२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका आठदलबीच आज पार्टी एकता घोषणा हुँदै



काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका आठ वामपन्थी दलहरूबीच आज पार्टी एकताको घोषणा हुँदैछ।

राजधानकीको भृकुटीमण्डपमा दिउँसो १ बजे विशेष कार्यक्रममार्फत ‘वाम एकता घोषणा सभा’ आयोजना गरिएको छ। सो सभालाई प्रचण्ड, माधव नेपालसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।

एकता घोषणा सम्पन्न भएलगत्तै नयाँ पार्टीलाई निर्वाचन आयोगमा दर्ता गरिने तयारी गरिएको छ। यस अवसरमा ‘एकता राष्ट्रिय सम्मेलन’ मार्फत पार्टी एकता घोषणा, घोषणापत्र र विधान पारित गर्ने तथा नयाँ केन्द्रीय समिति गठन गर्ने योजना छ।

नवगठित पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ राखिने र पाँच कुने तारा चुनाव चिह्नका रूपमा चयन गरिएको छ। सहभागी वाम घटकहरूले अबको छ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने सहमति समेत गरेका छन्। शीर्ष नेताहरुले जारी गरेको घोषणापत्रमा पार्टी स्थापनाको उद्देश्य, मूल सिद्धान्त, नीति तथा प्रतिबद्धता समेटिएको छ।

एकीकृत पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुनेछन् भने सह–संयोजकमा माधवकुमार नेपाल रहने छन्। ६ महिनाभित्र एकता महाधिवेशन आयोजना गरेर नेतृत्वमा युवा पुस्ताको व्यापक सहभागिता बनाउने प्रतिवद्धता जनाइएको छ ।

नयाँ पार्टीले मार्क्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा अंगीकार गर्ने र नेपाली विशेषतामा आधारित वैज्ञानिक समाजवादलाई आफ्नो दीर्घकालीन लक्ष्य बनाउने घोषणा गरेको छ। तत्कालीन कार्यदिशा भने पुँजीवादी जनवादी उपलब्धिहरूको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय र समृद्धि कायम गर्दै समाजवादको आधार तयार गर्नु रहेको छ। आन्दोलनको स्वरूप मुख्यतः शान्तिपूर्ण हुने र आवश्यकताअनुसार सडक, सदन र सरकार सबै मोर्चामा सक्रिय हुने भनिएको छ।

यो एकता प्रक्रियामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनता समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी) लगायतका घटकहरू सहभागी छन्।

माओवादी केन्द्रको मंगलबार बसेको महाधिवेशन आयोजक समितिको बैठकले पनि यस एकता निर्णयलाई औपचारिक स्वीकृति दिइसकेको छ । यसअघि एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले पार्टी एकताको निर्णयलाई अनुमोदन गरेको थियो ।

यसअघि आइतबार माओवादी केन्द्र र एकीकृत समाजवादीसहित आठ वाम घटकले एकता सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका थिए। त्यसपछि गोपाल किराँती नेतृत्वको देशभक्त समाजवादी मोर्चा पनि एकता प्रक्रियामा सहभागी भएको हो।

पार्टीको मूलधारबीच एकता प्रक्रिया अघि बढेपनि माओवादी केन्द्र र एकीकृत समाजवादीमा भने विभाजन भएको छ । माओवादीका जनार्दन शर्मा, राम कार्की, अन्जना विशंखे लगायतका नेताहरू र एकीकृत समाजवादीका झलनाथ खनाल, घनश्याम भुसाल, रामकुमारी झाँक्रीहरूले असहमति जनाउँदै एकता प्रक्रियामा सहभागी नहुने घोषणा गरेका छन्।

जनार्दन शर्माको समूहले ‘प्रगतिशील एकता अभियान’ घोषणा गरिसकेको छ । एकीकृत समाजवादीमा झाँक्रीसहितका असन्तुष्ट नेताहरू एमालेमा फर्किने तयारीमा छन् । झलनाथ खनालले गएराति एमाले अध्यक्ष केपी ओलीसँग छलफल गरेका छन् । घनश्याम भुसालहरुको समुह भने अझै पनि छलफलमा छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ९ : २१ बजे

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

भोजपुर । वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन-जङ्गल यतिबेला

बेनीमा ‘वडा पर्यटन परियोजना’

म्याग्दी । बेनी नगरपालिकाले ‘वडा पर्यटन परियोजना’ सञ्चालन गरेको छ

चार महिनापछि खुल्यो लहान नगरपालिकाको बैंक खाता

सिरहा । विगत चार महिनादेखि रोक्का रहेको लहान नगरपालिकाको बैंक

पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा धमाधम काम

गण्डकी । आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा-मुग्लिन सडकको पश्चिम

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

नुवाकोट । सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले