११ चैत्र २०८२, बुधबार | March 25, 2026

एमाले सचिवालय बैठक : विधान महाधिवेशनमा तीन प्रस्ताव पेस गरिने



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको दोस्रो विधान महाधिवेशनमा तीनवटा प्रस्ताव पेस गर्ने निर्णय गरेको छ ।

ललितपुर च्यासलस्थित एमाले मुख्यालयमा आज बसेको ५३ औँ सचिवालय बैठकले विधान महाधिवेशनमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रस्ताव पेस गर्ने निर्णय गरेको बैठकपछि पत्रकार सम्मेलनमा पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । विधान महाधिवेशनको तयारीका काम गर्न पार्टी केन्द्रीय कार्यालयलाई जिम्मेवारी दिइएको छ । विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आगामी भदौ २० देखि २२ गतेसम्म गर्ने तय भइसकेको छ ।

बैठकले विधान महाधिवेशनको तयारी गर्नका लागि आगामी साउन ५ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिए । यसैगरी, केन्द्रीय कमिटी बैठकअघि साउन २ गते पार्टीको पोलिटब्यूरो बैठक बस्ने निर्णय भएको छ । उपमहासचिव ज्ञवालीका अनुसार आगामी साउन ५ गते बस्ने केन्द्रीय कमिटीको बैठकले विधान संशोधनसम्बन्धी प्रस्ताव तयार गरी छलफलका लागि तल्लो तहको कमिटीमा पठाउने निर्णय भएको छ ।

यस्तै बैठकले पार्टीका स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सेनाको निलम्बन फुकुवा गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिए । गत पुस १० गते बसेको सचिवालय बैठकले उनीहरुलाई ६ महिनाका लागि पार्टी जिम्मेवारीबाट निलम्बन गरेको थियो ।

सरकारको एक वर्ष सफल र प्रभावकारी

एमाले सचिवालय बैठकले वर्तमान सरकारको एक वर्षको कार्यकाल सफल र प्रभावकारी रहेको निष्कर्ष निकालेको उपमहासचिव ज्ञवालीले जानकारी दिए । यसैगरी, देशले सही दिशा लिएको र सरकारमा एमालेको नेतृत्व प्रभावकारी रहेको बैठकको निष्कर्ष छ ।

बैठकले सुशासन र सेवा प्रभावमा अझ ध्यान दिन सरकारको ध्यानाकर्षण गरेको छ । देशमा राजनीतिक स्थायित्वको आधार बलियो भएको, दुई पार्टीबीचको समझदारी नीतिगत र अरू निर्णयमा पनि बलियो बन्दै गएको निष्कर्ष निकालेको उपमहासचिव ज्ञवालीले जानकारी दिए । आज सम्पन्न सचिवालय बैठकले मुलुकको अर्थतन्त्रले विस्तारै लय समात्न थालेको निष्कर्ष निकालेकोे उनले बताए ।

उपमहासचिव ज्ञवालीले गत वर्ष अरूले नै बनाएको बजेट र नीति तथा कार्यक्रममा काम गर्नुपरेकाले अपेक्षा गरेजस्तो परिमाण आउन सक्दैनथ्यो भन्ने लागे पनि अनेकौँ बेथितिलाई सल्टाउँदै मुलुकलाई सही दिशातर्फ अघि बढाउन एमाले नेतृत्वको सरकार सफल भएको बताए । आमजनताको सजकता, राजनीतिक दलको सक्रियता र सरकारको प्रभावकारिताका कारण प्रतिगामी प्रयास निस्तेज भएको बैठकले निष्कर्ष निकालेको छ । यसैगरी, बैठकले पार्टीमा अझ बढी भावनात्मक एकता सुदृढ गर्दै जाने निर्णय गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिए ।

बैठकद्वारा विभिन्न पाँच प्रस्ताव पारित

बैठकले वर्तमान सन्दर्भमा विभिन्न पाँच महत्वपूर्ण प्रस्ताव पारित गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिए । बैठकले इरान र इजरायलबीच जारी दुई साता लामो युद्धले समग्र खाडी क्षेत्रकै शान्ति र स्थायित्वमा गम्भीर चुनौती खडा गरेको भन्दै युद्धमा संलग्न दुवै पक्षलाई युद्धविरामको इमानदारीपूर्वक पालना गर्न, तनाव बढाउने कुनै पनि काम नगर्न, स्थायी रूपमा युद्ध अन्त्य गर्न सम्बद्ध पक्षहरूको ध्यानाकषर्ण गरिएको उनले बताए ।

द्वन्द्वलाई नचर्काउन, द्वन्द्वमा सहभागी नहुन र विश्व शान्तिका लागि सार्थक योगदान गर्न बैठकले शक्ति राष्ट्रहरूको ध्यानाकर्षण गरेको छ । यसैगरी, ‘भिजिट भिसा’को दुरुपयोग भएको र यस सम्बन्धमा विभिन्न बेथिति एवं अनियमितता देखापरेको भनेर संसद्भित्र र बाहिर उठेका प्रश्नका विषयमा अध्ययन र छानबिन गर्न ‘उच्चस्तरीय अध्ययन एवं छानबिन समिति’ बनाउनु सकारात्मक कदम भएको निष्कर्ष निकाल्दै बैठकले यसमा संलग्न सबैलाई धन्यवाद दिएको छ ।

यसैगरी, दैलेखमा भइरहेको पेट्रोलियम पदार्थको अध्ययन र उत्खनन कार्यबाट त्यहाँ ११२ अर्ब मेट्रिक टन मिथेन ग्यास रहेको भन्ने प्रारम्भिक प्रतिवेदनले देशमा उत्साह र आशाको सञ्चार उत्पन्न गराएको बैठकले ठहर गरेको छ । पेट्रोलियम पदार्थको अध्ययन र उत्खनन कार्यले देशलाई ऊर्जाको क्षेत्रमा आत्मनिर्भर बनाउन र समृद्धितर्फ अगाडि बढाउन यो परियोजना ठूलो संवाहक बन्न सक्छ भन्ने पार्टीको ठहर रहेको उपमहासचिव ज्ञवालीले बताए ।

यसैगरी, बैठकले पारित गरेको प्रस्तावमा यस वर्ष औसतभन्दा बढी वर्षा हुने मौसम पूर्वानुमानसमेतलाई ध्यानमा राख्दै राष्ट्रिय राजमार्गहरूलाई निर्वाध सञ्चालन हुने व्यवस्था मिलाउन बैठकले नेपाल सरकारको ध्यानाकर्षण गराएको उनले जानकारी दिए । उपमहासचिव ज्ञवालीका अनुसार सिङ्गो पार्टीपङ्क्तिलाई विपद् व्यवस्थापनका काममा तयारी अवस्थामा रहन र विपद्को बेलामा आ-आफ्नो ठाउँबाट परिचालित हुन सचिवालय बैठकले आह्वान गरेको पार्टीका उपमहासचिव ज्ञवालीले जानकारी दिए ।

प्रकाशित मिति : १२ असार २०८२, बिहिबार  ८ : ३८ बजे

प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाहको शपथ शुक्रबार १२ः३४ बजे, पदबहाली २ः१५ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह

फागुन २१ गतेको निर्वाचन मानक : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा कार्यभार सुरु

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सिंहदरबारस्थित सङ्घीय संसद्

इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम

सुनसान सिंहदरबार

काठमाडौं । देशमा नयाँ आर्थिक वर्षको बजेट निर्माणको चटारो लगभग