
नवलपुर । नारायणघाट–बुटवल सडक आयोजनाले झण्डै ९४ किलोमिटर एकतर्फी कालोपत्रे भएको जनाएको छ । आयोजनाले सोमबार एक विज्ञप्ती जारी गर्दै अब ११३.५३ किलोमिटर सडकमध्ये ९३.९४ किलोमिटर कालोपत्रे सडक भएर यात्रा गर्न सकिने जानकारी दिएको हो ।
कालोपत्रे गरिएकोमध्ये ३.०७ किलोमिटर क्षेत्र पुलले ओगटेको छ भने ११०.४६ किलोमिटर सडक रहेको छ । पुल बाहेक ९०.८७ किलोमिटर सडकको भाग रहेको छ । यसरी हेर्दा कुल ११३.५३ किलोमिटरमध्ये हाल ९३.९४ किलोमिटर अर्थात् कुल लम्बाइको झण्डै ८३ प्रतिशत भाग पक्की सडक भएर यात्रा गर्न सकिने आयोजनाको भनाइ छ ।
बाँकी रहेको अधिकांश भाग दाउन्ने क्षेत्रमा रहेको आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए । दाउन्नेमा हाल कल्भर्ट निर्माणको काम भइरहेको र अन्तिम चरणमा पुगेको छ आयोजनाले दाबी गरेको छ । साथै सडक ढलान गर्ने काम पनि समानान्तर रूपमा जारी रहेको बताइएको छ । हालसम्मको भौतिक प्रगति ६६.५० प्रतिशतको हाराहारीमा रहेको विज्ञप्तिमा उल्लेख छ ।
दाउन्नेको झण्डै ११ किलोमिटर कालोपत्रे नहुँदा अझै पनि यो खण्ड भएर यात्रा गर्न निकै कष्टकर रहेको यात्रुहरूको भनाइ छ । दाउन्ने बाहेक दुम्कीवास र चोरमारा पुल तथा बजार खण्डमा पनि कालोपत्रे हुन सकेको छैन ।
तेस्रोपटक अन्तिम समय भन्दै थपिएको म्याद सकिन अब दुई महिना मात्र बाँकी हुँदा आयोजनाले प्रगति विवरण सार्वजनिक गरेको हो । अन्तिम पटक थपिएको म्याद आगामी साउन ८ गते सकिँदैछ ।



















प्रतिक्रिया