३० असार २०८३, मंगलबार | July 14, 2026

बुटवलको आन्तरिक राजस्व : फराकिलो स्रोत, साँघुरो सोंच



बुटवल । बुटवल उपमहानगरपालिका, लुम्बिनी प्रदेशको एक प्रमुख शहरको रूपमा, आर्थिक र सामाजिक रूपान्तरणको महत्वपूर्ण केन्द्र बन्दै आएको छ । विस्तार हुँदै गएको शहर, बढ्दो जनसंख्या, शहरीकरणको तीव्र गति, र निजी तथा सार्वजनिक लगानीको वृद्धि यस नगरलाई आगामी वर्षमा आर्थिक रूपमा आत्मनिर्भर बनाउन सक्षम देखिन्छ । तर यसका लागि उपमहानगरको आन्तरिक राजस्व स्रोत सुदृढ गर्नु आवश्यक छ । स्थानीय सरकारको बलियो आर्थिक पृष्ठभूमि नै जनतामुखी सेवा प्रवाहको आधार हो ।

राजस्वको वृद्धि बिना स्थानीय सरकार जनताका आधारभूत सेवा-शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सरसफाइ तथा वातावरण संरक्षण-प्रदान गर्न असमर्थ हुन्छ । बुटवल उपमहानगरले पछिल्ला वर्षहरूमा केही प्रगति गरे पनि आन्तरिक राजस्व स्रोत अझै सीमित छन् । संघीय सरकारबाट आउने अनुदानमा भर पर्ने अभ्यास दीर्घकालीन रूपमा अस्थिर हुन्छ । त्यसैले अब बुटवलले आफ्नै स्रोत–साधन परिचालन गरेर आम्दानी बढाउने उपायहरूमा ध्यान दिनु समयको माग हो ।

राजश्व प्रशासन शाखाका अनुसार बुटवल उपमहानगरपालिकाले प्राकृतिक स्रोत बाहेक आर्थिक वर्ष २०८०/८१ मा रु ५२ करोड ९५ लाख ७१ हजार बराबरको राजश्व संकलन गरेको छ । जसमा सबैभन्दा बढी घरबहाल करबापत रु १६ करोड ३६ लाख १६ हजार बराबरको राजश्व संकलन भएको छ ।

त्यसबाहेक सम्पत्ति कर रु ६ करोड २४ लाख ५४ हजार र भूमिकर रु दुई करोड ८८ लाख ५६ हजार बराबर छ । “हामीले घरबहाल कर बढाएका छैनौ । नबढाउँदा पनि गतवर्षको तुलनामा केही राजश्व बढेको छ । यसले के देखाउँछ भने हामी अझै सबै घरमा पुग्न सकेका छैनौ । यदी सबै घरमा पुग्न सक्ने हो भने यो स्केल अझै बढ्छ”, उपमहानगरको राजश्व प्रशासन शाखा अधिकृत रोशन कुमार रेग्मी भन्छन् ।

विशेष योजना नै बनाएर राजश्व संकलमा लाग्ने हो भने यो राजश्व संकलनमा राम्रो प्रगति हासिल हुने उनको भनाइ छ । उपमहानगरमा विभिन्न क्षेत्रमा कर शुल्क तोकिएको छ । हाटबजार सेवा शुल्क र मनोरञ्जन कर समेत उपमहानगरले लिँदै आएको छ । तर उपमहानगरले तोकिए अनुसारको मनोरञ्जन कर असुली गर्न सकेको छैन ।

स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ६४ बमोजिम सिनेमा हल, भिडिओ हल, सांस्कृतिक प्रदर्शन हल, संगीत, थिएटर मनोरञ्जन प्रदर्शन स्थल, ऐतिहासिक स्थलको प्रवेश शूल्कमा कर लिनुपर्ने व्यवस्था छ ।

