काठमाडौं । द्विदेशीय अन्तर्राष्ट्रिय टी-२० शृंखलाको पहिलो खेलमा नेपाली महिला क्रिकेट टोली मलेसियासँग तीन रनले पराजित भएको छ । बिहीबार मलेसियाको बेयुमास ओभल मैदानमा भएको रोमाञ्चक खेलमा अन्तिम ओभरसम्म प्रतिस्पर्धा गरे पनि नेपाल लक्ष्य भेटाउन असफल रह्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया महिला टोलीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १०४ रनको योगफल तयार गर्यो । मलेसियाका लागि कप्तान विनिफ्रेड दुराइसिंगमले २७ रन, ऐन्ना हमिजाह हाशिमले २६ रन र मस एलिसाले २५ रनको योगदान दिए ।
नेपालका लागि सोमु विष्टले २ विकेट लिइन् भने रुविना क्षेत्रीले एक विकेट हात पारिन् ।
जवाफमा १०५ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १०१ रनमा सीमित रह्यो । पूजा महतोले सर्वाधिक ३० रन बनाइन् । सम्झना खड्काले १८, कविता जोशीले १३ र कप्तान इन्दु वर्माले १२ रन जोडे ।
मलेसियाको जितमा नुर ड्यानिया स्युहादाले तीन विकेट तथा विनिफ्रेड दुराइसिंगम र ऐस्या एलिसाले दुई-दुई विकेट लिए ।


















प्रतिक्रिया