८ माघ २०८२, बिहिबार | January 22, 2026

तनहुँको छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन



तनहुँ । जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको पर्यटकीय स्थल छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन थालिएको छ । छम्केश्वरी पर्यटन विकास समितिको नेतृत्वमा आँबुखैरेनी गाउँपालिका-५ स्थित छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन सुरु गरिएको हो ।

काठमाडौंस्थित केडी मेटल वर्कसपका इञ्जिनियरको सहभागितामा आजदेखि अध्ययन सुरु गरिएको समितिका अध्यक्ष कृष्णमान तामाङले जानकारी दिए । समुन्द्री सतहबाट दुई हजार १३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरीमा मोनोरेल सञ्चालन गर्न सकिए प्रदेशकै उत्कृष्ट गन्तव्यस्थल बनाउन सकिने उनको भनाइ छ ।

छिम्केश्वरी माई मन्दिरको दर्शनका लागि आउने अशक्त, अपाङ्गता, वृद्धवृद्धालाई लक्षित गरी ठूल्ढुङ्गाबाट मन्दिरसम्म छ सय मिटर दूरीको मोनोरेल सञ्चालन गर्ने लक्ष्य लिइएको तामाङले बताए । उनले भने, “पहिलो चरणमा नापजाँच सुरु गरिएको छ । लागतसहितको प्रतिवेदन एक हप्ताभित्र आइपुग्छ । त्यसपश्चात् थप प्रक्रिया अगाडि बढाउँछौँ ।”

छिम्केश्वरीमा हाल वार्षिक एक लाख पर्यटक आउने गरेको तथ्याङ्क छ । छिम्केश्वरीमा पर्यटकीय पूर्वाधार निर्माण गरेर धेरै पर्यटक भित्र्याउने लक्ष्य राखिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । उनले भने, “हामी छिम्केश्वरीको एकीकृत पर्यटकीय विकासमा जुटेका छौँ । त्यसका लागि सङ्घ र प्रदेश सरकारसँग सहकार्य गरेर अगाडि बढ्छौँ ।” गाउँपालिकाले छिम्केश्वरीमा पूर्वाधार निर्माण गरेर समग्र गाउँपालिकाको विकासको योजना अगाडि बढाएको चुमानको भनाइ छ ।

छिम्केश्वरीमा सडक असुविधा, खानेपानी अभाव, विद्युत् समस्या, मोबाइल नेटवर्क र टावर व्यवस्थापनलगायत समस्या रहेकाले त्यसको क्रमशः निराकरण हुँदै जाने उनले बताए । सडक सञ्जाल स्तरोन्नतिका क्रममा रहेको भन्दै चुमानले खानेपानीको बजेट स्रोत भएर विस्तृत परियोजना प्रतिवेदन गरेर ठेक्का लगाउन बाँकी रहेको जानकारी दिए ।

छिम्केश्वरीमा पानीको अभाव हुँदा विकास निर्माणमा बाधा पुग्दै आएको छ । खानेपानी सुविधाका लागि खानेपानी मन्त्रालयबाट बजेट विनियोजन भई विस्तृत परियोजना प्रतिवेदनको चरणमा रहेको चुमानको भनाइ छ । उनले भने, “वडा नं ४, ५ र ६ लाई समेटेर एकीकृत छिम्केश्वरी खानेपानी आयोजना अगाडि बढाउन विस्तृत आयोजना प्रतिवेदन ९डिपिआर० भइरहेको छ । डिपिआर सकिएपछि मन्त्रालयबाट ठेक्का आह्वान हुनेछ ।” उनका अनुसार खानेपानीका लागि करिब रु १० करोड लाग्ने अनुमान छ ।

विशेषगरी यहाँ फागुपूर्णिमा, वैशाख १ गतेको नयाँ वर्षलगायत बेला यहाँ पर्यटकको ठूलो भीड लाग्ने गरेको छ । त्यसका अलवा दैनिक रुपमा पनि यहाँ पर्यटकको आगमन बढिरहेको छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष तामाङले जानकारी दिए ।

उनका अनुसार आँबुखैरेनी गाउँपालिकाले छिम्केश्वरीमा रहेको छिम्केश्वरी मन्दिर जीर्णोद्वार गरिसकेको छ । यसअघि रहेको पुरानो मन्दिरलाई जीर्णोद्वार गरी मन्दिरलाई आकर्षक बनाइएको छ । मन्दिरमा पित्तलको छानो राखिएको छ ।

गोरखा मनकामनाकी दिदीका रूपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक जनविश्वास रहिआएको छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई यहाँ अवस्थित छन् भने साइली गोरख कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोहीस्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ । छिम्केश्वरीबाट धौलागिरि, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुच्छ्रेलगायत हिमाल आँखै अगाडि हेर्न सकिन्छ ।

छिम्केश्वरी मन्दिर पुग्न गण्डकी प्रदेश सरकारको सहयोगमा पैदलमार्ग र रेलिङ निर्माण भइसकेको छ । आर्थिक वर्ष २०७५/७६ मा रु ४१ लाख ६३ हजार ७०६ को लागतमा चार सय ८६ मिटर ढुङ्गाको सिँढी निर्माण सम्पन्न भएको छ भने आव २०७६/७७ मा रु ३५ लाख ९९ हजार १४१ को लागतमा तीन सय पाँच मिटर ढुङ्गाको सिँढी र रेलिङ निर्माण सम्पन्न भइसकेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ८ : ०५ बजे

निर्वाचनमा निष्पक्ष, व्यवसायिक र जिम्मेवार पत्रकारिता प्रवर्द्धन महासंघको आह्वान

नेपालगन्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

बाँकेमा १६ औं शृङ्खलामा हात्तीपाइले रोग विरुद्ध औषधि सेवन गराईँदै

नेपालगन्ज । बाँकेमा ६२ प्रतिशत नागरिकको पहुँचमा मात्र हात्तीपाइले रोग

घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै

राष्ट्रिय सुरक्षाका विषयमा साझा बुझाइ हुनुपर्छ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

रिडीघाट जाँदै गरेको मलामी बोकेको जिप दुर्घटनामा एकको मृत्यु

पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