सोही अनुसार बुटवल मण्डपभित्र संचालन गरिने औद्योगिक मेला तथा प्रदर्शनी र उपमहानगर क्षेत्रभित्र रहने सिनेमा हल, सर्कस, खेल, तमासा, जादु, चटक लगायतमा टिकट मूल्यको ५ प्रतिशत सम्म लिने गरी मनोरञ्जन करको दर कायम गरेको छ । करको दर कायम भएपनि कर असुली गर्न भने समस्या छ ।

राजस्व वृद्धि गर्न सकिने प्रमुख उपायहरू

हाल बुटवल उपमहानगरमा सम्पत्ति कर संकलनको प्रक्रिया कमजोर र अव्यवस्थित छ । धेरै घरधनीले वास्तविक मूल्यभन्दा कम कर तिर्छन् । डिजिटल घर नक्सा प्रणाली विकास गरेर सम्पत्ति करको दायरा र पारदर्शिता बढाउन सकिन्छ । सम्पत्तिको वर्गीकरण स्पष्ट पारेर उच्च मूल्य भएका सम्पत्तिबाट बढी कर उठाउने नीति आवश्यक छ ।

बुटवलको बजार क्षेत्रमा सयौं साना व्यवसाय सञ्चालनमा छन् तर सबै दर्ता भएका छैनन् । नवीकरण नगरेका व्यवसायहरूबाट पनि उचित कर संकलन गर्न सकिन्छ । नयाँ व्यवसाय खोल्ने प्रक्रियालाई सरल र अनलाइनमै दर्ता र नवीकरण गर्न सकिने प्रणाली लागू गर्दा व्यवसायिक दायरा बढ्छ र राजस्वमा प्रत्यक्ष प्रभाव पर्छ ।

बुटवलमा प्रत्येक वर्ष सयौं नयाँ घर निर्माण हुन्छन् । तर धेरैजसोले नक्सा स्वीकृति नलिई वा शुल्क तिरेरै प्रक्रियामा जान्छन् । नक्सा स्वीकृति अनिवार्य बनाउँदै स्पष्ट मापदण्ड र पारदर्शी प्रक्रिया सुनिश्चित गर्दा यो क्षेत्रबाट उल्लेखनीय आम्दानी गर्न सकिन्छ ।

बुटवलमा अहिले दुईवटा केबलकार सञ्चालनमा छन् । मणिमुकुन्द सेन उद्यान, हिलपार्क, मिलनपार्क, पिस पार्क लगायतका क्षेत्रमा पर्यटकको आवागमन बढ्दो छ । पर्यटकमैत्री पूर्वाधार विकाससँगै सस्तो शुल्कमा पर्यटक पास, म्युजियम टिकट, गाइड सेवा आदिबाट पनि राजस्व आर्जन गर्न सकिन्छ । कर थोपर्ने होइन,फकाएर लिने हो । खुसी बनाएर कर लिन सक्दा ब्यवासायीहरुले छाती फराकिलो पारेर कर तिर्छन ।

कतिपय सवालमा नगरपालिकाले ब्यापारी वा ब्यवसायीहरुलाई खासगरी ब्यवसाय दर्ता करको नाममा मनपरी गरेको गुनासो आउने गरेको छ । ब्यवसाय दर्ता हुन आएका पुराना ब्यवसायीलाई दर्ता भएको मितिदेखिको ब्यवसायकर लिने नगरपालिकाको नीतिका कारण ब्यवसायीहरु तर्सिएको सुन्नमा आउँछ । मूलतः नगरपालिकाले ब्यवसाय दर्ता गर्ने होइन । दर्ता बापत धेरै पैसा असुल्ने हुँदै होइन । ब्यवसाय सूचीकरण गर्ने अधिकार पालिकासँग छ । सूचीकरणलाई पनि नवीकरण गरेर कर पैसा असुल्ने अधिकार कानुनले दिएको छैन । यो विषयमा नगरपालिकाले बुद्धिमतापूर्वक बैकल्पिक बाटोबाट कर उठाउन सक्छ । तर आज दर्ता हुन आएको ब्यवसायलाई कम्पनी वा वाणिज्यमा दर्ता भएको मितिदेखिको रकम असुलेर हतोत्साही गर्नु हुंदैन भन्छन् अर्थविज्ञहरु ।

