४ चैत्र २०८२, बुधबार | March 19, 2026

रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण



सुर्खेत । सुर्खेतको भेरीगङ्गा नगरपालिका रामघाटका किसान पछिल्लो समय व्यावसायिक लिची उत्पादनतर्फ आकर्षित भएका छन् । परम्परागत रूपमा मकै खेती गर्दै आएका यहाँका किसानले लिची र आँपका बोट लगाउन थालेका छन् ।

यस क्षेत्रमा लिची र आँपलाई प्रमुख नगदे फलफूलका रूपमा लिइन्छ । पछिल्लो केही वर्षयता कृषकले मकैखेतीको तुलनामा फलफूलखेती बढी लाभदायक देखेपछि बारीका डिल, छेउछाउ तथा घर आँगनमै लिची र आँपका बिरुवा रोप्न थालेका छन् ।

गाउँभर अहिले लिची टिप्न किसानलाई भ्याइनभ्याइ छ । किसानहरु हरेक दिन भर्‍याङ ठड्याएर लिचीका दान चिप्ने चटारोमा देखिन्छन् । रामघाट-११ की रूपा धौलाकोटीले लिची उत्पादनबाट वार्षिक लाखौँको आम्दानी गर्दै आइरहेको बताइन् । ४६ वर्षीया धौलाकोटीले करिब चार बिघा क्षेत्रफलमा ३० वटा लिचीका बोट र १५० वटा आँपका बोट रोपेकी छिन् । २५ वर्षअघि रोपेका लिची र आँप उनको आम्दानीको स्रोत हुन् ।

उनका अनुसार बोटमै प्रतिकिलो एक सयदेखि एक सय ५० रुपैयाँसम्ममा लिची बिक्री हुने गरेको छ । ग्राहक स्वयं किसानको घरमै आइपुग्ने भएकाले बजार खोज्न जानु नपर्ने उनको भनाइ छ ।

उनले भनिन्, ‘बाहिरबाट ल्याइने फलफूलमा विषादीको मात्रा बढी पाइने भएकाले पनि ग्राहकहरू बगैँचामै आउने गर्नुभएको छ, यसले बजार खोज्न जान परेको छैन र मूल्य पनि पाएका छौँ ।’

रूपा जस्तै रामघाट-११ का किसान टेकबहादुर धमला अचेल लिची टिप्नमा व्यस्त छन् । पाँच रोपनी जमिनमा लिची खेती गर्दै आएका धमलाले यस वर्ष पनि लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएको बताए ।

धमलाका अनुसार लिची खेतीले राम्रो आम्दानी दिने देखिएको छ । उनले भने, ‘पानी, मल र समयमै हेरचाह गर्न सके राम्रो फलेर बजारमा राम्रै मूल्य पाइन्छ । अहिले त लिचीको माग पनि बढ्दो छ ।’

हाल रामघाटका किसानहरू आफ्नै क्षेत्रका बजार, वीरेन्द्रनगर, नेपालगञ्ज र दाङमा लिची बिक्री गर्दै आइरहेका छन् । भेरीगङ्गा नगरपालिका कृषि विकास शाखाका प्रमुख सुरज बिसीका अनुसार रामघाटको वडा नम्बर ११ र १३ लिची र आँप उत्पादनका मुख्य केन्द्र हुन् । उनले भने, ‘रामघाटको वडा नम्बर १२, ७ र ८ मा लिची उत्पादनका लागि वातावरणीय अवस्था उपयुक्त छ । यहाँको हावापानी र जमिनको बनावट फलफूल खेतीका लागि अनुकूल छ ।’

रामघाट क्षेत्रमा हाल फलफूलका विभिन्न जात व्यावसायिक रूपमा लगाइएका छन् । आँप २९.९ हेक्टर, सुन्तला ३.१ हेक्टर, केरा १६ हेक्टर, कागती ७.८ हेक्टर र लिची १३.५ हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ । रामघाट क्षेत्रको झण्डै ८० प्रतिशत भूभाग वडा नम्बर ११ र १३ ले ओगटेको छ ।

कृषि विकास शाखाका प्रमुख बिसीका अनुसार भेरीगङ्गा नगरपालिकाले किसानहरूलाई फलफूल खेतीतर्फ आकर्षित गर्न अनुदान कार्यक्रम सञ्चालन गरिरहेको छ । उनका अनुसार कृषक, कृषक समूह, कृषि सहकारी तथा कृषि फर्महरूलाई ५० प्रतिशत अनुदानमा आँप, लिची र कागतीका बोटबिरुवा वितरण गरिने कार्यक्रम यस वर्ष पनि सञ्चालनमा छ । रासस

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ७ : ५२ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन