बुटवल । बुटवल उपमहानगरपालिका ७ का द्रोण गिरीको ७ जनाको परिवार छ । पेसाले उनी चालक हुन । बुटवलको एक निजी बिद्यालयमा बस चालकको रुपमा काम गर्दै आएका उनको परिवार एक बर्ष अघि सम्म हासीखुसी नै थियो । श्रीमती, ३ छोरा छोरी र बुवा आमा सहितको परिवारको गुजारा जसोतसो चलेकै थियो ।
तर गत चैतको अन्तिम साता उनलाई एक्कासी छाती दुख्यो । सुरुमा ग्यास्ट्रिकको औषधी खाए तर दुखाई नघटेपछि परिवारले उनलाइ बुटवलकै गौतमबुद्ध सामुदायिक मुटु अस्पताल लगे । अस्पतालका चिकित्सकले उनलाइ हृदयघात भएको पुष्टि गरे । समस्या निकै गम्भिर भइसकेको भन्दै चिकित्सकले उनलाइ तत्कालै शल्यक्रिया गर्नुपर्ने बताए ।
८० वर्ष नाघिसकेका द्रोणका बुवाले उच्च रक्तचाप र मधुमेहको औषधी नियमित खानुपर्छ । ७० वर्षकी आमा मस्तिष्कघातको बिरामी भएकाले उनको पनि उपचार चलिरहेको थियो । स्कलु बस चलाएर आउने आम्दानीले बुवा आमाको औषधी, छोराछोरीको पढाइ खर्च, घर खर्च जसोतसो चलाउँदै आएका द्रोण आफै गम्भिर बिरामी बिरामी परेपछि परिवारमा ठुलै बज्रपात पर्यो ।
परिवारको पालनपोषण र बाबु आमाको उपचार खर्च धान्न मुस्किल भइरहेको बेला अप्रेसनकालागि पैसा कहाँबाट ल्याउने उनी र उनको परिवार निकै तनावमा थियो । यता अस्पतालले बेलैमा उपचार नगरे जे पनि हुनसक्ने भनेपछि ऋण सापटी गरेर द्रोणको शल्यक्रिया गरीयो । एक साताको अस्पताल बसाइमा उपचार खर्च मात्रै सवा २ लाख लाग्यो । ऋण सापटी गरेर उपचार त गरियो तर, त्यो ऋण कसरी तिर्ने, द्रोणको परिवारसँग कुनै उपाय भएन ।
आफु नै विरामी भएर बिस्तारमा परेपछि परिवारको बिचल्ली हुने भयो भनेर उनी र उनको परिवार चिन्तामा परेका बेला अस्पताल प्रशासनले १ लाख रुपैयाँ बराबरको औषधि उपचार खर्च संघिय सरकारबाट अनुदान दिने व्यवस्था रहेको जानकारी गरायो । सरकारले दिने भनेको १ लाख बराबरको उपचार खर्चले उनी र उनको परिवारको पिडामा थोरै भएप्नि मलम लाग्यो ।
उनको परिवारले वडा कार्यालयबाट सिफारिस लिएर बुटवल उपमहानगरपालिकामा पुगेपछि १ लाखका लागि सिफारिस भयो । उपमहानगरमा पुग्दा उनको परिवारले अर्को जानकारी पायो । उपमहानगरपालिकाले पनि गम्भिर प्रकृतिको रोगका बिरामीकालागि भन्दै बजेट छुट्याएको जानकारी पाए । उपमहानगरले राहत सहयोग स्वरुप १७ हजार रुपैयाँ द्रोणको नाममा रहेको बैंक खातामा जम्मा गरीदियो ।
संघीय सरकारको अनुदान रकम अस्पताल भित्रै खर्च भैरहदाँ उपमहानगरपालिकाको अनुदानले यातायात खर्च र अस्पताल बाहिरबाट किन्नुपर्ने औषधि किन्न पाउँदा उनले ठुलै राहतको महशुस गरे । द्रोणले खुसी हुदैँ भने ‘स्थानीय तहहरुमा बजेट दुरुपयोग भएका समाचारहरु सुन्थे । तर बुटवल उपमहानगरपालिकाले मेरो उपचारमा सहयोग गर्यो । म एकदमै खुसी छु । यदि पालिकाले सहयोग नगरेको भए मेरो उपचार सम्भव हुने थिएन’ उनले भने ।
बुटवल उपमहानगरपालिका ११ देविनगर का ३६ वर्षकी बसुन्धरा क्षेत्रीको गत कात्तिक देखि महिनावारी गडबडी भयो । त्यसपछि उनी लुम्बिनी प्रादेशिक अस्पतालमा पुगिन् । अस्पतालले पाठेघरको मुखको क्यान्सरको शंका गरेर चितवनको बिपी कोईराला मेमोरियल क्यान्सर अस्पताल पठायो ।
श्रीमतीलाई एक्कासी चितवन रिफर गर्दा दिनभरी अटो चलाएर गुजारा गर्दै आएका उनका श्रीमान महाविरलाई उपचार कसरी गर्ने भन्ने चिन्ताले पिरोल्न थाल्यो । श्रीमतीलाई बचाउनकै लागि महाविरले ऋण सापटी गरेर गत फागुनमा चितवन स्थित क्यान्सर अस्पतालमा परिक्षण गराए ।
बसुन्धरालाई पाठेघरको मुखको क्यान्सर भएको पुष्टि भयो । चिकित्सकले जतिसक्दो चाडैँ शल्यक्रिया गर्नु पर्ने बताए । एकातिर क्यान्सर जस्तो गम्भिर रोग अर्कोतिर उपचार खर्च कसरी जुटाउने महाविर निकै चिन्तामा परे । श्रीमतीको सल्यक्रियाकालागि आफन्तको मा धाउँदा धाँउदै उनले पनि क्यान्सरका बिरामीकालागि संघीय र स्थानीय सरकारले उपचार खर्च सहयोग गर्ने जानकारी पाए ।
त्यसपछि उनी वडाको सिफारिसमा उपमहानगरपालिका पुगेर संघिय सरकारको १ लाख रुपैयाँ अनुदानका लागि सिफारिस बनाए । संगसंगै नगरपालिकाले पनि १७ हजार रुपैयाा बसुन्धराको खातामा जम्मा गरिदियो । त्यो क्षण सम्झिदैँ महाविर भन्छन्, ‘अरुका लागि पालिकाले दिएको १७ हजार थोरै होला तर हामी जस्ता गरिबका लागि ठुलै राहत हो ।’ पालिका र संघीय सरकारको सहयोगबाट बसुन्धराको पाठेघरको मुखको क्यान्सरको शल्यक्रिया भएपछि अहिले उनी घरमा आराम गरिरहेकिछन् । उपमहानगरपालिकाले संघिय सरकारको सहायतामा उपलब्ध गराउने मासिक ५ हजार रुपैयाँको लागि पनि पालिकाबाट प्रक्रिया अघि बढिरहेको छ ।
बिपन्न नागरिक औषधि उपचार कोष निर्देशिका, २०७५ को दफा २ को (ख) मा ‘जटिल रोग’ भन्नाले मुटुरोग, मिर्गौलारोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी तथा सिकलसेल एनिमिया रोगलाई सम्झनुपर्छ भनी परिभाषा गरिएको छ ।
बुटवल उपमहानगरपालिकाले ‘जटिल रोगको अनुदान सहयोग कार्यक्रम सञ्चालन निर्देशिका, २०७८’ अनुसार नेपाल सरकाले तोकेका आठ प्रकारका जटिल रोग लागेका बिरामीलाई आर्थिक अनुदान कार्यक्रम संचालन गर्दै आएको छ । साथै संघीय सरकारबाट १ लाख अनुदान प्राप्तिका लागि पालिकाबाटै सिफारिसको काम गर्ने गरिएको उपमहानगरपालिका जनस्वास्थ्य व्यवस्थापन तथा रोग नियन्त्रण शाखा प्रमुख युवराज पाण्डेले बताए । त्यस्तै मेरुदण्ड, पक्षघात, क्यान्सर, डाईलासिस र मृगौला प्रत्यारोपण गरेका बिरामीलाई मासिक ५ हजार संघीय सरकारको सहायतमा उपलब्ध गराउने गरिएको पनि उनले जानकारी दिए ।
