विद्यार्थीले एसइई परीक्षा दिने र काठमाडौँको केन्द्रीय कारागार र दैलेखका दुई कारागार तथा भक्तपुरको बालसुधार गृहबाट पनि विद्यार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको जानकारी दिए ।

यस वर्षको एसइईमा कीर्तिपुस्थित सफलता एचआइभी शिक्षा सदनबाट पनि विद्यार्थी सहभागी हुने भएका छन् भने यहाँबाट चार जना एचआइभी सङ्क्रमित विद्यार्थीले एसइई परीक्षा दिने भएका छन् । यस वर्ष सबैभन्दा बढी काठमाडौँमा ३९ हजार छ सय विद्यार्थी र सबैभन्दा कम मनाङ्मा ४३ जनाले परीक्षा दिने भएका छन् ।

यस वर्षको एसइई चैत ७ गतेदेखि सुरु भएर १९ गते सम्पन्न हुने भएको छ । परीक्षा बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षा तालिकानुसार पहिलो दिन चैत ७ गते अनिवार्य अङ्ग्रेजी विषय, सोही दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुनेछ ।

चैत ८ गते अनिवार्य नेपाली विषय, गैरनेपाली विद्यार्थीहरूका लागि अङ्ग्रेजी (इलेक्टिभ इङ्लिस)को परीक्षा हुनेछ । चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान तथा प्रविधि एवं संस्कृततर्फ शुक्लयजुर्वेद, सामवेद, अथर्ववेद, नीतिशास्त्रलगायत विषयको परीक्षा हुनेछ । १३ गते अनिवार्य सामाजिक, १४ गते ऐच्छिक प्रथम, १५ गते ऐच्छिक द्वितीयको परीक्षा सञ्चालन हुनेछ ।

बोर्डले यस वर्ष असार ७ गतेभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने भएको छ भने न्यूनतम ३५ अङ्कभन्दा कम ल्याउने परीक्षार्थी अनुत्तीर्ण हुनेछन् ।

लेटर ग्रेडिङ प्रणालीमै यस वर्ष पनि परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ । परीक्षाको नतिजामा उत्तीर्ण दरमा ७० प्रतिशत पु¥याउने लक्ष्य राखेको छ । विसं २०८० को एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका थिए ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ९ : ५५ बजे

लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले भोली बुधबार प्रदेशभर सार्वजनिक बिदा

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

बागलुङ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा

गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै)

निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि