१९ चैत्र २०८२, बिहिबार | April 3, 2026

अझै कायम छ ‘कटुवाल प्रथा’



लमजुङ । प्राचीनकालमा तत्कालीन समाजको सूचना प्रसार गर्ने उद्देश्यले प्रारम्भ भएको कटुवाल प्रथा कालान्तरमा सञ्चारका अनेकौँ प्रविधि विकास हुँदा करिब हराइसकेको छ । यता पहाडी जिल्ला लमजुङमा भने यो प्रथा अझै कायमै छ ।

जिल्लामा आधुनिक प्रविधिको विकास तथा पहुँच नभएको होइन । प्रायःजसो नागरिकका हातहातमा मोबाइल र इन्टरनेट छ । तथापि, यहाँका कतिपय गाउँमा कटुवालकै भरमा सूचना दिने प्रचलन कायम छ । जिल्ला सदरमुकाम रहेको बेँसीसहर नगरपालिका-१० को गाउँबेँसी, लेतेफाँट, कल्लेरी, डाँडागाउँ, क्व्होलासोथर गाउँपालिका-८ घाम्राङ, घिचे, घाम्राङबेँसी, साल्मेलगायतका गाउँका स्थानीयले आफ्नै गाउँको खबर प्राप्त गर्न भने कटुवालको भर पर्नुपर्छ । बेँसीसहर वडा नं १० का ७० वर्षीय कालु परियार जब गाउँको डाँडामा उभिएर ठूलो स्वरमा उर्दी जारी गर्न थाल्छन, सबै गाउँलेले आफूले गर्दै गरेको काम रोकेर कान ठाडो पार्दै ध्यानपूर्वक सुन्न थाल्छन् ।

परियारले डाँडाबाट आफ्ना गाउँमा हुन लागेको वा हुनेवाला सूचना वा खबर सुनाउँछन । प्रविधिको माध्यमबाट सूचना दिने क्रम बढे पनि यहाँका गाउँका बासिन्दा यसरी दिने सूचना ९खबर० मै विश्वास गर्छन् । गाउँमा हुने विभिन्न खाले भेला, कार्यक्रम तथा बैठक, विवाहलगायत शुभकार्यमा स्थानीयवासीलाई सहभागी गराउन कटुवालले नै खबर गर्ने प्रचलन छ ।

बाँझाखेतका स्थानीय तथा शिक्षक नन्दराज घलेले भने, “विश्वका समाचार तथा विभिन्न खबर प्राप्त गरे पनि गाउँका समाचार तथा खबर भने कटुवाल कराएपछि मात्र थाहा पाउने गरेको छु । अन्य माध्यमबाट थाहा पाए पनि कटुवाल कराएपछि मात्रै ढुक्क भइन्छ ।” स्थाीय दूधप्रसाद घले पनि गाउँमा हुने धेरैजसो कामका सूचना कटुवालमार्फत थाहा पाइने गरेको बताउँछन । वर्र्षौदेखि गाउँमा यो प्रथा चलिआएकाले सूचना प्रविधिको जति विकास भए पनि कटुवालको नै महत्त्व रहेको उनको भनाइ छ ।

कटुवाल परियारले यसरी नै गाउँमा कराउँदै सूचना दिँदै आएको ३५ वर्ष भएको बताए । “गाउँमा जे कार्जे भए पनि मलाई भन्छन्, अनि डाँडामा गएर गाउँलेलाई ठूलो स्वरमा कराएर सूचना दिने गरेको छु”, उनले भने । यसरी सूचना दिँदा कतिले थाहा पाएर पनि सुनिएन, बुझिएन भन्ने गुनासो गर्दा यो पेसा त्यति सजिलो नरहेको अनुभूति हुने गरेको परियारले सुनाए । “समस्या छ, तर पनि परम्परागत रूपमा चल्दै आएको यो प्रथा जोगाउन आफूले पेसा अँगाल्दै आएको छु”, उनले भने, “यसबापत विगतमा हरेक वर्ष प्रतिघर १२ माना कोदो दिँदै आएकामा गत वर्षदेखि भने दुई पाथी दिन थालिएको छ । पहिले मान्छे धेरै थिए, अहिले कम छन् । यसरी आएको कोदोले दुई महिना पनि परिवारलाई खाना पुग्दैन ।”

यसबाहेक कोदाको उत्पादन कम भएकाले कतिपयले कोदो नै दिने गरे पनि धेरैजसोले त्यसका मूल्य बराबर पैसा नै दिने गरेको कटुवाल परियारले बताए । उनले नयाँ पुस्तामा भने यस प्रेसाप्रति कुनै चासो नरहेकाले आफ्नो शेषपछि पेसा नै नरहेन चिन्ता लाग्न थालेको गुनासो गरे ।

त्यस्तै, क्व्होलासोथर गाउँपालिका-८ घाम्राङ गाउँका दूधबहादुर गुरुङले पनि कटवाल कराउने काम गर्दै आएका छन । यहाँ वर्षौं पहिलेदेखि कटुवालको चलन चल्दै आएको र यसलाई निरन्तरता दिनका लागि आफू पनि कटुवाल बनेको उनको भनाइ छ । त्यसबापत आफूले गाउँलेबाट सामूहिक रूपमा वार्षिक पाँच मुरी धान, एक मुरी कोदो प्राप्त गर्ने गरेको गुरुङले जानकारी दिए ।

गाउँको रीतिस्थितिअनुसार असिना बार्ने, बीउ बार्नेदेखि विकास निर्माणका काममा सामूहिक काम गराउन, सामुदायिक वनको गोडमेल, खानेपानीको मर्मतसम्हार, दाउरा काट्ने, दुःख-बिमारमा सघाउने, गाईभैँसी लेकमा लैजाने बेँसीमा राख्नेलगायत काममा पनि कटुवालले नै गाउँलेलाई खबर गर्दै आएका छन् ।

वडा सदस्य खमाया गुरुङले गाउँभरिको खबर गर्ने आधिकारिक व्यक्ति कटुवालले सूचना दिएपछि अरू माध्यमभन्दा बढी विश्वास लाग्ने गरेकाले पनि प्रथा कायमै रहेको बताए । वडा कार्यालयबाट गर्ने कार्यक्रमदेखि गाउँमा हुने सबैजसो कामको खबर गर्ने जिम्मा कटुवालको रहेको उनले सुनाए ।

यहाँ बर्सेनि गाउँमा थितिसभा बस्ने र सोही सभाले निर्णय गरेपछि मात्रै अन्नपात उठाउने चलन रहेको छ । यहाँ जिल्लाका अरु केही गाउँमा समेत कटुवाल प्रथा कायमै रहेको जनाइएको छ ।

प्रकाशित मिति : १२ भदौ २०८२, बिहिबार  ७ : ५१ बजे

बसपार्कमा बस भित्रबाट यात्रु लुट्ने लुटेरा समूहका ४ जना पेस्तोल सहित पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्ज बसपार्कमा दिनदहाडै यात्रुबाहक बस भित्रबाट हतियार

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

संसदीय दलको नेता चयन र नेता थापाको अभिव्यक्तिले एमालेमा चर्कियो विवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र यतिखेर संसदीय दलको

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर

कांग्रेस सभापति थापालाई सम्मान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्मान गरिएको छ