काठमाडौं । ईट्टाभट्टामा जिउँदै मान्छे जलाएको मुद्दामा जिल्ला अदालत रौतहटबाट दोषी ठहर भएका नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमको मुद्दा उच्च अदालत वीरगन्जले उल्ट्याइदिएको छ । बुधबार न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्ट्याउँदै आलमलाई सफाइ दिएको हो ।
इँट्टा भट्टामा मानिसलाई जिउँदै हालेर जलाएको कसुरमा जिल्ला अदालतबाट उनी विरुद्ध जन्मकैदको फैसला आएको थियो । अदालतको फैसलासँगै उनी नख्खु कारागारमा रहेका थिए । फैसला उल्टिएसँगै उनी थुनामुक्त हुने भएका छन् । आजै उनलाई थुना मुक्त गर्ने तयारी भएको बताइएको छ ।
आलमलाई सफाइ दिने क्रममा उच्च अदालतले वारदात नै पुष्टि हुन नसकेको विषयलाई प्रमुख आधार मानेको पाइएको छ । आलमको घरमा बम विस्फोट भएको भन्ने कुरा वस्तुनिष्ठ आधार तथा प्रमाणले पुष्टि हुन नसकेको अदालतको ठहर छ ।
२०६४ को संविधानसभा निर्वाचनताका आफ्नै घरमा भएको बम विस्फोटका घाइते कार्यकर्तालाई इँटाभट्टामा जिउँदै जलाएको अभियोग आलममाथि थियो । चुनावको अघिल्लो दिन बुथ कब्जाको तयारी स्वरूप बम बनाउँदै गर्दा विस्फोट भएको अभियोगपत्रमा उल्लेख गरिएको थियो ।
त्यसको पोल खुल्ने डरले घाइतेहरूलाई इँटा भट्टामा हालेर जलाएको जिकिर अभियोग पत्रमा गरिएको थियो । २०८१ वैशाखमा रौतहट जिल्ला अदालतले आलमलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो । अहिले उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले आलमसहित ४ जनाको हकमा रौतहट जिल्ला अदालतको फैसला उल्ट्याएको हो ।



















प्रतिक्रिया