बर्दिया । वनमौरीको घारबाट निस्किएका मौरीले टोकेर वीरबहादुर थारुको मृत्यु भएको छ ।
घरकै सिलिङमा रहेको वनमौरीको टोकाइबाट ठाकुरबाबा नगरपालिका–४ खैलार निवासी ४३ वर्षीय वीरबहादुर थारुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार मौरीले टोकेपछि बेहोस अवस्थामा उपचारका लागि ठाकुरबाबा नगर अस्पताल, नेउलापुर भुरीगाउँ पु¥याइएको थियो ।
उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिए ।
वीरबहादुरको घरको सिलिङमा करिब दुई महिनादेखि पाँचवटा वनमौरीका घार रहेका थिए । मौरीको टोकाइबाट मृत्यु भएका थारुको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बर्दिया ल्याइएको छ ।

















प्रतिक्रिया