बुटवल । बुटवल उपमहानगरपालिकाले वडा नं. १४ र १५ का सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँचको काम सुरु गरेको छ । मंगलबार नगर प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल र भूमि समस्या समाधान आयोग रुपन्देहीका अध्यक्ष कुमार थापाको उपस्थितिमा नापजाँच कार्यको औपचारिक सुरुवात गरिएको हो ।
नगर प्रमुख पाण्डेयले अब लालपुर्जा वितरण गर्ने उद्देश्यसहित नापजाँच सुरु गरिएको जानकारी दिँदै तिनाउपारिका वडाहरुमा काम अन्तिम चरणमा पुगेको बताए । बाँकी रहेका टोलहरुमा पनि नापजाँचलाई तीव्र गतिमा अघि बढाउने उनले प्रतिबद्धता जनाए ।
उनका अनुसार नापी सकिएका जग्गाधनीले लालपुर्जा पाउन कानुनी प्रक्रिया पूरा गर्न अझै तीनदेखि चार महिना लाग्नेछ । नापजाँचका लागि आवश्यक स्रोत र साधनको व्यवस्था उपमहानगरपालिकाले गरिसकेको र लालपुर्जा वितरण गर्दा लाग्ने राजश्व संघीय सरकारको खातामा जम्मा हुने जानकारी उनले दिए ।
उपप्रमुख सावित्रादेवी अर्यालले जग्गा नापजाँचलाई अवरोध नगरी सहज बनाउन आग्रह गरिन् । उनले टोल विकास संस्था र वडा कार्यालयको समन्वयमा नापजाँच हुने भएकाले समयमा नै लालपुर्जा वितरण गर्न सहज हुने बताइन् । “नगरबासीलाई जग्गाको कानुनी हकदार बनाउन उपमहानगरपालिका लागि परेको छ,” उनले भनिन् ।
भूमि समस्या समाधान आयोग रुपन्देहीका अध्यक्ष कुमार थापाले जिल्लामा हालसम्म ७७ हजार अव्यवस्थित, सुकुम्बासी तथा भूमिहीन परिवारका निवेदन दर्ता भएको जानकारी दिए । आयोग शक्तिशाली रहेको भन्दै उनले पदाधिकारी परिवर्तन भए पनि काम नरोकिने स्पष्ट पारे ।


















प्रतिक्रिया