काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यापार सल्लाहकार पिटर नभारोले भारतमाथि तीव्र आलोचना गर्दै ‘ट्यारिफ (आयात कर)को महाराजा’को संज्ञा दिएका छन् । उनले भारतले रूसबाट सस्तो तेल खरिद गरेर प्रशोधन गरी महँगोमा बेच्ने कार्यलाई “नाफाखोरी योजना” को संज्ञा दिएका छन् ।
नभारोको टिप्पणी भारतीय विदेशमन्त्री एस. जयशंकरले अमेरिकाको आलोचनाको जवाफ दिएको केही समयपछि आएको हो । जयशंकरले अमेरिकाले नै भारतलाई रुसी तेल खरिद गर्न आग्रह गरेको र यसले विश्व ऊर्जा बजारलाई स्थिर राख्न सहयोग पुर्याएको बताएका थिए ।
तर नभारोले भारतमाथि उल्टै आरोप लगाउँदै भनेका छन्, “सन् २०२२ मा रूस-युक्रेन युद्ध सुरु हुनुअघि भारतको रुसी तेल खरिद करिब १ प्रतिशत मात्रै थियो । अहिले यो बढेर ३५ प्रतिशत पुगेको छ । भारत सस्तो कच्चा तेल किन्दछ, रिफाइनरीमा प्रशोधन गर्छ र त्यसलाई युरोप, अफ्रिका र एसियामा महँगोमा बेचेर ठूलो नाफा कमाउँछ ।”
उनले भारतले कमाएको नाफा फेरि रुसी तेल खरिदमा प्रयोग गर्ने र त्यस पैसाबाट रूसले हतियार उत्पादन गरी युक्रेनमाथि आक्रमण गर्ने आरोपसमेत लगाए । “यसरी अमेरिकन करदाताहरूलाई आफ्नै सरकारले युक्रेनलाई थप हतियार र सहयोग गर्न पैसा खर्च गर्नुपर्ने बाध्यता हुन्छ,” नभारोले भने ।
त्यसैगरी, उनले भारत र चीनबीचको निकटतालाई पनि प्रश्न उठाउँदै राष्ट्रपति ट्रम्पले भारतीय उत्पादनहरूमा आयात कर ५० प्रतिशत पुर्याएपछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण बनेको दाबी गरे ।
नभारोले भने, “ट्यारिफको मामिलामा भारत वास्तवमै एक महाराजा हो । भारतले उच्च ट्यारिफ र गैरट्यारिफ अवरोधहरू लगाएको छ, जसले अमेरिकी कामदार र कम्पनीहरूलाई नोक्सान पु¥याएको छ ।”
यो पछिल्ला केही दिनमै नभारोले भारतमाथि गरेको दोस्रो ठूलो आलोचना हो । यसअघि उनले ‘फाइनान्सियल टाइम्स’मा लेख प्रकाशित गर्दै भारतको रुसी तेल खरिदलाई गलत ठहर गरेका थिए ।


















प्रतिक्रिया