काठमाडौं । अष्ट्रेलिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज साउथ अष्ट्रेलियासँग दुई टी-२० अभ्यास खेल खेल्दैछ । पहिलो खेल बिहान ५:१५ बजे सुरु भइसकेको छ । टस जितेर साउथ अष्ट्रेलियाले फिल्ड रोजेपछि नेपाल ब्याटिङ गरिरहेको छ । पहिलो खेल सकिएलगत्तै नेपालले सोही टिमसँग बिहान ९:१५ बजे दोस्रो खेल खेल्नेछ ।
यसअघि मंगलबार नेपालले अष्ट्रेलियन क्यापिटल टेरिटोरी (ACT)सँग दुई खेल खेलेको थियो । पहिलो खेलमा नेपालले ४१ रनले जित निकालेको थियो भने दोस्रो खेलमा ६ विकेटको जित हात पारेको थियो । पहिलो खेलमा सन्दीप लामिछानेले ह्याट्रिकसहित पाँच विकेट लिएका थिए भने दोस्रो खेलमा दीपेन्द्रसिंह ऐरी र साहब आलमले समान चार-चार विकेट हात पारेका थिए ।
आजका दुई टी-२० खेलपछि नेपालले अष्ट्रेलियामा शनिबार एउटा एकदिवसीय (ODI) खेल साउथ अष्ट्रेलियासँग खेल्नेछ । खेल बिहान ५:१५ बजे सुरु हुने कार्यक्रम छ ।
यस्तै, आजै नेपाल ‘ए’ टिमले भारत भ्रमणमा पहिलो खेल खेल्दैछ । भारतको गुवाहटीमा आसाम प्रदेशसँग टी-२० सिरिज सुरु भएको हो । नेपाल क्रिकेट संघ (क्यान) ले अनिलकुमार शाहको कप्तानीमा १६ सदस्यीय ‘ए’ टोली घोषणा गरेको थियो ।
नेपाल ‘ए’ टिमले पहिलो खेल आज बिहान ११ बजे आसामसँग खेल्नेछ । नेपालले यस सिरिजमा पाँच खेल खेल्नेछ । बाँकी खेल भदौ १३, १४, १५ र १६ गते हुनेछन् ।


















प्रतिक्रिया