चालू आर्थिक बर्ष २०८१/०८२ का लागि जटिल रोग अनुदान सहयोग कार्यक्रम सञ्चालनका लागि बुटवलले ४० लाख रकम छुट्याएको थियो । उपमहानगरबाट जेठ २० गतेसम्ममा १ सय ९७ जना बिरामीले जटिल रोग अनुदान सहयोग लिइसकेको स्वास्थ्य शाखा प्रमुख पाण्डेले बताए । जसमध्ये १ सय ५३ जनाको संघीय सरकारमा र प्रदेश सरकारमा ४४ जनाको सिफारिस भएको छ । वडाबाट सिफारिस भएर उपमहानगरपालिकाबाट १७ हजार अनुदान प्राप्त गर्नेको संख्या १ सय ३८ रहेको पाण्डेले बताए ।
उपमहानगरले जटिल रोगका बिरामीका दैनिक ३ देखि ५ जनासम्म सिफारिस गर्ने गरिएको जटिल रोग अनुदान समितिका अध्यक्ष समेत रहेका बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । ‘उपमहानगरपालिकाले गर्ने सहयोग रकमले ठुलो सहयोग त गर्न सकेको छैन, तर थोरै भए गरिब तथा विपन्न परिवारलाई राहत मिलेको छ’ प्रमुख पाण्डेयले भने । बुटवलले शिक्षा र स्वास्थ्यको क्षेत्रमा अझै थप प्रयत्न गरिरहेको पनि उनले बताए ।
क्यान्सरका रोगी, मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बिरामी, मुटुसम्बन्धी नसर्ने गम्भीर प्रकृतिका रोगको उपचार आफैँमा निक्कै खर्चिलो हुन्छ । उपचारका लागि सुविधा सम्पन्न महङ्गा अस्पतालमा जानुपर्ने बाध्यताले कमजोर आर्थिक अवस्था भएका बिरामीले आर्थिक जोहो गर्न सक्ने अवस्था हुँदैन । तर बुटवल उपमहानगरपालिकाले गरेको आर्थिक सहुलियत र त्यसैमा संघीय सरकारले गरेको आर्थिक सहयोगले गरिव विपन्न नागरिककालागि पुनर्जीवनको आधार बनेको नगरबासी बताउँछन ।
गम्भिर प्रकृतिका रोकका बिरामी बढ्दै गएका कारण उपमहानगरपालिकाले थप बजेटको व्यवस्था गर्नुका साथै गम्भिर प्रकृतिका रोक लाग्नै नदिने उपायतर्फ सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने स्वास्थ्य क्षेत्रका विज्ञको सुझाव छ ।
जटिल रोगको अनुदान सहयोग कार्यक्रम सञ्चालन निर्देशिका, २०७८’ अनुसार नेपाल सरकारले ‘विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका (दोस्रो संसोधन) २०७३’ बमोजिम विभिन्न आठ प्रकारका रोगलाई एक लाख बराबरको सहुलियत प्रदान गर्दै आएको छ । उपमहानगरपालिकाका स्थानीयलाई विभिन्न आठ प्रकारका जटिल रोगको उपचारमा थप आर्थिक सहुलियत उपलब्ध गराई नेपालको संविधानको धारा ३५ बमोजिम स्वास्थ्य सम्बन्धी हक सुनिश्चित गर्न सहयोग पु¥याई उपचारमा सहयोग पुगेको छ ।
कडा रोग लागेका नागरिकमध्ये मिर्गौलाका बिरामीलाई मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्थामा संघीय सरकारले तोकिएका अस्पतालमा चार लाख ५० हजार उपलब्ध गराउँदै आएको छ । यस्तै लुम्बिनी प्रदेशका बिरामीका लागि प्रदेश सरकारले थप दुई लाख नगद उपलब्ध गराउँदै आएको छ । यसबाहेक क्यान्सर, मुटुसम्बन्धी कडा रोगको उपचारका लागि प्रदेश सरकारले तोकिएका अस्पतालमा दुई लाख सम्मको उपचार खर्चको व्यवस्था गराउँदै आएको छ ।
प्रतिक्रिया