१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बाँकेका पत्रकार र निजी क्षेत्र मिलेर काम गर्न प्रतिबद्ध

मिडियाको दीगोपन र समृृद्ध निजी क्षेत्रका लागि ६ बुँदे प्रतिबद्धता पत्र जारी



नेपालगन्ज । बाँकेका पत्रकार र निजी क्षेत्रबीच एक आपसमा मिलेर सहकार्य गर्न सहमत भएका छन् । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजना र नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेको सहकार्यमा बाँकेमा भएको ‘मिडिया र निजी क्षेत्र : सहकार्य र सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा दुबै पक्षले मिलेर सहकार्य गर्ने प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा मिडियाको दीगोपन र समृृद्ध निजी क्षेत्रका लागि ६ बुँदे प्रतिबद्धता पत्र जारी गरिएको छ ।

महासंघ बाँके शाखा अध्यक्ष नवीन गिरी र नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीले हस्ताक्षर गरेको प्रतिबद्धता पत्रमा जिल्लाको उद्योग व्यवसाय क्षेत्रको उत्थान र यहाँका मिडियाको विकास र दीगोपनका लागि हातेमालो (सहकार्य) गर्ने उल्लेख गरिएको छ ।

‘हामी समृद्ध निजी क्षेत्रका साथै दीगो, विश्वसनीय, जवाफदेही र उत्तरदायी मिडिया बनाउन सुमधुर सम्बन्धका लागि सहकार्य गर्नेछौं’, प्रतिबद्धता पत्रमा भनिएको छ, ‘बाँकेका औद्योगिक, व्यापारिक वा पर्यटकीय क्षेत्रका साझा मुद्दा र निजी क्षेत्रका राम्रा अभ्यास, निजी क्षेत्रले भोगेका समस्या समाधानका लागि मिडिया कभरेज गरेर सहकार्य गर्नेछौं ।’

प्रतिबद्धता पत्रमा मिडिया, फेक मिडिया र पत्रकारका नाममा सामाजिक सञ्जाल प्रयोगकर्ताले निजी क्षेत्रलाई दुःख दिने काम गरेमा पत्रकार महासंघलाई जानकारी गराएर समस्या समाधान गर्ने उल्लेख छ ।

‘निजी क्षेत्रले मिडियालाई आफूू अनुकूल प्रयोग गर्ने प्रवृत्तिलाई निरुत्साही गर्न र उद्योगी व्यवसायी समस्या पर्दामात्र मिडिया खोज्ने प्रवृत्तिको अन्त्य गर्दै हामी निरन्तर एकअर्काबीच सहकार्य र सहयोग गर्ने प्रतिबद्धता जनाउन चाहन्छौं ।’ प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष नवीन गिरी, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी, नेपालगन्ज चेम्बर अफ कमर्सका अध्यक्ष सतिश अग्रवाल प्यानलिस्ट रहेको कार्यक्रमको पत्रकार झलक गैरेले सहजीकरण गरेका थिए भने पत्रकार शरण कर्मचार्यले ‘मिडिया र निजी क्षेत्र : सहकार्य र सम्बन्ध’ विषयमा आधार पत्र प्रस्तुत गरेका थिए ।

आधार पत्र प्रस्तुत गर्दै पत्रकार कर्माचार्यले निजी क्षेत्र र मिडियाकर्मीबीच रहेको अविश्वास र अशंका हटाएर सहकार्य गर्नु पर्ने बताए । उनले मिडियालाई बुझ्ने निजी क्षेत्रको धारणा र निजी क्षेत्रसँगको सहकार्यका लागि मिडियाले निभाउनु पर्ने भुमिका सकारात्मक र बिश्वसनीय बनाउन आवश्यक रहेको औल्याए ।

कार्यक्रममा पत्रकार शंकरप्रसाद खनालले सहभागीहरुको धारणा समेटेर तयार पारि पत्रकार महासंघ र उद्योग बाणिज्य संघका अध्यक्ष द्वयले हस्ताक्षर गरेको प्रतिबद्धता पत्र पढेर सुनाएका थिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ बाँके शाखाका पूर्वअध्यक्ष नीरज गौतम, नेपालगन्ज उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष चिरञ्जीवी ओली, महासचिव भीमबहादुर रानाभाट, कोषाध्यक्ष मख्खन धामी, सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय सदस्य मो. आरिफ अन्सारी, पत्रकारहरु रुपा गहतराज, साबित्री गिरी, कपिल अञ्जान, अटो व्यावसायी नरेन्द्र ओली लगायतले मिडिया र निजी क्षेत्रको सम्बन्ध कसरी सुमधुर बनाउन सकिन्छ भन्नेबारे सुझाव दिएका थिए । उनीहरुले पत्रकार र निजी क्षेत्रको सम्बन्ध परिपूरक रहेकाले साझा मुद्दामा मिलेर काम गर्नुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष नवीन गिरीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै मिडिया र निजी क्षेत्रबीच व्यवसायिक हितका लागि मिलेर काम गर्नुपर्ने बताएका थिए ।

कार्यक्रमको समापन गर्दै नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीले मिडियालाई अघि बढाउन संघले सधैं सहकार्य जारी राख्ने प्रतिबद्धता जनाउँदै पश्चिम नेपालकै विकासमा फड्को मार्ने नेपालगन्ज दिल्ली उडानका लागि सरकारलाई दवाब दिन पत्रकारले नियमित रुपमा कलम चलाउन आग्रह गरे ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ९ : २९ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा