१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

सुशीला कार्कीको नेतृत्वमा ‘लोकतन्त्र’को परीक्षा



नेपालको राजनीतिक परिदृश्यमा एक असाधारण मोड आएको छ- पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनेकी छन् । न्यायिक क्षेत्रबाट कार्यकारी नेतृत्वमा प्रवेश गर्नु आफैंमा दुर्लभ घटना हो । तर कार्कीको नियुक्ति केवल असामान्य होइन, यो देशको लोकतान्त्रिक यात्राको निर्णायक मोड पनि हो ।

कार्कीको उदय जेनजी आन्दोलनको जनदबाबबाट सम्भव भएको हो। भ्रष्टाचार, अनियमिता, र दलहरूको मनोमानी शासनविरुद्ध उठेको जनआवाजले उनलाई नेतृत्वको अग्रपंक्तिमा ल्यायो । देशभित्र लोकतन्त्रको नाममा भ्रष्टाचार र कुशासनले गन्हाएका सत्ता सञ्चालकहरुकै कारण आम जनतामा गुम्सिएको सत्ता विरोधी मनोविज्ञान जेनजी आन्दोलनमा रुपान्तरण मुख्य परिघटना हो । अवश्य पनि यो युवा विद्रोहलाई अदृश्य शक्तिले पनि आफुअनुकुल प्रयोग गर्न अभूतपूर्व सफलता पाएका छन् । केपी ओली सरकारको कुबुद्धिका कारण फैलिएको जनआन्दोलनले उनीसहित पुराना राजनीतिक दललाई नै किनारामा पुर्याएको छ । बैलैमा सुध्रिएर पश्चाताप गरेर जनतासँग माफी माग्दै जनदैलोमा पुग्न सकेनन् भने उनीहरु पुरै सकिने पनि निश्चित छ ।

यद्यपी, जेनजी आन्दोलनको ज्वाला सबै शक्तिका लागि गज्जबको साइत बन्न पुग्यो । आन्दोलन पवित्र उद्देश्यबाट वास्तविक जेनजीहरुको नेतृत्वमा सुरु भएपनि त्यहाँ भएको घुसपैठ र जनसंहार, हिंसा, अराजकता र लुटपाटको आर्किटेक्ट डिजाइनसहित प्रवेश गरेका बाह्य शक्तिहरुको अभूतपूर्व सफलताको पटाक्षेप विस्तारै हुँदै जाला । जसरी विगतमा श्रीलंका र बंगलादेशमा भएका आन्दोलन र ती आन्दोलनका प्रायोजकहरु को थिए भन्ने प्रष्ट भैसकेको छ । यो ३० वर्षको बीचमा युरोप, ल्याटिन अमेरिका र पश्चिम एशियामा गराइएका विभिन्न रंगका आन्दोलनको भाष्याकार को हुन भन्ने कुरा पनि भूराजनीतिमा चासो राख्ने सबै परिचित छन् भने तिनै शक्तिहरुको आर्किटेक्टमा चलेका शक्तिहरुले जेनजी आन्दोलनबाट कति सफलता पाए र पाउने अपेक्षामा छन् भन्ने कुरा पनि केही महिनाभित्रै खुल्दै जाला ।

तर, अबको चुनौतीको भारी ७३ वर्षीया जेनजी प्रतिनिधि सुशीला कार्कीको काँधमा आइपुगेको छ । आन्दोलनको भावनालाई संस्थागत सुधारमा रूपान्तरण गर्नसक्ने ल्याकत उनमा रहन्छ या अरुको खटनपटले मात्र सञ्चालन हुन्छ त्यसबाट नै कार्कीको सफलताको कसी मापन हुनेछ । विगतमा प्रधानन्यायाधीश हुँदा प्राप्त गरेको सम्मान प्रधानमन्त्री हुँदा पनि जोगाइराख्ने जिम्मेवारी उनकै काँधमा छ । जसको लागि केवल हठी स्वभाव मात्र पर्याप्त हुँदैन, समन्वय, संवाद र दूरदृष्टि अनिवार्य चाहिन्छ ।

प्रधानन्यायाधीशको रूपमा कार्कीले भ्रष्टाचारविरोधी छवि निर्माण गरिन् । कपितय महत्वपूर्ण मुद्दामा उनले देखाएको निर्भीकता र अडान प्रशंसनीय थियो । तर कार्यकारी नेतृत्वमा प्रवेश गर्दा त्यही निर्भीकता राजनीतिक सहकार्यको अभावमा टकरावको कारण बन्न सक्छ ।

राजनीतिक दलहरू उनको विगतका कतिपय निर्णयहरूबाटै असन्तुष्ट छन् । त्यसमाथि आफुहरुलाई किनारामा पारिएको संसद विघटनबाट उनीहरुको थप असन्तुष्टि छ । जबकी, आजको दिनसम्म पनि मूलधारका दलहरुसँग बलियो संगठनात्मक शक्ति कायमै छ । उनीहरु सकिएका छैनन, सकिन पनि सकिँदैनन । केबल, विगतमा उनीहरु जनताबाट टाढिएर विचौलिया दलालहरुसँग घाँटी जोड्दै सत्तालिप्सामा टासिँदा र अहिले यौटा सन्की शासकको व्यवहारले निम्त्याएको परिस्थितिको कुल योगले किनारा पारेको मात्र हो । दलहरुभित्र अहिलेका जेनजी अभियन्ताहरु भन्दा उन्नत विचार र दर्शन बोकेका युवा पुस्ता बाँकी नै छन् – उनीहरु अवश्य पनि उठ्नेछन् र जुर्मुर्याउने छन् । त्यतिबेला प्रधानमन्त्री कार्कीका लागि सबैभन्दा ठूलो चुनौती थपिनेछ । कार्कीले दलहरुलाई समाप्त पारेर चरम दक्षिणपन्थी शक्तिहरुको छायाँमा मात्र नाच्न अवश्य पनि सक्नेछैनन् । यदि कार्कीले संवादको शैली अपनाउन सकिनन् भने निर्धारित समयमा निर्वाचन सम्पन्न गर्न असम्भव हुने खतरा त छ नै उनी अक्षमताको मेडलसहित बाहिरिनेछिन् ।

अर्कोतर्फ, आन्दोलनको क्रममा भएको दमन र त्यसपछिको हिंसा र लुटपाटको न्यायिक छानबिनको माग तीव्र छ । कार्कीको न्यायिक पृष्ठभूमिले छानबिनको प्रक्रिया सुरु गर्न सहज बनाउनेछ, तर निष्पक्षता र पारदर्शिताको सुनिश्चितता गर्न तिनै पुराना दलहरूको असहयोगले चुनौती थप्नेछ । यसका साथै जेनजी आन्दोलनको मुख्य माग सुशासन हो । सुशासन कायम गर्न विगतमा भएका भ्रष्टाचारका फाइलहरु खुल्न जरुरी छ । देशलाई नै बर्बाद बनाएको भ्रष्टाचार रोगको निदान गर्न वृहत निस्पक्ष छानबिन कसरी सुरु हुन्छ भन्ने कुराले कार्कीको छबिलाई प्रभावित पार्नेछ ।

अन्तर्राष्ट्रिय सम्बन्धमा पनि कार्कीको नेतृत्वको परीक्षा हुनेछ । दक्षिण, उत्तर र पश्चिमबीच सन्तुलन, मानव अधिकारको संरक्षण र लोकतान्त्रिक प्रक्रियाको सम्मान– यी सबै विषयमा अन्तर्राष्ट्रिय समुदायको नजर उनीमाथि हुनेछ । कूटनीतिक सन्तुलन कायम राख्न उनले स्पष्ट नीति र दूरदृष्टि कसरी प्रस्तुत गर्लिन, उनको सफलता त्यसमा निर्भर हुनेछ ।

अब प्रश्न उठ्छ, के हठी स्वभावले कार्कीलाई सफल बनाउनेछ या असफलताको कारण बन्नेछ ? यदि उनले आफ्नो हठलाई सिद्धान्तमा रूपान्तरण गर्दै समावेशी सौम्य नेतृत्व प्रस्तुत गर्न सकिन् भने अवश्य पनि उनी सफल प्रधानमन्त्री बन्न सक्छिन् । अन्यथा, असफलताको दोष बोकेर बाहिरिनुको विकल्प उनीसँग रहनेछैन ।

नेपालको लोकतन्त्र अहिले संक्रमणकालीन मोडमा छ । सुशीला कार्कीको नेतृत्वले यो मोडलाई स्थायित्वमा रूपान्तरण गर्ने कि थप दक्षिणपन्थी अस्थिरता निम्त्याउने – यो प्रश्नको उत्तर समयले दिनेछ । तर एक कुरा स्पष्ट छ, कार्कीको नेतृत्व केवल एक व्यक्तिको कथा होइन, यो सम्पूर्ण राष्ट्रको लोकतान्त्रिक भविष्यको कथा हो ।

प्रकाशित मिति : २८ भदौ २०८२, शनिबार  ९ : ३४ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा