काठमाडौं । नेपालले आज भारतको सिलोङस्थित जवाहरलाल नेहरु रंगशालामा इरानविरुद्ध त्रिदेशीय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछ । नेपाली समयअनुसार खेल बेलुकी ६ः१५ बजे सुरु हुनेछ ।
कप्तान सावित्रा भण्डारीका अनुसार टिम मानसिक र शारीरिक रूपमा दुवै दृष्टिले खेलका लागि पूर्ण रूपमा तयार छ । उनले भनिन्, “नेपाल इरानविरुद्ध खेल्न तयार छ । यहाँ आइसकेपछि हामीले मैदानको अवलोकन पनि गरिसकेका छौँ । सबै खेलाडी आत्मविश्वासका साथ मैदानमा उत्रिनेछौं ।”
मुख्य प्रशिक्षक नवीन न्यौपानेको नेतृत्वमा २३ सदस्यीय नेपाली टोली बुधबार भारत पुगेको थियो ।
यसअघि प्रतियोगिताको उद्घाटन खेलमा इरानले घरेलु टिम भारतलाई २-० ले पराजित गरेको थियो । त्यसैले इरान आजको खेलमा आफ्नो अपराजित यात्रा कायम राख्ने प्रयासमा हुनेछ भने नेपाल प्रतियोगितामा उत्कृष्ट सुरुवात गर्ने लक्ष्यमा छ ।
बिहीबार प्रतियोगिताको ट्रफी अनावरण गरिएको थियो । त्रिदेशीय मैत्रीपूर्ण प्रतियोगितामा सहभागी तीनवटै टिमले दुई-दुई खेल खेल्ने छन् । अंक तालिकामा शीर्ष स्थानमा रहने टिम विजेता घोषित गरिनेछ ।


















प्रतिक्रिया