१ श्रावण २०८३, शुक्रबार | July 18, 2026

गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न शासकीय चरित्रलाई बदल्नुपर्छ : राष्ट्रपति पौडेल



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हाल गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती, अनियमितता र बेथिति भएको बताएका छन । गणतन्त्र दिवस, २०८२ का अवसरमा आज शुभकामना दिँदै उनले गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न राजनीतिक उपलब्धि मात्र पर्याप्त नहुने भन्दै त्यसका लागि हाम्रो शासकीय चरित्रलाई बदल्नुपर्दछ भने ।

यस्तै, शासकीय चरित्र, राजनीति, पार्टी र नेताको चरित्रलाई बदल्नुपर्नेमा राष्ट्रपति पौडेलको जोड छ । सन्देशमा उनले भनेका छन, “हाम्रो शासकीय चरित्रलाई बदल्नुपर्ने हुन्छ । गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति, हाम्रो शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधिमूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष, प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्न हुन्न भन्ने म ठान्दछु ।”

लोकतान्त्रिक गणतन्त्रको सुन्दर सपना बोकेका नागरिकलाई निराश बन्ने अवस्था आउन नदिने गरी काम गर्नुपर्नेमा राष्ट्रपति पौडेलको जोड छ । “जबसम्म प्रत्येक नागरिकको जीवनमा आशाको दियो बल्नेछैन, त्यो बेलासम्म हामीले रगत र पसिनासँग साटेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा हुँदैन”, उनको भनाइ छ, “नागरिकले सुशासनसहितको समृद्धि, रोजगारी, अवसर र स्रोतसाधनको न्यायोचित वितरण र सामाजिक न्यायको प्रबन्ध खोजेका छन् । आर्थिक विकासबिना यी केही पनि सम्भव नभएकाले सबै गम्भीर भएर लाग्नुपर्छ ।”

राष्ट्रपति पौडेलले उपलब्ध स्रोतको अधिकतम प्रयोगगरी नागरिकको जीवनस्तर बदले मात्रै आशा जागृत हुने उल्लेख गरेका छन । उनले सन्देशमा भनेका छन, “त्यसैले हाम्रा स्रोतहरूको उच्चतम प्रयोग गर्न आवश्यक छ अनि मात्र हामी हाम्रो कृषि, पर्यटन, ऊर्जालगायत औद्योगिक र सेवा क्षेत्रलाई बलियो बनाउन सक्छौँ, अनि मात्र आर्थिक विकास र समृद्धि प्राप्त हुन्छ र गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न सक्छौँ । त्यसले मात्र नयाँ आशाहरू निर्माण हुन सक्छन्, हाम्रो गणतन्त्र सफल, सबल र परिणाममुखी हुँदै जान्छ, यो नै आजका लागि हाम्रो ऐतिहासिक अभिभारा हो ।”

राष्ट्रपति पौडेलले गणतन्त्र केवल एक राजनीतिक व्यवस्था मात्र नभएर यो आचरणशील राजनीति, आर्थिक र सामाजिक जीवन पद्धति पनि भएको उल्लेख गर्दै यसका मूल्यमान्यता र नैतिक दायराहरूलाई भुलेर इतिहासको अभिभारा पूरा गर्न नसकिने बताएका छन । “यस अर्थमा आजको दिनले हामीलाई आफ्नो ऐतिहासिक दायित्व सम्झाएको छ, म आशा गर्छु हामी यो दायित्व बिर्सने छैनौँ । गणतन्त्रको मर्यादा बचाउन र यसलाई अझ समृद्ध बनाउन हामी सबै एकताबद्ध भएर लाग्नेछौँ ”,उनले भनेका छन, “आजको दिनले हामीलाई सामाजिक न्याय, विकास र समृद्धिसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उच्चतम र सार्थक अभ्यासमा अगाडि बढ्ने थप प्रेरणा दिनेछ ।”

राष्ट्रपति पौडेलले लोकतान्त्रिक गणतन्त्र संसारकै एक उत्कृष्ट राजनीतिक व्यवस्था भएको भन्दै यसलाई नेपालमा सङ्घीयता, समावेशिता, सामाजिक न्याय र लोकतान्त्रिक मूल्यसहितको समाजवादको सारगर्वित मान्यताहरूले सिञ्चित गरेर थप सर्वोत्कृष्ट बनाइएको उल्लेख गरेका छन । उनले यस व्यवस्थाले सम्पूर्ण राजनीतिक अधिकार सुनिश्चित गरेको र देशवासीलाई जोडेको छ भन्दै एक साझा राष्ट्र बनाउने सङ्कल्पका साथ आफ्नो जाति, भाषा, धर्म, सम्प्रदाय, सभ्यता र भूमिको स्वामित्व दिएको स्मरण गरेका छन ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  ७ : ३५ बजे

सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति

काठमाडौँ । सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति भएको

स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष

काठमाडौँ । नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को

एमाले उपाध्यक्ष पौडेललाई साधारण तारेखमा छाड्न आदेश

काठमाडौँ । विशेष अदालतले नेपाली कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष

खजुरा क्यान्सर अस्पतालमा आजबाट लिक्विड अक्सिजन प्लान्ट संचालनमा

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल