काठमाडौं । नवघोषित कुमारी आर्यतारा शाक्यले आज कुमारीको आसन ग्रहण गर्दैछिन् । दिउँसो १२:०५ देखि १२:१६ बजेसम्मको शुभ साइतमा उनीलाई कुमारीघरमा विधिविधानपूर्वक आसन गराइने तयारी भएको छ ।
यससँगै पुराना कुमारी तृष्णा शाक्यलाई बाजागाजासहित बिदाइ गरिनेछ ।
काठमाडौं इटुम्बहालकी साढे दुई वर्षीया आर्यतारालाई गुठी संस्थान, पञ्चांग निर्णायक समिति तथा सरोकार भएका पक्षसँगको परामर्शपछि नयाँ कुमारीका रूपमा चयन गरिएको हो ।
आसन ग्रहणपछि उनलाई तलेजु भवानीको दर्शनका लागि मन्दिरमा विशेष यात्रासहित लगिने कुमारीघर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले जानकारी दिए ।
जीवित देवीका रूपमा पूजिने कुमारीलाई महालक्ष्मीको प्रतीक मानिने परम्परा छ । ऐतिहासिक विवरणअनुसार तत्कालीन राजा जयप्रकाश मल्लले कुमारी प्रथा स्थापना गरेका थिए । कोजाग्रत पूर्णिमाका दिन राष्ट्रप्रमुखले पनि कुमारीको दर्शन गर्ने प्रथा कायम छ ।


















प्रतिक्रिया