१९ माघ २०८२, सोमबार | February 2, 2026

नारायणगढ–बुटवल सडकः तेस्रो पटकको म्याद सकिन लाग्दा प्रगति ६९ प्रतिशतमात्र



नवलपरासी । नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६९ प्रतिशत पुगेको छ । तेस्रो पटक थपिएको म्याद सकिनै लाग्दा निर्माणको भौतिक प्रगति ६९ प्रतिशत पुगेको नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले बताए ।

नारायणगढ–बुटवल सडक विस्तारको काम २०७५ माघ २४ गते सम्झौता भएर २०७९ साउन २२ गते सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले काम सुरु गरेको थियो । निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउन ८ गतेसम्मका लागि दोस्रो पटक म्याद थप भएको थियो । यस अवधिमा समेत काम सम्पन्न नभएपछि गत साउनमा २०८२ साउन ८ गतेसम्मका लागि तेस्रो पटक म्याद थप गरिएको थियो । यस अवधिको अन्त्यमा आइपुग्दा ६९ प्रतिशत काम सकिएको हो ।

सूचना अधिकारी खनालका अनुसार चौथो पटक म्याद थपको प्रक्रिया अघि बढाइएको छ । नारायणगढ–बुटवल सडकको कूल ११३ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो । निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले ५७६ दिन थप म्याद थपका लागि माग गरेको छ । एक वर्षका लागिमात्र म्याद थप गर्ने तयारी गरिएको सूचना अधिकारी खनालले बताए ।

चौथो पटक म्याद थप्ने तयारी हुँदै गर्दा नारायणगढदेखि दुम्किबाससम्मको खण्डमा एकतर्फी रुपमा ५५ किलोमिटर कालोपत्र सडकमा यात्रा गर्न सकिने उनले बताए । यस खण्डको चोरमारा बजार, अरुणखोला र दुम्कीबास बजारको केही भागमात्र कालोपत्र गर्न बाँकी रहेको सूचना अधिकारी खनालले बताए ।

डाइभर्सनको दुःख हट्ने

नारायगण–बुटवल सडकखण्डअन्तर्गत दुम्कीबासको विनयी खोलामा रहेको पुल भाँचिएपछि डाइभर्सनबाट यातायात सञ्चालन गरिँदै आएको छ । गत पुसमा पुल भाँचिएपछि डाइभर्सनबाट यातायात वारपार गराइँदै आइएको छ । पटक पटक वर्षासँगै आएको बाढीका कारण डाइभर्सन बगाउँदा चालक तथा यात्रुले सास्ती खेप्दै आएका छन् ।

आयोजनाले भाँचिएको पुल छेउमा नयाँ पुल निर्माण गरेको छ । उक्त पुल अब दुई तीन दिनमा सञ्चालन गरिने सूचना अधिकारी खनालले बताए । पुलमा मौसमले साथ दिएमा बुधबार कालोपत्र गरिने र ढिलोमा आउँदो शनिबार सञ्चालन गर्ने योजना रहेको उनले बताए । नयाँ पुल सञ्चालनमा आएमा डाइभर्सनका कारण सास्ती खेप्दै आएका चालक तथा यात्रुलाई सहजता मिल्ने छ ।

नवलपुर खण्डमा लामो पुल अन्तर्गत पर्ने अरुणखोला र गिरुवारी खोलामा भने बर्खापछि पुल निर्माणको काम गरिने छ । सामान्य गर्न मिल्ने केही काम नियमित भए पनि बर्खाअघि यी पुल निर्माण सम्पन्न नहुने सूचना अधिकारी खनालले बताए ।

दाउन्नेमा यातायात सहज बनाउन मर्मत गरिने

नारायगण–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने खण्डमा यातायात सहज बनाउन अबको काम केन्द्रित रहने आयोजनाका सूचना अधिकारी खनालले बताए । पानी पर्ने बित्तिकै दाउन्ने खण्डमा यातायात सञ्चालनमा समस्या हुँदै आएको छ ।

दाउन्ने खण्डमा अब निर्माणको काम रोकेर मर्मतको काम मात्र गरिने सूचना अधिकारी खनालले बताए । कल्भट निर्माणसहित अन्य काम रोकेर यातायात सहज रुपमा सञ्चालनका लागि मर्मतको काममात्र गर्न लागिएको उनको भनाइ छ । दाउन्ने खण्डमा ग्राभेल राखेर नियमित मर्मतको काम गर्ने र पानी परे पनि यातायात सञ्चालन समस्या आउन नदिनतर्फ आफूहरुको ध्यान केन्द्रित रहेको उनले बताए ।

एसियाली विकास बैंक ९एडिबी० को ऋण सहयोगमा अघि बढेको सडक विस्तार योजनाको दुवै खण्ड गरेर कूल रु १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार लागत रहेको छ । एक सय १३ किलोमिटर सडकमध्ये ७० किलोमिटर चार लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ छ÷छ मिटरको सर्भिस लेन हुनेछ । दाउन्नेमा १४ किलोमिटर तीन लेनको सडक हुनेछ ।

राजमार्ग विस्तारको महत्वपूर्ण योजना समयमा सम्पन्न नहुँदा यात्रुले लामो समयसम्म सास्ती खेप्दै आएका छन् । अहिले कामले गति लिएको र यात्रामा केही सहजता मिल्न थालेको छ । अझै पनि दाउन्ने खण्डमा समस्या उस्तै रहेको छ । उक्त क्षेत्रमा सामान्य वर्षा हुँदासमेत बाटो चिप्लो भएर घण्टौं जाममा पर्नुपर्ने बाध्यता रहेको छ ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  १२ : ५८ बजे

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली

नेपालमा बोलिने सबै भाषा हाम्रा सम्पत्ति हुन्, कुनैलाई पनि मर्न दिनुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा बोलिने भाषाहरू हाम्रा सम्पत्ति

नेकपाको निर्वाचन परिचालन सचिवालय बैठक सम्पन्न, माघ २२ मा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को निर्वाचन परिचालन समितिको