बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ३ जानकीनगरका करुणा सापकोटा, बुटवल बहुमुखी क्याम्पसमा विज्ञान संकाय तेस्रो वर्षमा अध्ययनरत छिन् । क्याम्पस भर्ना किताब कापी र कलमदेखि प्रयोगात्मक प्रयोगशाला सामग्रीमा हुने खर्च त छदै छ, त्यो बाहेक दैनिक क्याम्पस आउ जाउ गर्न लाग्ने यातायातका साधनको भाडा र खाजा खर्च विद्यार्थीको लागि अझ ठुलो आर्थिक भार हो । तर करुणालाई यि सबै आर्थिक भारको कुनै समस्या व्यहोर्नु पर्दैन, जसको कारण हो लुम्बिनी प्रदेश सरकारको छात्रावृत्ति कार्यक्रम ।
करुणाले पहिलो वर्ष ९ हजार ९९० रुपैयाँ, दोस्रो वर्षमा ७ हजार ७९० र तेस्रो वर्षमा ७ हजार ६७२ रुपैयाँ ६३ पैसा गरेर जम्मा २५ हजार ३६२ रुपैयाँ ६३ पैसा छात्रवृत्ति प्राप्त गरेकी छिन् । पढाईमा अब्बल र मेहनती करुणा खुसी हुदैँ भन्छिन्, ‘विज्ञान जस्तो विषय पढ्दै जागिर गर्न सम्भव नै हुदैन । घरमा पनि दैनिक कती पैसा माग्ने ? लुम्बिनी प्रदेश सरकारको छात्रवृत्तिले शैक्षिक सामाग्रीसँगै यातायात र क्याम्पसमा लाग्ने रकम र दैनिक खाजा खर्चमा धेरै सहयोग पुगेको छ ।’ उनी थप्दै भन्छिन्, ‘देख्दा यो सानो रकम देखिएपनि म लगायत जस्ता मध्यमवर्गका परिवारका छोरीका लागि निकै ठुलो सहयोग हो ।’
माध्यामिक शिक्षा कालिका मानव ज्ञान माध्यामिक विद्यालय बुटवलबाट उत्तीर्ण गरेकी करुणाले विज्ञान विषय अध्ययनरत छात्राका लागि लुम्बिनी प्रदेश सरकारले दिदैँ आएको छात्रवृत्ति पाएकी थिईन् । जसले उनको माध्यामिक तहमा विज्ञान संकाय पढाईमा निकै ठुलो राहत मिलेको थियोे । आफ्नो एसईई पछिको शिक्षामा लुम्बिनी प्रदेश सरकारले आर्थिक सहयोगको रुपमा आफुलाई साथ दिएकोमा लुम्बिनी प्रदेश सरकार प्रति धन्यवाद दिदै उनी थप्छिन्, ‘अब छोरी आर्थिक अभावकै कारण उच्च शिक्षामा विज्ञान विषय पढ्नबाट रोकिने दिनदिन साँच्चिकै गए ।’
कपिलवस्तुको कपिलवस्तु नगरपालिका-९ हर्नपुरका अमिसा थारु बुटवलमा कोठा भाडामा आफ्ना भाईसँग बस्छिन् । बुटवल बहुमुखी क्याम्पसमा विज्ञान संकाय स्नातक चौँथो वर्षमा अध्ययनरत अमिसाले आर्थिक वर्ष ०८०/८१ म लुम्बिनी प्रदेश सरकारको छात्रवृत्ति मार्फत ७ हजार ७९० पाईन । जसले गर्दा उनले अध्ययनमा धेरै राहात मिलेको छ । उनी भन्छिन्, ‘पहिलो, दोस्रो र तेस्रो वर्षमा छात्रावृति फाराम नभरेर पछुतो लागेको छ । अहिले यो छात्रावृत्तिले मलाई किताब, कापी, कलमसँगै प्रयोगात्मक सागम्री किन्न र क्याम्पस आउत जावत गर्न गाडी भाडामा धेरै सहज भएको छ । सानो तिनो खर्च भइरहन्छ, घरबाट पनि कति पैसा मगाउने यो प्रदेश सरकारको आर्थिक सहयोगले मेरो अध्ययनमा धेरै सहज भएको छ ।’
यस अघि विज्ञान विषयमा उच्च शिक्षा अध्ययन गर्ने छोराको संख्या धेरै भएपनि पछिल्लो समय भने छोरीको संख्या पनि बढ्न थालेको छ । रहर भए पनि बाध्यताले पढ्न नपाउने छोरीलाई लुम्बिनी प्रदेश सरकारले छात्रवृत्ति दिएपछि झन विज्ञान संकाय पढने छोरीको संख्या बढ्न थालेको छ । तर, त्यसका लागि विज्ञान संकाय अध्ययन गर्ने छोरीले सम्बन्धित क्याम्पसमा नै प्रदेश सरकारको छात्रवृत्तिका लागि फाराम भर्नुपर्छ ।
३ आर्थिक वर्षमा मात्रै ३ हजार २५१ जना छात्रा लाभान्वित
लुम्बिनी प्रदेश सरकारले आर्थिक बर्ष ०७७/७८ देखि सामुदायिक र आङ्गिक क्याम्पसमा विज्ञान विषयमा उच्च शिक्षा अध्ययनरत छात्राका लागि छात्रावृत्ति प्रदान गर्न शुरु गरेको हो । त्यसपछिदेखि छोरी विज्ञान पढ्न अघि सरेका हुन् । यसले छोरीको आर्थिक सहायता र हौसला दिएको छ । लुम्बिनीका ६ वटा क्याम्पसमा यो कार्यक्रम लागू भएको लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार दाङको महेन्द्र बहुमुखी क्याम्पस र पद्योदय क्याम्पस घोराही, बाँकेको महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज, पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पस तानसेन, रुपन्देहीको बुटवल बहुमुखी क्याम्पस बुटवल र भैरहवा बहुमुखी क्याम्पस भैरहवा रहेका छन् ।
लुम्बिनी प्रदेश सरकारले हरेक वर्ष ९० लाखका दरले पछिल्लो ३ आर्थिक वर्षमा यस कार्यक्रमका लागि मात्रै २ करोड ७० लाख बजेट विनियोजन गरेको थियो । जसमध्ये आर्थिक वर्ष ०७९/८० मा ९०९ जना छात्रालाई ८९ लाख ९९ हजार १०० रुपैयाँ खर्च गरेको लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तरगत शिक्षा तथा सामाजिक विकास निर्देशनालयका सुचना अधिकारी समेत रहेका वरिष्ठ तथ्याङ्क अधिकृत डोर बहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष ०८०/८१ मा १ हजार १६९ जना छात्रालाई ८९ लाख ८९ हजार ६१० रुपैयाँ खर्च गरेको छ ।