बुटवल उपमहानगर राम्रो सम्भावना बोकेको शहर हो । पहिलो कुरा यहाँका नागरिकलाई सशक्तीकरण गरी जनताको हातमा पैसा आउने गरी उत्पादन र व्यवसायसँग जोड्न सक्नुपर्छ । युवाहरुलाई सिपमूलक तथा सिपविकास तालिम दिनुपर्छ । साथमा एक÷दुई वर्ष छुट सहित सिडमनि दिएर व्यवसायीलाई प्रेरित गर्ने रणनिति बनाउनुपर्छ भन्छन् आर्थिक विज्ञ वैकुण्ठ पाण्डे ।

“बुटवललाई सबै हिसाबले आकर्षक शहरका रुपमा विकास गर्नुपर्छ । पूर्वाधार, शिक्षा, स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ । यसो भयो भने विभिन्न जिल्लबाट बसाइ सरेर मानिसहरु यहा आउँछन् । जनसंख्या नबढी माग बढ्दैन, माग नबढी कर बढ्दैन, त्यसैले उपमहानगरले यो विषयमा सोच्नुपर्छ”, विज्ञ पाण्डे भन्छन् ।

व्यवसायीको व्यवसायिक सुरक्षा पनि सरकारको दायित्व हो । त्यसपछि मात्रै कर बढ्छ । करको दर भन्दा दायरा बढाउनुपर्ने पाण्डेको भनाइ छ ।

अर्को कुरा बुटवलमा नागरिकले कर बुझाए पनि त्यसको पारदर्शिता छैन । कार्यशैली पुरानो छ । उठाएको कर कहाँ परिचालन भयो त्यसको जानकारी नागरिकलाई गराउने नीति उपमहानगरले बनाउनुपर्छ, पाण्डे भन्छन् ।

सम्भावनाहरू

राजस्व संकलनको प्रक्रियामा पारदर्शिता र उत्तरदायित्व अभाव हुँदा कर तिर्नु पर्ने नागरिक उदासीन हुन्छन् । डिजिटल प्रणाली, मोबाइल एप्स, तथा कोडमार्फत कर तिर्ने सुविधा, र करको हिसाब सार्वजनिक गर्नाले विश्वास र संलग्नता दुवै बढ्छ ।

भौतिक संरचना निर्माण, बजार क्षेत्र विकास, शहरी यातायात सुधार, फोहोर व्यवस्थापन जस्ता क्षेत्रमा निजी क्षेत्रलाई संलग्न गराएर आम्दानी र सेवाको गुणस्तर दुवै सुधार गर्न सकिन्छ ।

कर तिर्ने संस्कार विकास गर्न उपमहानगरले विद्यालय स्तरबाट कर शिक्षा दिनसक्छ । साथै, कर तिर्ने नागरिकलाई ’ईमानदार करदाता सम्मान’ जस्ता कार्यक्रम सञ्चालन गर्नाले नागरिकको सहभागिता उत्साहित हुन्छ ।

स्थानीय सरकारलाई थप कर अधिकार दिने सम्बन्धमा संघीय नीति र कानुन अझै स्पष्ट छैन । बुटवल उपमहानगरले नीति निर्माताहरूसँग समन्वय गरी स्थानीय सरकारका अधिकार विस्तार गर्न जोड दिनुपर्छ ।

