नवलपुर । नवलपुरको कावासोतीस्थित मालपोत कार्यालयमा बिचौलियाको प्रभाव हट्ने नाममा पटक–पटक प्रयास भए पनि प्रभावकारी परिणाम देखिएको छैन। सेवा प्रवाहका लागि भनेर कार्यालय धाउने नागरिकहरू बिचौलियाको सेटिङबिना काम नहुने अवस्थाले हैरान छन्।
सरकारी सेवा सहज र सरल तरिकाले पाउने नागरिकको संवैधानिक हक हो। तर कावासोती मालपोत कार्यालयमा ती अधिकार कागजमै सीमित देखिन्छन्। लालपुर्जा सुधार, नामसारी, नापजाँच र कागजात प्रमाणीकरणजस्ता सामान्य कामका लागि समेत सेवाग्राहीले लामो लाइन बस्नुपर्ने, झन्झट भोग्नुपर्ने र आर्थिक रूपमा लुटिनुपर्ने अवस्था विद्यमान छ कावासोती मालपोतमा
सरकारी सेवा लिने कि सास्ती खेप्ने ?’ यिनै प्रश्नले थिचिएका छन्, कावासोती मालपोत कार्यालय धाउने सेवाग्राहीहरू। राज्यले ग्यारेन्टी गरेको नागरिक सेवा अब बिचौलियाको ‘एजेन्ट सिस्टम’ बिना असम्भवजस्तै बनेको छ मालपोत कार्यलय कावासोती मालपोत कार्यालयको मूल गेटदेखि भित्री परिसरसम्म, सरकारी भवनभन्दा बिचौलियाको अखडा झैँ देखिन्छ। “काम छिटो हुन्छ” भन्दै सेवाग्राहीलाई झुक्याउने ती बिचौलियाहरू केही कर्मचारीसँग मिलेर खुलेआम कारोबारमा छन्।
देवचुली नगरपालिका–१५, प्रगतिनगरका एक सेवाग्राहीको पीडा, बिचौलिया प्रभावको प्रतिनिधि उदाहरण हो। बैंकबाट लिएको ऋण तिर्न एक कठ्ठा जग्गा बिक्री गर्न खोज्दा पाँच दिनसम्म कार्यालय धाए, तर काम अड्किरह्यो। उनले गुनासो पोखे, “कर्मचारीसँग सोध्दा टार्ने, फाइल अगाडि नबढ्ने। अन्तमा बिचौलियामार्फत पैसा बुझाएपछि भोलिपल्टै फाइल अगाडि बढ्यो।”
रिस, अपमान, र लाचारीको त्यो अनुभूति लिएर उनी फर्किए। उनी त केवल एउटा उदाहरणमात्र हुन्, मालपोत कार्यलयमा यस्ता घटनाहरू दैनिक दोहोरिन्छन्।मालपोत कार्यालयको मूल गेटदेखि कार्यालय परिसरसम्म बिचौलियाहरू खुलेआम सक्रिय छन्। “काम छिटो हुन्छ” भन्दै सेवाग्राहीलाई झुक्याएर रकम असुल्ने बिचौलियाहरू केही कर्मचारीसँगको मिलेमतोमा काम गर्दै आएको सेवाग्राहीहरूको गुनासो छ ।
कावासोती-१० का एक सेवाग्राही, उमेरले ५५ बर्षका मालपोत कार्यालयको पर्खालछेउ दिनभरिको घाम र धुलो सहेर तीन दिनसम्म लाइनमा बसे। उनी आफ्नो ११ धुर जग्गाको नामसारी प्रक्रिया अगाडि बढाउन आएका थिए। तर, निराश मुद्रामा उनी भन्छन्, “तीन दिन भयो, फाइल हिँड्दैन। के कारण हो उनीले पनि थाहा पाउन सकेका छैनन न त स्पष्ट जानकारी नै पाएका छन
ती सेवाग्राहीको आवाज भित्रको आक्रोश मात्र होइन, एक गहिरो पीडाको संकेत पनि हो। उनी थप्छन्, “बिचौलियाबिना काम सम्भव छैन। कर्मचारीहरू उनीहरूमार्फत पैसा असुल्छन्।”
