३० फाल्गुन २०८२, शनिबार | March 15, 2026

दसैँको मासु भित्र्याउँदै कुछिभ्वय् खाएर महाअष्टमी मनाउँदै नेवार समुदाय



भक्तपुर । मोहनी नखःको आज आठौँ दिन नेवार समुदायले विधिवत रुपमा दसूँको मासु भित्र्याएर ‘कुछीभ्वय’ खाई महाअष्टमी पर्व मनाउँदैछन् । बडादसैँलाई महनी नखाःका रुपमा मनाउने नेवार समुदायले महाअष्टमीको साँझ कुछीभ्वय खाएर पर्व मनाइन्छ ।

विशेष गरेर अष्टमीलाई कुछिभ्वय, नवमीलाई स्याक्वट्याक्व नखाः र दशमीलाई चाँलका रुपमा भवानीको प्रसाद ग्रहण र टीकासँगै नेवार समुदायले मोहनी नखाःमनाइन्छ ।

आश्विन शुक्ल प्रतिपदाको दिन नलाः स्वनेगु अर्थात् जमरा राखेर नेवार समुदायले मोहनी नखाःको सुरुआत गर्दछन् भने अष्टमीको दिन कुछिभ्वय खाँदै मोहनी नखाःको भोजको सुरुआत गर्दछन् । कुछिभ्वय खाएदेखि दशमीको दिन बिहान भवानीको प्रसाद ग्रहण नगरेसम्म भात खान नहुने प्रचलन रहेको छ ।

वर्षभरी मनाइने चाडपर्वमध्ये मोहनी नखाः सबैभन्दा महत्वपूर्ण र ठूलो चाड हो । मोहनी नखाः मनाउन घर परिवारदेखि टाढा परदेशमा नोकरी गर्ने, व्यापार व्यसाय गर्नेहरु घर आउने गर्दछ । त्यसैगरी छुटिएर भिन्न बसेका दाजुभाइहरु एउटै घरमा घरका ज्येष्ठ सदस्य भएको घरमा जम्मा भई मोहनी नखाः मनाउने गर्दछ ।

विभिन्न चाडपर्वलाई विशेष र मौलिक परम्पराका साथ मनाउन सिपालु नेवार समुदायमा अष्टमीको खाने कुछीभ्वयको विशेष महत्व रहेको छ । यसको परिकारसमेत अन्य भोजकोभन्दा भिन्न प्रकारको हुन्छ ।

कुछीभ्वय खान तरकारीका परिकारमात्रै १२ थरी चाहिन्छ भने छोयला १२ टुक्रा राखिन्छ । केराको पातमा दुई माना चिउरासँगै साग, आलु, छोयला, हिकासा (रक्ती), बारा, अण्डा, माछा, फर्सी, ख्यपीच्यपी (काँचो फर्सीका स–साना दुईथरी चाना), अदुवा, बोडी, केराऊ, मस्याङ, घिरौँला, भटमासलगायत परिकार राखेर कुछीभ्वय खाने प्रचलन रहेको संस्कृतिकर्मी हरिशरण राजोपाध्यले बताए । कुछीभ्वय्मा फलफूलमा अम्बा र केरा अनिर्वाय मानिन्छ ।

कुछिभ्वय खाने बेलामा माटोको सानो घैँटोमा जाँड अथवा रक्सी राखेर ‘थापिँचा स्वनेगु’ गर्ने प्रचलन रहेको राजोपाध्यले बताए । थापिँचा स्वने बेला माटोको सानो घैँटोलाई सलिँचाले घैँटोलाई छोप्ने र त्यसमाथि केराको पातमा राँगोको मासु एकटुक्रा राख्ने प्रचलन रहेको राजोपाध्यले बताए । यसरी थापिँचा स्वनेगु गर्दा राखेको जाँड र मासु नवमीको दिन प्रसादका रुपमा खाइन्छ । यो प्रसाद खाँदा पेटसम्बन्धी विकार हट्ने धार्मिक विश्वास रहेको छ ।

आफन्तको मृत्यु भएर जुठो परे पनि कुछीभ्वय खानुपर्ने मान्यता केही नेवार समुदायमा रहेको छ । जुठो परेको घरमा मासु खान नहुने भएकाले मासुको सट्टा अदुवा राख्ने र मासको बाराको सट्टा केराऊको बारा राख्ने प्रचलन रहेको छ ।

नेवार समसदायमा कुछिभ्वयका सन्दर्भमा दुई वटा भनाइ प्रचलनमा रहेको छ । एकथरी भनाइअनुसार कुछिको अर्थ ‘दुई माना’ हो भने भ्वयको अर्थ ‘भोज’ हो । दुई माना चिउरा राखेर खाने भएकाले यस भोजको नाम ‘कुछी भ्वय्’ रहन गएको एकथरीको भनाइ छ भने अर्कोथरी संस्कृतिकर्मीले कुलका सबै एक ठाउँमा भेला भएर खाने भोज भएकोले यसको नाम कुलछी भ्वय् हुन गएको र पछि अपभ्रंश भएर कुछीभ्वय हुन गएको भनाइ छ ।

महाअष्टीको अवसर पारेर नेवार समुदायले घरघरमा दसैँको मासु भित्र्याएका छन् । नेवार समुदायमा गुठी, टोल छिमेक मिलेर संयुक्त रुपमा राँगो काटेर भाग लगाउने र घरघरमा मासु भित्र्याउने प्रचलनअनुसार आज दसैँको मासु भित्र्याएको हो । मासु भित्र्याउँदा घरको मूलढोका अगाडि राखेर चोखो पानी छरेर तीनपटक दायाँबायाँ ढुटो, मासुको टुक्रा र रगत र्छकेर मन्छाएर मात्र घर भित्र्याउने प्रचलन रहेको छ । यो परम्परा घरको नकींबाट गर्ने चलन रहेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  ११ : २७ बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र