४ चैत्र २०८२, बुधबार | March 18, 2026

क्षतिग्रस्त सिंहदरबारका भवनमा रङरोगन, जलेका रुखहरुले हाल्दैछन् पालुवा



काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा आगलागी हुँदा जलेका भवन र क्षतिग्रस्त संरचनाहरुको क्रमिकरुपमा सरसफाइ भइरहेको छ । परिसरका जलेका रुखहरुले पनि पालुवा हाल्न थालेससँगै सिंहदरबारको वातावरण क्रमशः सामान्यीकरण हुँदै गएको छ ।

आन्दोलनकै क्रममा भएको आगजनी र तोडफोडका कारण बिद्रुप बनेको सिंहदरबारमा विकास मन्त्रालयमातहतको सङ्घीय सचिवालय तथा व्यवस्थापन कार्यालयले सरसफाइपछि अहिले उक्त दिनको घटनाले झस्काउने खालको अवस्थाबाट क्रमशः सहज अवस्थमा उन्मुख भएको देखिएको छ ।

नेपाल सरकारको २०७५ पुस १८ गतेको मन्त्रिपरिषद्को निर्णयबाट बुटिक सिंहदरबारमा रुपमा रुपान्तरित सिंहदरबार परिसरमा भदौ २४ गतेको आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएपछि त्यहाँ सरसफाइको क्रम जारी छ । सहरी विकास मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनालीले आगलागी र तोडफोडबाट भएका क्षतिको विवरण सम्बन्धित मन्त्रालयबाट माग गरिएको र अहिलेसम्म प्राप्त नभएको बताए । उनले क्षतिको विवरण आएपछि पुनः निर्माणलगायतका विषयमा सरकारले निर्णय गर्ने जानकारी दिए ।

आन्दोलनका क्रममा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित अधिकांश संरचना र पार्किङमा रहेका सवारीसाधनमा एकैसाथ आगलागी भएको थियो । आगलागीबाट कार्यालय परिसरका रुख बिरुवामा डढ्न पुगेकामा अहिले क्रमशः पालुवा पलाउन थालेको देखिएको छ ।

वन तथा वातावरण मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले सिंहदरबारभित्र कति रुख बिरुवा छन् भन्ने यकिन नभए पनि आगलागीबाट प्रभावित रुखबिरुवा र भूइँको फोहर सरसफाइको क्रम लगभग सकिएको बताए । आन्दोलनका क्रममा सिंहदरबारमा रहेका सरकारी र निजी गरी एक हजारभन्दा सवारीसाधन जलेका थिए । ती सवारी साधनलाई नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्र (सङ्घीय संसद् भवन) मा लगेर राखिएको छ । यद्यपि, त्यो भवनमा पनि आन्दोलनबाट पूर्णतः ध्वस्त भएको छ ।

सिंहदरबारस्थित सङ्घीय निर्माणाधीन संसद् भवनमा शनिबार सहरी विकासमन्त्री कुलमान घिसिङले निरीक्षण गरी आसपासमा देखिएको फोहरलाई थप सरसफाइ गर्न निर्देशन दिएका थिए । सवारीसाधन जलेका भूइँमा अहिले पनि काला दाग देख्न सकिन्छ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पालले छापेर राखिएको छ । सरकारले आन्दोलनका क्रममा भएका भौतिक क्षतिको विवरण सङ्कलन गर्दैछ भने आन्दोलनमा भएका जनधनको क्षतिको छानबिनका लागि गठित जाँचबुझ आयोगले कार्यारम्भ गरिसकेको छ ।

पुरातात्विक महत्व राख्ने सिंहदरबारलाई हरियाली बनाउने र पुरातात्विक महत्वका सामग्रीले सजिसजाउ गर्ने सरकारको २०७६ सालदेखिको पहलको एउटा चक्र पूरा भएका बेला आन्दोलन र आगलागीबाट क्षति पुगेपछि सिंहदरबारकोस्वरुप विरुप हुन पुगेको छ ।

सरकारले आगलागी भएका मन्त्रालयका भवनको बाहिरी स्वरुपमा रङरोगन गरिरहेको छ भने अस्थायीरुपमा विभिन्न मन्त्रालयका काम नजलेका भवनबाट सञ्चालन गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गृह मन्त्रालयको पुरानो भवनस्थलको नयाँ कार्यालयबाट सञ्चालन भएको छ भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगैको भवनबाट गृह मन्त्रालय सञ्चालित छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय केशरमहलस्थित भवनबाट सञ्चालित छ ।

तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासका रूपमा सन् १९०३ मा सिंहदरबार बनाउन लगाएका थिए । राणा शासनको अन्त्य भएपछि सिंहदरबारमा नेपाल सरकारको कार्यालय थालिएको थियो । विसं २०३० मा सिंहदरबारमा भएको ठूलो आगलागीबाट पनि त्यहाँ क्षति पुगेको थियो ।सिंहदरबारको यो भवन युरोपेली शैलीमा बनेको छ । यसको भित्ताहरूमा शिकार गरिएका जनावर तथा युरोपेली शैलीका चित्रकलाहरूले सजाइएका थिए ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ६ : २४ बजे

राजनीतिक दललाई जनताले ३६ वर्ष कुरे, हामीलाई ३६ महिना पनि कुर्दैनन् : सभापति लामिछाने

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

खोटाङ हेलिकोप्टर दुर्घटनाका पाइलटसहित सबै यात्रु सकुशल : एयर डाइनेस्टी

काठमाडौं । एयर डाइनेस्टी हेली सर्भिसेज प्रा।लि।ले खोटाङमा बुधबार भएको

सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा

काठमाडौं । काठमाडौं महानगरपालिकाबाट करिब आठ वर्षको अवधिमा दुई हजार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्ने

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। आगामी

देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन रास्वपा सांसदहरूलाई रविको निर्देशन

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनमा