काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिएको भन्दै सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाइ हुँदैछ ।
अधिवक्ता वीरेन्द्र केसीले बिहीबार दायर गरेको रिटमा प्रधानमन्त्री ओली अहिले कामचलाउ सरकारको हैसियतमा रहेको भन्दै नयाँ सरकार गठन प्रक्रिया तत्काल अघि बढाउन माग गरिएको छ ।
सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार हिजो दर्ता भएको उक्त रिटमा प्रधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रतिनिधि सभा सभामुख, संघीय संसद सचिवालय र राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाइएको छ ।
संविधानको धारा १००(२) अनुसार, सरकारलाई समर्थन गर्ने कुनै दलले समर्थन फिर्ता लिँदा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिन प्रतिनिधि सभामा प्रस्ताव प्रस्तुत गर्नुपर्ने प्रावधान छ ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले असार ३१ गते र नागरिक उन्मुक्ति पार्टीले असार २२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।
सो रिटमा कामचलाउ सरकारलाई दीर्घकालीन तथा नीतिगत निर्णय नगर्न अन्तरिम आदेश दिन समेत माग गरिएको छ । सर्वोच्चले यो रिटको सुनुवाइ आजको पेसीमा तोकेको हो ।


















प्रतिक्रिया