सेवाग्राहीको गुनासोले सरकारी सेवाप्रति गम्भीर प्रश्न उठाउँछ । ” के बिचौलिया बिना नागरिकले राज्यबाट सेवा पाउने सपना सपना मात्र होरु दुखेसो पोख्दै उनले भने ।
गैडाकोटका राजु सिग्देल मालपोत कार्यालयको प्रक्रियाबाट हैरान भएका छन्। सरकारी कागजपत्र बुझाएर काम हुन्छ भन्ने विश्वास बोकेर कार्यालय पुगेका उनी, सानो गल्ती भन्दै फाइल रोकिने, नयाँ कागजात मागिने र काम लम्ब्याइने व्यवहार देखेर आश्चर्यचकित बने।
“सानोतिनो गल्ती देखाएर फाइल रोकिन्छ। कहिले फोटो ठीक छैन, कहिले प्रमाणीकरण चाहियो भनेर काम लम्ब्याउँछन्,” उनी भन्छन्, “तर त्यही काम बिचौलियामार्फत गराउँदा तुरुन्तै हुन्छ।”
सिग्देलको अनुभवले मालपोत कार्यालयभित्र मौलाएको “दोहोरो मापदण्ड” झल्काउँछ – जहाँ नियमभन्दा बढी प्रभावकारी देखिन्छ “सेटिङ प्रणाली”। सेवाग्राही स्वतन्त्र रूपमा सेवा लिन चाहँदा असम्भवजस्तै देखिन्छ, तर बिचौलियाको माध्यमबाट चाँडै काम सकिन्छ।
“हामी कानुनी बाटो रोज्दा अप्ठ्यारो पारिन्छ,” सिग्देल थप्छन्, “अवैध बाटो अपनाउँदा सजिलो हुन्छ भन्ने सन्देश कार्यालयले आफैं दिइरहेको छ जस्तो लाग्छ।”
“सबै कागजात पुरा थियो, तर कर्मचारीले एकपटक हेरेपछि फिर्ता पठाए— प्राविधिक गल्ती भन्दै। फेरि आएको थिएँ, उही गल्ती नदेखिने गरी मिलाएर ल्याएँ। फेरि अर्को कुरा देखाएर फर्काए”, मध्यबिन्दुका अर्का सेवागा्हीले अनुभव सुनाए, “अन्तमा, कार्यालय बाहिर बसेको एउटा मान्छेले भने, म मिलाइदिन्छु। साँच्चै उसैको सहाराले मात्रै काम भयो।”, उनले भने
कावासोती मालपोत कार्यालयमा सेवा लिन पुगेका धेरै नागरिकका अनुहारमा निराशा र आक्रोशको भाव स्पष्ट देखिन्छ। उनीहरू कसैलाई चिन्छन् भने काम तुरुन्तै हुन्छ, नत्र हप्ता दिन कुर्नुपर्ने नियति। यो कुनै एक(दुई जनाको अनुभव होइन, कार्यालयमा देखिने आम दृश्य हो।
कावासोतीस्थित मालपोत कार्यालयका प्रमुख हरीकृष्ण सुबेदी सेवाग्राहीका गुनासोलाई पूर्णतः नकार्दैनन्। तर, धेरैजसो समस्या सेवाग्राहीकै कमजोरीका कारण आएको उनी ठान्छन्।
“कतिपय सेवाग्राही आवश्यक कागजात नबुझाई नै कार्यालय आउँछन्, जसले प्रक्रियामा ढिलाइ हुन्छ”, सुबेदी भन्छन्।
उनको दाबीअनुसार, कार्यालयमा सेवा प्रवाहमा ढिलाइका केही कारणहरू आफैं सेवाग्राहीसँग जोडिएका छन्। तथापि, उनी कुनै पनि प्रकारको अनियमितता वा गलत गतिविधि देखिएमा तुरुन्त जानकारी दिन आग्रह गर्छन्। “यदि कसैले गलत काम गरेको देख्नुभयो भने मलाई सिधै खबर गर्नुहोस्। कारबाहीका लागि म सधैं तयार छु”, सुबेदीले भने
मालपोत कार्यालयमा सेवाग्राहीले भोग्नुपरेको सास्ती र बढ्दो बिचौलीया को सक्रियताबारे सार्वजनिक चासो बढिरहेका बेला प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भबेश्वर पाण्डेले गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। उनले नवलपुर प्रशासन कार्यालयले यस विषयलाई प्राथमिकताका साथ लिएको जानकारी दिए।
“सेवाग्राहीलाई सास्ती दिने काम सह्य हुँदैन”, प्रजिअ पाण्डेले भने, “बिचौलियामार्फत काम भएको प्रमाणित भए कडा कारबाही हुन्छ।” उनका अनुसार, प्रशासनले सरकारी कार्यालयहरूको अनुगमन तीव्र बनाएको छ। “मैले कार्यालय प्रमुखहरूलाई सेवा प्रवाहमा सुधार ल्याउन निर्देशन दिइसकेको छु”, उनले थपे।
सेवाग्राहीको अनुभवले मालपोत कार्यालयमा गहिरो रूपमा गाडिएको बिचौलिया संस्कृति झल्काउँछ। कार्यालय बाहिर खाजा पसल, चिया स्टल वा कुर्सीमा बसेका केही अनुहारहरू यस्ता छन्, जो कर्मचारीभन्दा बढि ‘जानकार’ देखिन्छन्। उनीहरू कर्मचारीसँगको ‘सम्बन्ध’ र ‘सेटिङ’ मार्फत सेवाग्राहीका काम तुरुन्तै गराइदिन्छन्।
तर, आम नागरिक चाहिँ सानातिना त्रुटिको नाममा कार्यालय धाइरहन्छन्। सेवा प्रवाहु भन्ने सरकारी नारालाई मालपोत कार्यलयको वास्तविकता हेर्दा ठट्टा जस्तै लाग्छ। अनियमितता, ढिलासुस्ती र स्वेच्छाचारिता यति गहिरो छन् कि यहाँ कर्मचारी मात्र हैन, प्रणाली नै प्रश्नमा छ।काम गर्न चाहिने सबै कागजात पुरा छ भने पनि, नयाँ समस्या देखाएर सेवाग्राहीलाई तर्साउने काम भइरहेको छ ।
मालपोत कार्यलयमा बिचौलियाको संजाल गहिरो रूपमा जरा गाडिसकेको छ। सोझासाझा नागरिकको सेवा पाउने अधिकार स्वयं प्रणालीले चुनौतीमा पारेको छ।
अनियमितता, ढिलासुस्ती र स्वेच्छाचारिताको यो जटिल संरचनाभित्र बिचौलिया मात्र हैन, कर्मचारीको भूमिकासमेत प्रश्नमा छ। “काम गर्न चाहिने कागजात पूरा छ भने पनि प्राविधिक बहाना खोजेर सेवाग्राहीलाई तर्साउने काम भइरहेको छ”, यस्ता हर्कत बन्द गरिनु पर्ने सेवाग्राहीहरूको माग छ ।
मालपोत कार्यलयको यस्तो प्रवृत्तिले ‘सेवा प्रवाह’ भन्ने अवधारणा नै विकृत बनाइदिएको छ। बिचौलियाको माध्यम नअपनाएसम्म काम नहुने अवस्थाले नागरिकको विश्वास र राज्यको इमानदारी दुवैलाई खल्बल्याएको छ। सेवाग्राहीका लागि झन्झटको पर्याय बन्दै गएको छ। बिचौलिया नियन्त्रणका नाममा गरिएका प्रयत्न कागजी बनिरहेका छन्। सेवाग्राहीले छिटो र पारदर्शी सेवा पाउने सपना अझै पनि अपूरो बन्दै गएको छ ।
प्रतिक्रिया