काठमाडौं । अहिले देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशको तराईका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । आज राति कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।



















प्रतिक्रिया