काठमाडौं । बुढानीलकण्ठ नगरपालिका-७, स्पेसलचोकस्थित सडकमा आइतबार राति मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
बागमती प्रदेश ०२-०४१ प ६८१९ नम्बरको स्कुटर र प्रदेश ३-०२-००२ प ५७२ नम्बरको मोटरसाइकल राति करिब पौने २ बजे ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा सिरहा, जन्दह घर भएका करिब २९ वर्षीय भोला थापा र करिब ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । दुवैलाई शिक्षण अस्पताल पुर्याइएकोमा राति सवा २ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
मृतकका आफन्त सम्पर्कमा नआएको र एक जनाको सनाखत अझै हुन नसकेको प्रहरीले जनाएको छ ।
घाइतेमा गोरखा आरुपोखरी घर भई हाल बुढानीलकण्ठ-८, भंगाल बस्ने २४ वर्षीय एरिक परियार, नाम थर खुल्न बाँकी २८-३० वर्षका पुरुष र ३०-३२ वर्षका पुरुष रहेका छन् । तीमध्ये दुई जनाको अवस्था गम्भीर छ भने सबैको उपचार भइरहेको प्रहरीले जनाएको छ ।



















प्रतिक्रिया