निर्देशनालयका अनुसार आर्थिक वर्ष ८१/८२ मा दाङको महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा ३०६ जना, दाङ कै पद्योदय क्याम्पस घोराहीमा ९५ जना, बाँकेको महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा १२१ जना, पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा ८४ जना, रुपन्देहीको बुटवल बहुमुखी क्याम्पसमा ४९८ जना, रुपन्देहीकै भैरहवा बहुमुखी क्याम्पस भैरहवामा ६९ जना गरेर १ हजार १७३ जना छात्रालाई ८९ लाख ९९ हजार ९९५ खर्च भएको छ । यसरी पछिल्लो ३ वर्षको तथ्यांकलाई हेर्दा प्रदेश सरकारको छात्रवृत्ति लिने छात्राको संख्या वर्षेनी बढ्दै गएको र कार्यक्रम प्रभावकारी भएको बस्नेत को दाबी छ ।
बुटवल बहुमुखी क्याम्पसमा मात्रै करिव १५ सय छात्रा लाभान्वित
रुपन्देहीको बुटवल बहुमुखी क्याम्पसमा स्नातक तह विज्ञान सङ्काय अध्ययनरत छात्राले आर्थिक वर्ष ०७९/८० मा क्याम्पसमा आएको ४० लाख ४९ हजार १०० रुपैयाँ मध्ये प्रति छात्रा ९ हजार ९९० रुपैयाँका दरले ४०९ जनालाई उपलब्ध गराइएको बुटवल बहुमुखी क्याम्पसले जनाएको छ । त्यस्तै आर्थिक वर्ष ०८०/८१ मा ३९ लाख ९८ हजार ८०० रुपैयाँ मध्ये प्रति छात्रा ७ हजार ७९० रुपैयाँका दरले ५२० जनालाई उपलब्ध गराएको थियो भने आर्थिक वर्ष ०८१/८२ मा ३८ लाख २० हजार ९६९ रुपैयाँ ७४ पैसा मध्ये प्रति छात्रा ७ हजार ६७२ रुपैयाँ ६३ पैसा उपलब्ध गराइएको छ । ३ आर्थिक वर्षमा मात्रै बुटवल बहुमुखी क्याम्पसमा १ हजार ४२७ छात्रा यस कार्यक्रमबाट लाभान्वित भएका छन् ।
नियमित उर्तिण हुने छात्रालाई मात्रै छात्रवृति दिन सके राम्रो हुने क्याम्पसको सुझाव
बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अरुण कुमार क्षेत्रीले विज्ञान संकाय पढ्न चाहने छात्राका लागि यस कार्यक्रमले थोरै भएपनि राहत मिलेको बताए । पाठ्यक्रम पूरा गर्नेका लागि प्रदेश सरकारले सहयोग गरेको रकम भन्दा धेरै खर्च लाग्ने भएकाले आगामी दिनमा बजेट बढाउनुपर्ने उनको भनाई छ । उनले भने, ‘केही राहत त भएको छ, प्रदेश सरकारले लगानी गर्ने रकम क्याम्पसमा भर्ना भएजति सबै छात्रा पाउने गरेका छन । मेहेनती, उत्कृष्ट अङ्ग ल्याउने र नियमित उर्तिण हुने विद्यार्थीलाई उचित रकम प्रदान गर्न सके राम्रो हुने थियो ।’

क्याम्पस प्रमुख क्षेत्रीले थप्दै भने, ‘प्रदेश सरकारले शिक्षामा लगानी गर्ने मात्रै खोजे जस्तो देखिन्छ । यस्ता टुक्रे कार्यक्रमले शिक्षामा गुणस्तरीयता आउँछ भन्ने विस्वास गर्न सकिदैन शिक्षामा नितिगत व्यवस्था, शैक्षिक बहस, लगानी आजका आवश्यकता हुन । तर यी विषयमा राज्यको ध्यान गएको छैन ।’


















प्रतिक्रिया