धनगढी । कैलालीको घोडाघोडी नगरपालिका-८ मा आपसी विवादका क्रममा एक युवकको विभत्स हत्या भएको छ । शुक्रबार राति खाजा खाने क्रममा विवाद भएपछि २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार सुर्खेतको चौकुने गाउँपालिका-३ घर भएका बुढाको हत्यामा संलग्न दुई जना युवकले घटनापछि राति नै प्रहरीमा आत्मसमर्पण गरेका छन् ।
घोडाघोडीकै १८ वर्षीय बलबहादुर बि.क. र १९ वर्षीय गंगा बुढा क्षेत्री धारिलो हतियारले रेटिएको टाउको बोकेर इलाका प्रहरी कार्यालय सुखड पुगेका थिए । प्रहरीका अनुसार उनीहरूलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
घटनापूर्व मृतक र अभियुक्तहरू स्थानीय खाजा पसलमा बसेर मदिरा सेवन गरिरहेका थिए । सोही क्रममा विवाद भएपछि उनीहरूले धारिलो हतियार प्रयोग गरी बुढाको घाँटी रेटेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
सुर्खेतबाट मृतकका आफन्तहरू घटनास्थलतर्फ आउँदै छन् भने हाल शव घटनास्थलमै रहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।


















प्रतिक्रिया