बुटवल उपमहानगरले आफ्ना आन्तरिक स्रोतहरू परिचालन गर्न सके मात्र दीगो विकासको सपना साकार हुन्छ । त्यहाँ प्रशस्त सम्भावना छन् शहरीकरण, उद्यमशीलता, पर्यटन, सार्वजनिक सम्पत्ति, प्रविधि-जसलाई नीति, योजना, र संस्थागत सुधारमार्फत उपयोग गर्न सकिन्छ । कर प्रणाली पारदर्शी, सरल र नागरिकमैत्री बनाउँदै उपमहानगर आफैं आत्मनिर्भर बन्ने यात्रामा अघि बढ्न सक्छ । यद्यपि, यसको लागि राजनीतिक इच्छाशक्ति, दक्ष जनशक्ति र दीर्घकालीन दृष्टिकोण आवश्यक छ भन्छन्, नेपाल चेम्बर अफ कमर्सका लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेल । “व्यवसायीलाई विस्थापन नभइ स्थापित गर्ने हिसाबले कर लिने परिपार्र्टी बसाल्नुपर्छ”, उनी थप्छन् । बुटवलमा स्वरोजमूलक व्यवसायलाई व्यस्थित गरेर सञ्चालन गर्न दिनुपर्ने, फूटपाथमा व्यपार गर्नेलाई स्थान र समय तोकर सञ्चालन गर्न दिने हो भने फुटफाथबाट समेत लाभ लिन सकिने अध्यक्ष पोखरेलको सुझाव छ ।

सरकारले नागरिलाई विभिन्न सेवा सुविधाहरू उपलब्ध गराए बापत प्रचलित संविधान, ऐन र कानुन बमोजिम नागरिकसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लिने, उठाउने कर रकम, शुल्क दस्तुरलाई राजस्व भनिन्छ ।

राजस्व भन्नाले प्रचलित कानुन बमोजिम सरकारलाई तिर्नु वा बुझाउनु पर्ने कर, शुल्क दस्तुर वा महसुल सम्झनु पर्छ र सो शब्दले प्रचलित कानुन बमोजिम लाग्ने अन्य कर तथा गैर कर राजस्वलाई समेत जनाउँछ । विकास र समृद्धिको लागि सार्वजनिक खर्चको बढ्दो आवश्यकता पुरा गर्न आन्तरिक स्रोतको अधिकतम उपयोग एवं परिचालन गरी सामाजिक, आर्थिक र भौतिक विकासमा यथेष्ट योगदान गर्न सक्ने गरी राजस्व परिचालन गर्नु पर्दछ ।

नेपालको संविधान, २०७२ को धारा ५६ को उपधारा (१) ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संरचना सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने व्यवस्था गरेको छ । त्यस्तै धारा ५७ को उपधारा (४) मा उल्लिखित विषयमा स्थानीय तहको एकल अधिकार हुने व्यवस्था समेत गरेको छ ।

नेपालको संविधानको धारा ५९ को उपधारा (१) मा सङ्घ, प्रदेश र स्थानीय तहले आफ्नो अधिकार भित्रको आर्थिक अधिकार सम्बन्धी विषयमा कानुन बनाउने, वार्षिक बजेट बनाउने, निर्णय गर्ने, नीति तथा योजना तयार गर्ने र त्यसको कार्यान्वयन गर्ने व्यवस्था रहेको छ । त्यस्तै धारा ६० मा राजस्व श्रोतको बाँडफाँडमा सङ्घ, प्रदेश र स्थानीय तहले आफ्नो आर्थिक अधिकार क्षेत्रभित्रको विषयमा कर लगाउन र ती स्रोतहरूबाट राजस्व उठाउन सक्ने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आइतबार  ८ : १३ बजे

४४ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । आज मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्मदेखि उच्च

सरकारी विज्ञापनमा निजी मिडियामाथिको प्रतिबन्ध सर्वोच्चद्वारा बदर, सरकारको ‘एकद्वार नीति’ खारेज

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमबाट मात्रै प्रकाशन

डेढ महिनापछि प्रधानमन्त्री बालेन्द्र संसदमा आए, २० मिनेटमै बाहिरिए

काठमाडौं। झण्डै डेढ महिनापछि प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा केहीबेरका

सञ्चारगृह अगाडि गाडी तेर्स्याएर त्रास फैलाउने प्रयास निन्दनीय : रास्वपा सचेतक परियार

काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक प्रकाशचन्द्र परियारले

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख बरामद

नेपालगन्ज । बाँकेको जमुनाहनाकामा सशस्त्र प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँ