काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी उनले गृहमन्त्रालयका लागि नयाँ निर्माण गरिएको भवनमा पदबहाली गरेकी हुन् ।
पदबहाली भए लगत्तै प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारलाई सरकारको तर्फबाट प्रतिव्यक्ति १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेकी छन् ।
सिंहदरबारमा पदभार ग्रहणपछि आयोजित कार्यक्रममा नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै मृतकका परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेकी हुन् ।
नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालका अनुसार, गत मङ्गलबार र बुधबार भएको आन्दोलनका क्रममा प्रदर्शनकारीसहित विभिन्न घटनामा परी देशभर करिब ७२ जनाको मृत्यु भएको छ ।
सरकारले मृतकका परिवारलाई तत्काल सहयोगस्वरूप राहत प्रदान गर्ने र घाइतेहरूको उपचार खर्च समेत व्यहोर्ने जनाएको छ ।
सो अवसरमा सरकारका मुख्यसचिव एकनारायण अर्याल, सचिवहरू, सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीलगायत उपस्थित थिए । पदबहालीपछि प्रधानमन्त्री कार्कीले मुख्यसचिवसहित सचिवहरूसँग मन्त्रालयको कार्यविवरणका सम्बन्धमा जानकारी लिएकी थिइन् ।
त्यसअघि कार्कीले लैनचौर र सहिदगेटस्थित सहिदका सालिकमा माल्यार्पण गरेकी थिइन् ।
उनले आज बिहान लैनचौर र सहिदगेट पुगेर सहिदका सालिकमा माल्यार्पण गरेकी हुन् । प्रधानमन्त्री कार्की माल्यार्पणपछि पदबहालीका लागि सिंहदरबार प्रस्थान गरेकी थिइन् ।



















प्रतिक्रिया