७ चैत्र २०८२, शनिबार | March 21, 2026

तिहारलाई झिनियाँ बेचेर मनग्य आम्दानी



तानसेन । हिन्दूहरूको दोस्रो ठूलो महानपर्व तिहार नजिकिएसँगै पाल्पाका बजारमा झिनियाँ बिक्री बढ्दो छ । तिहारमा दिदीबहीनीले दाजुभाइलाई उपहारस्वरुप झिनियाँ दिने गर्दछन् । जसका कारण यसको माग बढ्दो छ ।

यतिबेला यहाँका महिला उद्यमीलाई झिनियाँ बनाएर बेच्न भ्याइनभ्याई छ । तिहारमा अत्यावश्यक परिकारका रूपमा मानिएको झिनियाँ र चिनीसहितका विभिन्न रोटीका परिकार बनाएरै महिला उद्यमीले मनग्य आम्दानी गर्दै आएका छन् । झिनियाँसहित विभिन्न तयारी रोटी उत्पादन हुन थालेपछि घरमै बनाउने रोटीका परिकार पनि स्थानीयले खरिद गरेर लैजान थालेपछि घरेलु महिला उद्यमी व्यस्त भएका छन् ।

जिल्लाका तानसेन, निस्दीको गल्धा, रामपुर नगरपालिका, रम्भा, माथागढी, रिब्दीकोट, बगनासकालीलगायत पालिकाका महिला यतिबेला झिनियाँ बनाउन र बिक्री गर्नमै व्यस्त छन् । उनीहरूले यही रोटी बनाएर बिक्री गरी चाडपर्व मनाउने, घरखर्च चलाउने गर्दै आएका छन् । तानसेन नगरपालिका–३ टक्सारटोलका अधिकांश घरमा यतिबेला झिनियाँले सजिएका छन् । नेवारी समुदायमा बढी चलनचल्तीमा रहेका झिनियाँ रोटी तिहारका लागि तयारी अवस्थामा राखिएको छ । तानसेनका हरेक गल्ली, पसलपसलमा रङ्गीविरङ्गी झिनियाँ रोटी राखिएका छन् । एक हप्तादेखि पाल्पाका अधिकांश पसलमा झिनियाँ रोटीको व्यापार सुरु भएको छ ।

तानसेन टक्सार टोलकी झिनियाँ व्यवसायी निर्मया श्रेष्ठलाई अहिले झिनियाँ रोटीको व्यापारले भ्याइनभ्याई छ । उनले एक दशकदेखि व्यावसायिक रूपमा झिनियाँको व्यापार गर्दै आएकी छिन् । उनले बिहान–साँझको फुर्सदमा झिनियाँ बनाउँछिन्। दसैँ र तिहार राम्रो व्यापार हुने भएकाले झिनियाँबाट डेढ–दुई लाख रुपैयाँ आम्दानी भइरहेको उनी बताउँछिन्। सोही ठाउँकी नारायणीदेवी बज्राचार्यले पनि तीन दशकदेखि झिनियाँ बिक्री–वितरण गर्दैै आएकी छिन्। दसैँतिहारमा मात्र साढे तीनदेखि ६ लाख रुपैयाँको झिनियाँ बिक्री हुने उनको भनाइ छ । ब्रजाचार्यले बजारको कुनै समस्या नै नभएकाले उत्पादन गर्नसके राम्रो नै आम्दानी हुने बताइन।

बज्राचार्यले जस्तै टक्सार टोलका अन्य महिलाले पनि झिनियाँ बनाएरै राम्रो आम्दानी गर्दै आएका छन् । अधिकांश नेवारी बस्तीमा झिनियाँ रोटी बनाउने साना घरेलु उद्योग नै सञ्चालनमा छन् । तिहारमा दाजुभाइलाई टीका लगाइदिएपछि रोटीका रूपमा झिनियाँ तेलमा फुराएर सेलरोटी, फिनी रोटीसँगै खुवाउने चलन रहेकाले झिनियाँको व्यापार फस्टाउँदो छ ।

दसैँअघिदेखि नै झिनियाँ रोटी बनाउने र बिक्री गर्दै आएको रामपुर नगरपालिका–५ की लक्ष्मी श्रेष्ठले बताइन । उनले रोटी माग अत्यधिक रहेकाले बजारको कुनै समस्या नरहेको बताइन । “रोटीको माग पुर्याउनै नसक्ने अवस्था छ”, उनले भनिन, “धेरै स्थानबाट माग आउने गर्छ । तर सबैलाई पठाउन सक्दैनौँ ।” आफैँले उत्पादन गरेको नपुगेर अन्य महिलाले बनाएको खरिद गरेरसमेत पठाउने गरेको उनले सुनाइन ।

पाल्पाबाट उत्पादित झिनियाँ गुल्मी, स्याङ्जा, पर्वत, रुपन्देही, अर्घाखाँची, नवलपरासी, कपिलवस्तु, कास्की, तनहुँलगायत जिल्लामा ठूलो मात्रामा खपत हुँदै आएको झिनियाँ व्यवसायी बताउँछन् ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  १० : ०६ बजे

अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौँ । आज ६१औँ अन्तरराष्ट्रिय जातिय विभेद उन्मूलन दिवस ‘समान

बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौँ । काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजी फ्रन्टकी संयोजक रक्षा बमको माग

काठमाडौं । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आन्दोलनका क्रममा

सिद्धबाबा क्षेत्रमा पहिरो, सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा लेदोसहित ढुङ्गा

निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

काठमाडौं । चीन सरकारले नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकामा