काठमाडौँ । माओवादी लगायत कम्युनिष्ट पार्टीहरुसँग पार्टी एकता गर्न नेकपा एकीकृत समाजवादीले वार्ता टोली गठन गरेको छ । अध्यक्ष माधवकुमार नेपालले शुक्रबार अपानि जारी गर्दै वरिष्ठ नेता बेदुराम भुसालको नेतृत्वमा वार्ता टोली गठन गरेको जनाएका छन् ।
वार्ता टोलीमा वरिष्ठ नेता प्रमेश हमाल र उपाध्यक्ष प्रकाश ज्वाला सदस्य रहेका छन् ।
वामपन्थी, कम्युनिष्ट तथा समाजवादी पार्टी र समूहहरूसँग एकता वार्ता गर्न वार्ता टाली गठन गरेको नेपालले अपानीमा उल्लेख गरेका छन् । उक्त टोलीलाई ११ बुँदामा एकताको सैद्धान्तिक आधार खोज्न म्यान्डेट दिएको पनि अपानिमा जनाइएको छ ।
पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी हुने, नेपाली क्रान्ति जनवादी चरण पूरा गरेर समाजवादी चरणमा प्रवेश गरेको मान्ने, आम नेपाली जनता र दलाल नोकरशाही पुँजीपति वर्गबिचको अन्तर्विरोधलाई वर्तमान नेपाली समाजको प्रधान अन्तर्विरोध मान्ने विषयलाई एकताका सैद्धान्तिक आधार बनाइएको छ ।
त्यस्तै पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद हुने, पार्टीको सङ्गठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता हुने, पार्टीको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद हुने पनि आधारमा उल्लेख छ ।


















प्रतिक्रिया