२५ कार्तिक २०८३, बुधबार | November 12, 2026

बाहुनडाँगीमा हात्तीको उपद्रो रोक्न कागती खेती



झापा । डिभिजन वन कार्यालयले हात्ती प्रभावित मेचीनगर-४ बाहुनडाँगीका बासिन्दालाई कागतीका चार हजार बिरुवा निःशुल्क वितरण गरेको छ । हात्ती प्रभावित क्षेत्रमा बाली परिवर्तन गराएर क्षति न्यूनीकरण गर्ने उद्देश्यले स्थानीयवासीलाई कागतीका बिरुवा वितरण गरिएको कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले बताए ।

“जङ्गली हात्तीले बाली खाएर सखाप पारेको गुनासो धेरै आयो”, उनले भने, “कागतीबाट आम्दानी पनि राम्रो हुने र हात्तीले नखाने हुँदा हामीले सो क्षेत्रका बासिन्दाको बाली परिवर्तनका लागि कागतीका बिरुवा उपलब्ध गराएका हौँ ।”

मेचीनगर नगरपालिका–४ का बासिन्दाका लागि वन कार्यालयबाट प्राप्त कागतीका बिरुवा वडा कार्यालयमार्फत तीन सय परिवारलाई वितरण गरिएको वडाध्यक्ष अर्जुन कार्कीले बताए । हात्तीले सुपारीका बोट भाँचेर ठूलो क्षति पुर्याउन थालेकाले हाल सुपारी बगानभित्र रोप्नका लागि कागतीका बिरुवा बाँडिएको उनको भनाइ छ ।

उनका अनुसार कागतीको बोट काँडेदार र फल अमिलो हुने भएकाले हात्तीका लागि अरुचिकर हुन्छ । कागती हुर्किएपछि किसानले फल बिक्री गरेर आम्दानी पाउने र हात्ती नियन्त्रण हुने भएकाले बाहुनडाँगीका बासिन्दा कागती रोप्ने अभियानमा लागेका छन् ।

बाहुनडाँगीमा अचेल दिनहुँ हल बाँधेर भारतबाट जङ्गली हात्ती आउने गरेका छन् । हात्तीले सुपारीको फल र पात खाँदैन । तैपनि भाँचेर नष्ट गर्दै आएको किसान गुनासो गर्छन् । वडा कार्यालयले प्रतिपरिवार दुईदेखि २५ वटासम्म कागतीको विरुवा स्थानीयवासीलाई वितरण गरेको छ । “कागती लगाएपछि सुपारी पनि बच्ने भयो, थप आम्दानी पनि हुने भयो”, वडाध्यक्ष कार्की भन्छन, “कागती लगाएको ठाउँमा हात्ती पस्दैन ।”

भारतबाट जङ्गली हात्ती प्रवेश गर्ने पहिलो नाकाका रूपमा बाहुनडाँगी परिचित छ । यहाँ दशकौँदेखि हात्तीसँगको द्वन्द्वका कारण ठूलो जनधनको क्षति हुँदै आएको छ । हात्ती नियन्त्रण र बाली जोगाउनका लागि १० वर्षदेखि सीमावर्ती र जङ्गल छेउमा विद्युतीय घेराबेरा लगाउने कार्य गरिँदै आएको छ । यसका साथै हात्तीले नखाने बालीका रूपमा तोरी र चियाखेती पनि व्यापक मात्रामा हुँदै आएको छ । मौरीसँग हात्ती डराउने भएकाले कतिपय स्थानीयवासीले सुरक्षाका लागि मौरीपालन पनि गर्दै आएका छन् ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ८ : ०६ बजे

बन्दीपुर घुम्न आएका १४ चिनियाँ पर्यटकले लगाए भाइटीका

दमौली । पर्यटकीय नगरी बन्दीपुर भ्रमणमा आएका १४ चिनियाँ पर्यटकले

भाइटीकामा दुई हजार ५०० यात्रुलाई सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ । सशस्त्र प्रहरीले तिहारको भाइटीकाको दिन काठमाडौँ उपत्यका र

पोखरामा विदेशी पर्यटकले मनाए भाइटीका

पोखरा । नेपालीको दोस्रो ठूलो चाड तिहारको सांस्कृतिक रौनकमा सहभागी

अकस्मातको वर्षाले बालगोपालेश्वरको भाइटीका प्रभावित

काठमाडौँ । अकस्मातको वर्षाले काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वरको भाइटीका प्रभावित भएको

मौरीको आक्रमणबाट वीरबहादुरको मृत्यु

बर्दिया । वनमौरीको घारबाट निस्किएका मौरीले टोकेर वीरबहादुर थारुको मृत्यु