काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार जेनजी आन्दोलनको मूल भावना र मर्मअनुसार नै अघि बढ्ने प्रतिबद्धता जनाएकी छन्।
मंगलबार बालुवाटारमा जेनजी आन्दोलनका क्रममा घाइते भएका प्रतिनिधिसँगको छलफलमा उनले सरकार कानुनी प्रक्रिया र संवैधानिक दायराभित्र रही काम गर्ने बताइन्।
प्रधानमन्त्री कार्कीले आन्दोलनले दिएको ‘म्यान्डेट’अनुसार सरकार सञ्चालन हुने र तोकिएको समयमा नै निर्वाचन सम्पन्न गरिने स्पष्ट पारिन्।
उनका अनुसार राज्यका सम्बन्धित निकायहरूले तीव्र गतिमा भ्रष्टाचार अनुसन्धान अगाडि बढाइरहेका छन्। “भ्रष्टाचारको छानबिन र कारबाही दुवै प्रक्रियामा सरकार गम्भीर छ,” प्रधानमन्त्रीले भनिन्।
छलफलका क्रममा जेनजी आन्दोलनका घाइतेहरूले भ्रष्टाचारी र दमनकारीविरुद्ध कठोर कदम चाल्न सरकारलाई सुझाव दिए। उनीहरूले चेतावनी दिँदै भने, “यदि भ्रष्टाचारीमाथि कारबाही भएन भने हामी फेरि सडकमा उत्रनेछौं।”
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आन्दोलनपछि अघिल्लो सरकार र प्रतिनिधिसभा विस्थापित भए पनि पुरानै प्रशासनिक संरचना यथावत् रहँदा काम गर्न चुनौतीपूर्ण भएको बताए।
गृहमन्त्री ओमप्रकाश अर्यालले आन्दोलनका क्रममा भएको दमन र भ्रष्टाचारबारे भइरहेको छानबिनको प्रगति सहभागीहरूलाई अवगत गराए।
जेनजी आन्दोलनका क्रममा घाइते भएका रुपिन खड्काको नेतृत्वमा १८ जनाको टोलीले प्रधानमन्त्रीसँग उक्त छलफल गरेको हो।


















प्रतिक्रिया