१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

मुन्दुम पदमार्गलाई ‘तपोभूमि’का रूपमा विकास गरिँदै



भोजपुर । सङ्घीय सरकारको घुम्नै पर्ने एक सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्गलाई टेम्केमैयुङ गाउँपालिकाले योग, ध्यान र तपोभूमिका रूपमा विकास गर्ने लक्ष्यले लिएको छ । पूर्वीतर्फको एकमात्र सुन्दर र शान्त क्षेत्र रहेकाले यसलाई तपोभूमिका रूपमा विकास गर्ने गाउँपालिकाले लक्ष्य लिएको हो ।

प्राकृतिकको सुन्दर उपहारका रूपमा रहेको मुन्दुम पदमार्गलाई पर्यटकीयसँगै योग, ध्यान, अनुसन्धान तथा तपोभूमिको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको बताउँदै गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले पर्यटन प्रवर्द्धनका लागि योजनाबद्ध काम गरिने उल्लेख गरे । यो पदमार्गमा समथर ठूला घाँसे मैदान प्रशस्त रहेकाले यसलाई गल्फ क्षेत्रका रूपमा विकास गर्न सकिने सम्भावना रहेको उनको भनाइ छ ।

“यो पूर्वको एक सुन्दर पदमार्ग हो”, अध्यक्ष बस्नेतले भने, “यो क्षेत्र शान्त र रमणीय पनि छ । यसलाई हामीले तपोभूमिका रूपमा विकास गर्ने लक्ष्य लिएका छौँ । यहाँ यात्रा गर्दा आगन्तुकले ऊर्जाको अनुभूति गर्न गरिएको प्रतिक्रिया दिँदै आउनुभएको छ ।”

पदमार्गलाई टे«किङसँगै शान्त तपोभूमि क्षेत्रमा विकास गराउन सडकमार्ग निर्माणमा रोक लगाइएको अध्यक्ष बस्नेतले जानकारी दिए । यहाँको प्राकृतिक स्वरुपलाई यथावत राख्न पालिका सजक रहेको भन्दै उनले यहाँ योग, ध्यान, साधना गरेर हप्तौँ बिताउन सक्ने वातावरण रहेकाले यसलाई शान्ति क्षेत्रमा विकास गर्ने योजना बनाइएको बताए ।

पूर्वको एकमात्र सहज, सरल, शान्त र सुन्दर पदमार्ग भएकाले यो क्षेत्रमा पर्यटकीय गतिविधि विस्तारका योजना बनाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले बताए । छोटो समयमा यहाँ आउने पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेपछि पालिकाले पूर्वाधार विकास र विस्तारमा जोड दिएको उनको भनाइ छ ।

टेम्केमैयुङ गाउँपालिका प्राकृतिक रूपमा सुन्दर रहेकाले पर्यटन र कृषिको विकासमा प्राथमिकताका साथ काम थालिएको गाउँपालिकाका उपाध्यक्ष रमादेवी राईले बताइन । मुन्दुम पदमार्गमा आउने पर्यटकलाई लक्षित गरेर चखेवामा पर्यटन सूचना केन्द्र निर्माण गरिएको उनले जानकारी दिइन ।

उक्त सूचना केन्द्रबाट पर्यटकले पदमार्गको विशेषता, यसको भौगोलिक अवस्था, यात्राका क्रममा घुम्नुपर्ने स्थान, यात्रामा लाग्ने समय, आवासको व्यवस्थासँगै पर्यटकको सुरक्षित र सहज यात्राको विषयमा आवश्यक जानकारी प्रदान गरिने उपाध्यक्ष राईले बताइन ।

“यो पदमार्ग पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको गन्तव्य हो”, उपाध्यक्ष राईले भनिन, “हामी यो क्षेत्रको बृहत विकासमा जुटेका छौँ । पदमार्गलाई मानिसको साधना स्थलका रूपमा विकास गर्ने योजना छ । गाउँपालिकाले कृषि र पर्यटनलाई मुख्य आधार बनाएर काम गरिरहेको छ ।”

पदमार्गबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजङ्घा, कुम्भकर्णलगायत दुई दर्जनभन्दा बढी हिमशृङ्खला एकैसाथ हेर्न सकिने पर्यटन व्यवसायी विवेक कुलुङले जानकारी दिए ।

यहाँको हावापानी हिमालमा जस्तो ठण्डा र तराईजस्तो गर्मी नहुने सन्तुलित क्षेत्र भएकाले पर्यटकको रोजाइमा पर्ने गरेको टेम्कमैयुङ-३ का वडाध्यक्ष पूर्णप्रसाद राईले बताए । बर्सेनि यो पदमार्गको भ्रमण गर्नेको सङ्ख्या बढ्दै गएको उनको भनाइ छ ।

पदमार्ग हुँदै भोजपुरको चार हजार १५३ मिटर उचाइमा रहेका सबैभन्दा अग्लो धार्मिक तथा पर्यटकीय क्षेत्र सिलिचुङ चुचुरोसम्म पुग्न सकिन्छ । पदमार्गको आसपासमा निर्माण भएका किराँतको संस्कार, संस्कृति झल्काउने विभिन्न संरचना, ठूलाठूला घाँसे मैदान, स्थानीयले पालेका चौँरी, भेँडीगोठलगायतले यात्रा गर्ने पर्यटकलाई आनन्दित पार्ने गर्दछ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, बुधबार  १ : १० बजे

दीपक भट्टका कम्पनीका संस्थापक सेयरधनीको विवरण माग्दै सम्पत्ति शुद्धीकरण विभाग

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट संलग्न

‘असंवैधानिक र असंवेदनशील’ ढंगले सुकुम्बासी बस्ती हटाउने कार्यप्रति विपक्षी दलहरूको कडा आपत्ति

काठमाडौं। विपक्षी दलहरूले सुकुम्बासी तथा अव्यवस्थित बस्ती हटाउने सरकारको कार्यलाई

विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

झापा । कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा

त्रिवि पदाधिकारीले दिए सामूहिक राजीनामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उच्च पदाधिकारीहरूले सामूहिक रूपमा राजीनामा दिएका

सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले सङ्क्रमणकालीन न्यायसम्बन्धी उजुरीको अनुसन्धान गरी छिटो