१२ असार २०८३, शुक्रबार | June 26, 2026

रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप



पाल्पा । घर वरपरका बगैँचा, आँगनका छेउमा लहरै राखिएका मौरीका घार छन् । बिहान उज्यालो भएदेखि साँझ अबेरसम्म घार वरिपरि नै बस्न मन पराउने जयनारायण न्यौपाने अहिले भने घार देख्दा विक्षिप्त छन् ।

मौरीघार उनलाई आम्दानीको स्रोतमात्र नभई दिन बिताउने माध्यम बनेको थियो । घारसँग रमाउँदै दिन कटाउने उनलाई घार देख्दा मन भारी भएर आउँछ । रामपुर नगरपालिका–६ किसानटोलका किसान न्यौपाने घारमा रहेका मौरी मरेर सखाप भएपछि उनी चिन्तित छन् ।

एक्कासी मौरी मरेपछि उनलाई व्यवसाय निल्नु न ओकल्नुजस्तै बनेको छ । बगैँचामा मौरीसँगै भुलेर दिन कटाउन पाउँदा समय बितेको पत्तो हुँदैनथ्यो । यसरी नै मौरीको रेखदेख गरेर समय बिताउने गरे पनि हिजोआज भने मौरी बगैँचामा पस्न पटक्कै मन छैन । मौरीका रित्ता घार देख्दा उनको मन विक्षिप्त बनेको छ ।

“बगैँचाभरि मौरीको हेरचाह गरेर समयको गएको पत्तो हुँदैनथ्यो, अहिले मौरी सबै मासिएपछि घरमा दिन कटाउन गाह्रो भएको छ”, उनले भने, “हिजोका दिन खाना खाने समयबाहेक बगैँचामा नै बसेर दिन बिताउँथे, घरमा कोही आफन्त, साथीभाइ, इष्टमित्र आए पनि बगैँचातिर डुलाउँथे, अहिले बगैँचाभित्र पस्न पनि मन छैन, मौरीघार रित्ता देख्दा मन खिन्न भएर आउँछ ।”

छिमेकीले बालीनालीमा विषादी छरेका कारण फार्ममा भएका मौरी मरेर करिब रु सात लाख बराबरको नोक्सानी व्यहोर्नुपरेको उनी बताउँछन् । विषादीले ८५ गोलाघारमा तयार गरिएको मौरी सबै क्षति हुन पुगेको उनले सुनाए । विसं २०५५ देखि ‘न्यौपाने मौरी उद्योग’ स्थापना गरेर मौरी उद्योग सञ्चालन गर्दै आएका न्यौपानेले पहिलोपटक ठूलो क्षति व्यहोर्नुपरेको जनाए ।

यस वर्ष उहाँ ६० घार गोलासहित मौरी बिक्री गर्ने तयारीमा थिए । विभिन्न ठाउँबाट मौरी तयार हुनुअगावै माग आइसकेको थियो । तर पठाउने तयारी गरिरहेको अवस्थामा एक्कासी मौरी सबै नष्ट हुनपुगेको छ । “छिमेकीले खेतबारीमा विषादी छर्कँदा मौरीमा ठूलो क्षति पुगेको छ, व्यवसायका क्रममा पहिलोपटक यस्तो क्षति भोग्नुपरेको छ, घारमा राखिएका मौरी मरेपछि बगैँचामा फर्कन मन छैन, रित्ता घार देखेर मन खिन्न बनेको छ”, उनले भने ।

मौरी नै जीवन जिउने साहारा थियो । बुढेसकालको साहारा र नयाँ पुस्तालाई मौरीपालन व्यवसायबारे जानकारी दिन आफ्नै घरमा व्यवसाय चलाएका हुन् । उनी उमेरले करिब आठ दशक भए पनि फूर्तिलो बनेर मौरीसँग रमाउने गर्दथे। गत फागुनको पहिलो हप्ताबाट विषादीका कारण मौरी मर्न थालेको उनले बताए ।

“मौरीको प्रागसेनले बाली बिरुवालाई राम्रो बनाउँछ, चरनका लागि मौरी बिहान ३ः३० बजे नै निस्केर ९ः०० बजे घारमा आएर बस्छन्, बिहानको समयमा बालीबिरुवामा विषादी छर्कँदालगत्तै चर्न जाने भएकाले रस सेवनले मौरी मासिएको छ, साँझ ५ः०० बजेपछि विषादी प्रयोग गरेको भए कम क्षति हुन्थ्यो”, उनले भने ।

मह बिक्रीबाट न्यौपानेले वार्षिक रु पाँच लाखदेखि छ लाखसम्म आम्दानी गर्दै आएका छन् भने सरदरमा ८० गोलासहितको घार बिक्री गर्दै आएको उनी बताउँछन् । गोलासहित एक घारको रु नौ हजार, खाली घारलाई रु पाँच हजारमा बिक्री भइरहेको छ । गोलासहित बिक्री गर्दा व्यवसायीलाई फाइदा हुने गरेको उनको अनुभव छ ।

पाल्पा, स्याङ्जा, तनहुँ, नवलपरासी, गुल्मी, झापालगायत विभिन्न जिल्लामा यहाँबाट मौरी तथा घार पठाउने गरिएको छ । उद्योगमा नै मौरीघार तयार पारिने भएको हुँदा विभिन्न जिल्लाबाट घार खरिद गर्न आउने गरेका छन् । मौरीलाई जोगाउन स्थानीय निकायबाट किसानलाई चेतनामूलक कार्यक्रम ल्याउन उनको माग छ । मौरीपालन क्षेत्र अध्ययन गरेर कुन समयमा विषादी छर्कँदा उपयुक्त हुन्छ, त्यसबारेमा किसानलाई सुसूचित गराउन पूर्वजानकारी दिइयो भने किसानले पनि उपयुक्त समयमा विषादी प्रयोग गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ९ : ३२ बजे

बागमती प्रदेशको गौरव – सालक

बागमती । बागमती प्रदेश सरकारले सालकलाई बागमती प्रदेशको गौरवको प्राणीका

महामन्त्री पदका आकांक्षी चार नेताद्वारा विपिन आचार्यलाई समर्थन 

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत महामन्त्री

प्रचण्ड र माधव नेपालको शेखर कोइरालासँग भेट, समसामयिक राजनीतिक विषयमा छलफल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो

काठमाडौं । प्रतिनिधिसभाको आजका लागि निर्धारित बैठक स्थगित भएको छ

प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन्