१६ भदौ २०८३, मंगलबार | September 1, 2026

सूर्योदय र सूर्यास्त सहित हिमशृङ्खलाको दृश्यावलोकन गर्न पुनहिल पुग्ने कि !



म्याग्दी । सूर्योदय, सूर्यास्त, गुर्जा हिमालदेखि धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे निलगिरिलगायतका हिमशृङ्खलाको दृश्यावलोकनका लागि यहाँस्थित पुनहिल पछिल्लो समय पर्यटकीय आकर्षक स्थल बनेको छ । अन्नपूर्ण गाउँपालिका वडा ६ स्थित घोडेपानी पुनहिल क्षेत्रको भ्रमणका लागि असोज, कात्तिक, फागुन, चैत र वैशाख महिना उपयुक्त समय हो ।

यस क्षेत्रमा वार्षिक ३० हजारको हाराहारीमा पर्यटक भित्रिने गरेका पर्यटक प्रहरी चौकी घोडेपानीको तथ्याङ्क छ । प्रवेश शूल्क सङ्कलन र चिया पसल सञ्चालनको ठेक्का पाएका व्यवसायी सुदीप पुर्जा पुनले यसपालि मौसम र राजनीतिक अवस्था प्रतिकूल हुँदा अपेक्षाकृत सङ्ख्यामा पर्यटक नआएका बताए ।

यसअघिका वर्षका शरदयाममा दैनिक चार सय जनाको अनुपातमा पर्यटक आएका थिए । घोडेपानीमा बास बसेका पर्यटक एकाबिहानै करिब ४० मिनेट उकालो पैदलयात्रा गरेर सूर्योदय र हिमशृङ्खलाको अवलोकनका लागि पुनहिल पुग्ने गर्छन् । घोडेपानीमा हाल दैनिक एक हजार जनाभन्दा बढी बास बस्न सक्ने क्षमताको २३ सुविधासम्पन्न होटल छन् । त्यसैगरी, कास्कीको घान्द्रुक, म्याग्दीको भुरुङ तातोपानी र मोहरेडाँडा भएर घोडेपानी-पुनहिल पुग्न सकिन्छ । कास्कीको वीरेठाँटी-उलेरी-घोडेपानी, नयाँपुल-घान्द्रुक-घोडेपानी, म्याग्दीको नागी-महरे-फूलबारी-घोडेपानी र तातोपानी-घार-शिख हुँदै घोडेपानी पुग्न सकिनेगरी पदमार्ग सञ्चालनमा छन् ।

अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर हुँदै घार, शिख हुँदै सडकको प्रयोग गरेर घोडेपानी पुग्न सकिन्छ । सङ्घीय र प्रदेश सरकारसँग सहकार्य गरेर पोखरेबगरदेखि घोडेपानी जोड्ने सडकलाई स्तरोन्नतिलाई निरन्तरताका साथै र कास्कीको नयाँपुल हुँदै घोडेपानी जोड्ने सडकको मार्ग खोलिएको अन्नपूर्ण-६ का वडाध्यक्ष रामबहादुर खड्काले बताए । “पुनहिलको ठेक्काबाट हुने आम्दानीको केही हिस्सा सोही क्षेत्रको पर्यटन पूर्वाधार विकासमा लगानी गरिरहेका छौँ”, उनले भने, “पदयात्रा गर्न रुचाउने विदेशी पर्यटक र सवारीसाधनको सुविधा खोज्ने नेपाली दुवैथरि पर्यटकलाई भित्र्याउन प्रयास गरेका छौँ ।”

यसैबीच अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा वडा नं ६ मा रहेको पर्यटकीयस्थल पुनहिलबाट करिब रु ४६ लाख आम्दानी गरेको छ । पुनहिल भ्रमणमा आउने पर्यटकबाट प्रवेश शुल्क सङ्कलन र चिया पसल सञ्चालनका लागि रु ४५ लाख ९० हजारमा ठेक्का सम्झौता भएको हो ।

ठेक्का प्रतिस्पर्धामा सबैभन्दा बढी कबोल गरेको होटल शिखर प्रालिले अग्रिम रकम जम्मा गरेर नियमानुसार १० प्रतिशत छुट पाएको गाउँपालिकाका सूचना अधिकारी भगवती खड्काले बताए । गत वर्ष रु ४० लाख आम्दानी भएको थियो । समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिल भ्रमण गर्ने विदेशी पर्यटकबाट प्रतिव्यक्ति रु एक सय ५० र स्वदेशीबाट प्रतिव्यक्ति रु ५० का दरले प्रवेशशुल्क सङ्कलन तथा चिया पसल सञ्चालन गर्न गाउँपालिकाले ठेक्का लगाउँदै आएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ८ : ०१ बजे

काठमाडौं र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण

काठमाडौं । भोटेकोशी नदीमा यही भदौ १० गते बाढी गएपछि

भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौं । विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य

रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ चिमखोलाका किसानले व्यावसायिक चौँरीपालन सुरु

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

मुस्ताङ । जिल्लाको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट