काठमाडौं । भारतले आफ्नो चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई पन्छाउँदै एसिया कप क्रिकेटमा लगातार दोस्रो विजय हात पारेको छ । आइतबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सम्पन्न खेलमा स्पिनरहरूको प्रभावकारी प्रदर्शनपछि भारतले पाकिस्तानलाई ७ विकेटले हराएको हो ।
गत मे महिनामा भएको सैनिक द्वन्द्वपछि पहिलो पटक आमनेसामने भएका यी दुई टोलीबीचको खेल निकै चर्चित बनेको थियो । तर खेलपछि दुवै टोलीका खेलाडीले हात मिलाएका छैनन् ।
टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले कमजोर प्रदर्शन गर्यो । टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २७ रन मात्र बनाउन सक्यो । कप्तान सलमान अघाको निर्णय पाकिस्तानका लागि महँगो साबित भयो ।
भारतका बलरले उत्कृष्ट सुरुवात दिलाए । हार्दिक पाण्ड्याले पहिलो बलमै सइम अयुबलाई आउट गरे भने मोहम्मद हरिस पनि ३ रनमै समेटिए । पाकिस्तानका ओपनर साहिबजादा फरहानले सर्वाधिक ४० रन बनाए । उनले ४४ बलमा १ चौका र ३ छक्का प्रहार गरे ।
लक्ष्य सजिलो रहेकाले भारतले आक्रामक ब्याटिङ गर्यो । ओपनर शुभमन गिल १० रनमा आउट भए पनि अर्का ओपनर अभिषेक शर्माले १३ बलमै ३१ रन बनाए । उनले ४ चौका र २ छक्का प्रहार गरे । तिलक वर्माले पनि ३१ रन जोड्दै जितको आधार बनाएका थिए ।
पाकिस्तानका लागि अयुबले मात्र विकेट लिन सके । उनले ४ ओभरमा ३५ रन खर्चिँदै सबै ३ विकेट हात पारे ।
यसअघि भारतले पहिलो खेलमा यूएईलाई ९ विकेटले हराएको थियो । पाकिस्तानले भने पहिलो खेलमा ओमानलाई पराजित गरेको थियो । अब दोस्रो चरणमा प्रवेश गर्न पाकिस्तानले यूएईलाई हराउनैपर्ने बाध्यता छ ।


















प्रतिक्रिया