२९ माघ २०८२, बिहिबार | February 12, 2026

चिनियाँ सहयोगमा वर्णशङ्कर धान रोपाइँ कार्यक्रम



चितवन । चिनियाँ सहयोगमा यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा वर्णशङ्कर धान रोपाइँ कार्यक्रम गरिएको छ । चीनको छोङ चिङ कृषि विज्ञान प्रतिष्ठानले विकास गरेको ३७ जातका वर्णशङ्कर धान परीक्षणका रूपमा रोपिएको हो ।

नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गको उपस्थितिमा परीक्षणका रूपमा धान रोपिएको हो । सँगै नेपालमा विकास गरिएको एउटा र प्रचलनमा रहेका आठ जातका धान रोपिएको छ । हरेक जातका धानको ३०० ग्राम बीउ उत्पादन गरी विश्वविद्यालयको परिसरमा रोपिएको छ ।

धान रोपाइँ सुरू गर्नुअघि आज आयोजित कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन गएको बेला भएको सम्झौताअनुसार यो महत्त्वपूर्ण कार्यले मूर्तरूप लिएको बताइन् । आगामी दिनमा भरतपुर महानगर र देशकै लागि यो परियोजना कोसेढुङ्गा साबित हुने बताइन् ।

नेपालको चितवन र झापा धान उत्पादनमा अग्रणी जिल्ला भएको भन्दै उनले यहाँ राम्रो उत्पादन हुने वर्णशङ्कर जातलाई देशभर विस्तार गरी उत्पादन वृद्धि गर्न सहयोग पुग्ने बताइन् ।

कार्यक्रममा राजदूत सोङ्गले यो धान नेपालमा परीक्षण गरेर उत्पादन गर्न लाग्नु चीनका लागि गर्वको विषय भएको बताए । चीनले ७० वर्षको उपलब्धिका रूपमा लिएको यो धानको बीउको उपहार नेपाललाई दिएको उनले बताए ।

यससँगै उत्पादनको क्षेत्रमा नेपालको सपना साकार हुने विश्वास आफूले लिएको उनको भनाइ थियो । उनले भने, “आउँदा वर्षहरूमा नेपालको धानको उत्पादन बढाउन यो सहयोग हुनेछ ।” चीनले निकै मिहिनेत गरेर प्राप्त गरेको उपलब्धिलाई नेपाललाई हस्तान्तरण गर्न लागेको उनको भनाइ थियो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा डा शारदा थपलियाले चिनियाँ सरकार, भरतपुर महानगरपालिकालगायत विभिन्न सङ्घसंस्था र विज्ञहरूको सहयोगले यो परियोजना सफल भएको बताए । परीक्षण सफल भएमा यसले नेपालको धान उत्पादनमा सहयोग पुग्ने उनको विश्वास थियो ।

कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार पुष्करबहादुर पाल, चाइना फाउन्डेसन फर रुलर डेभलपमेन्टका कन्ट्री डाइरेक्टर जाओ जियाङ, परियोजनाका कार्यक्षेत्र संयोजक राजु बराललगायतले बोलेका थिए ।

बरालका अनुसार परीक्षणका रूपमा रोपिएका वर्णशङ्कर धानमध्ये राम्रो फल्ने धानलाई नेपालका विभिन्न ठाउँमा रोप्न सकिनेछ । यस क्रममा कृषकलाई तालिमसमेत दिइँदै छ । विश्वविद्यालयले नेपालमा अधिकतम प्रचलनमा रहेका जात र चिनियाँ वर्णशङ्करलाई सँगै उत्पादन गरेर अध्ययन गरी उपयुक्त जात सिफारिससमेत गर्न सक्ने छ ।

नेपालमा हालसम्म एउटा मात्रै वर्णशङ्कर धानको बीउ उत्पादन भई प्रचलनमा आएको छ । त्यो जात हर्दिनाथ हाइब्रिड एक भएको बरालले जानकारी दिए । कृषकले विदेशबाट आयातित गरेर अन्य जात प्रयोग गर्दछन् ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  १ : ४८ बजे

निर्वाचन आचारसंहिता सबैलाई उत्तिकै लागू हुन्छ

चितवन । निर्वाचन आचारसंहिता राजनीतिक दल, उम्मेदवार तथा सञ्चारमाध्यमलगायत सबै

स्कूल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो

बागलुङ । बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते

लुकुमलाई ‘नमूना’ गाउँ बनाउने संयोजक प्रचण्डको प्रतिबद्धता

रुकुम पुर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास

काठमाडौँ । नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा आज सैनिक

चक्कु प्रहार गरेर किशोरको हत्या

दैलेख । दैलेखको दुल्लू नगरपालिका–४ शान्ति बजारमा चक्कु प्रहारबाट एक