काठमाडौं। नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले संविधान दिवसको अवसरमा आफ्नो तर्फबाट भएका गल्ती र कमजोरीप्रति क्षमायाचना गरेका छन्।
असोज ३ गते संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै पौडेलले विगतमा एमालेले लिएका निर्णय र गरेका कार्यहरूको गम्भीर समीक्षा हुने बताएका छन्। उनले भने, “व्यक्तिगत रुपमा मेरो तर्फबाट भएका गल्ती, कमजोरी र भूलहरुप्रति क्षमायाचना गर्दछु।”
पौडेलले हालैको जेन्जी आन्दोलनमा शहीद भएका प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले आन्दोलनका क्रममा भएको हिंसा, हत्या, तोडफोड र आगजनीलाई निन्दनीय भन्दै त्यसबारे निष्पक्ष छानबिन गरी दोषीलाई कानुनअनुसार कारबाही गर्न सरकारसँग माग गरेका छन्।
उनले भने, “जनताको, विशेषगरी युवा पुस्ताको आकांक्षा, असन्तुष्टि र आक्रोसलाई सम्बोधन गर्न नसक्नु, भ्रष्टाचार नियन्त्रण र सेवाप्रवाहमा सुधार ल्याउन असफल हुनु जेन्जी आन्दोलनका मुख्य कारण बनेका हुन्।”
पौडेलले संविधान दिवसलाई लोकतन्त्रको रक्षा, प्रयोग र विकासका लागि सबै नेपालीले योगदान दिने अवसरका रूपमा स्मरण गरेका छन्। उनले आपसी सद्भाव, एकता र सामाजिक न्यायसहित समृद्ध नेपालको दिशामा अघि बढ्न सबैलाई आह्वान गरेका छन्।
उनले पार्टी संगठन, कार्यशैली र आचरणमा आवश्यक परिवर्तन गर्दै युवाशक्तिलाई नीतिनिर्माण र नेतृत्व निर्माणमा निर्णायक भूमिका दिनुपर्नेमा पनि जोड दिए।



















प्रतिक्रिया