१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

जेष्ठ पूर्णिमाको दिनलाई राष्ट्रिय सङ्गीत दिवस घोषणा गर्दै ललितपुर महानगर



ललितपुर । ललितपुर महानगरले जेष्ठ पूर्णिमाको दिनलाई राष्ट्रिय सङ्गीत दिवसको रूपमा घोषणाका लागि आवश्यक पहल गर्ने भएको छ ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा संस्कृतिक सङ्गठन (युनेस्को) ले ललितपुर महानगरपालिकालाई ‘सङ्गीतको सिर्जनात्मक सहर’ घोषणा गरेको सन्दर्भमा ललितपुर महानगरपालिकाले पाटन संग्रहालयमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा महानगर प्रमुख चिरीबाबु महर्जनले सङ्गीतको क्षेत्रमा आफ्ना क्रियाकलापलाई अघि बढाउन राष्ट्रिय सङ्गीत दिवस घोषणालगायत आगामी चार वर्षका निमित्त विभिन्न कार्य योजना सार्वजनिक गरेका हुन् ।

युनेस्कोबाट सङ्गीत विधामा सदस्यता प्राप्त गरेसँगै ललितपुर महानगरपालिकाले सङ्गीतको क्षेत्रका क्रियाकलापलाई अघि बढाउन अनुसन्धानकर्ता र स्थानीय सङ्गीतकर्मीबीच छलफल र सहकार्य गरी सङ्गीतको माध्यमबाट आर्थिक उपार्जनको बाटो पहिल्याउने, स्थानीय परम्परागत र परम्परागत सङ्गीतका साथै र समकालीन सङ्गीतको सीपलाई विद्यालय तहसम्म पुर्‍याउन विद्वत वर्ग र विद्यालयहरूसँग सहकार्य गर्ने कार्यक्रम अगाडि बढाएको हो ।

विद्यालयमा सङ्गीत शिक्षकको व्यवस्था गर्ने, शिक्षकहरूलाई तालिम प्रदान गर्ने र विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्ने, स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्गीतज्ञ तथा अनुसन्धानकर्ताहरूका लागि उपयोगी हुने स्थानीय सङ्गीत परम्परा तथा विभिन्न बाजागाजाहरू समेतलाई अभिलेखिकरण गरी श्रोत केन्द्र सञ्चालन गर्ने योजना महानगरको छ ।

परम्परागत बाजाहरूको संरक्षण तथा सम्बद्र्धनका निमित्त परम्परागत बाजा बनाउने र बजाउन सीपको जगेर्ना गर्न आवश्यक तालिमको व्यवस्था गरी यसलाई पेशाको रूपमा स्थापित गर्दै मर्यादित बनाउने एवं परम्परागत वाद्यगुरुहरूलाई रोजगारीको अवसर सिर्जना गर्नेलगायतका कार्यक्रमहरू तय गरिएको छ ।

महानगरले नीति निर्माण तथा पहलकदमीअन्तर्गत सङ्गीतलाई उद्योगको रूपमा स्थापित गर्न पहल गर्ने, जेष्ठ पूर्णिमाको दिनलाई राष्ट्रिय सङ्गीत दिवसको रूपमा घोषणाका लागि आवश्यक पहल गर्ने, स्थानीय सार्वजनिक स्थलहरूलाई सवारी रहित बनाई खुल्ला साङ्गितिक कार्यक्रमहरू आयोजना गर्नका लागि पूर्वाधार तयार पार्ने यजना बनाएको छ ।

ललितपुर सिर्जना कला केन्द्रको सञ्चालनका निमित्त ललितपुर महानगरपालिकाका प्रमुखको अध्यक्षतामा ललितपुर महानगरपालिका भित्रका विभिन्न सङ्गीत तथा अन्य सिर्जनात्मक विधासँग सम्बन्धित सङ्घसंस्थाहरूको समेत प्रतिनिधित्व रहने गरी १५ सदस्यीय सञ्चालक समिति बनाउने तयारी महानगरले गरेको प्रमुख महर्जनले जानकारी गराए ।

युनेस्कोको अन्य सङ्गीत सहरहरूसँगको सहकार्य तथा सहभागितामा वार्षिक रूपमा सङ्गीत महोत्सवको आयोजना गर्ने, परम्परागत तथा समकालीन सङ्गीतमा युवाहरूलाई संलग्न गराउन प्रत्येक वडामा युवा केन्द्रको स्थापना गर्ने, सङ्गीतको अनुसन्धानका लागि विज्ञहरूको टोली गठन गर्ने, परम्परागत डबली तथा सार्वजनिक प्रदर्शन स्थलहरूको स्तरोन्नति गर्ने, सामाजिक तथा वातावरणीय समस्याहरूको निराकरणका निमित्त छलफलको आयोजना गर्नेलगायतका कार्यलाई महानगरले प्राथमिकतामा राखेको जानकारी दिइएको छ ।

महानगर प्रमुख महर्जनले भने, “युनेस्कोबाट सङ्गीतको सहरको रूपमा घोषणा पश्चात परम्परागत, समकालीन तथा आधुनिक सङ्गीतको जगेर्ना गर्दै यस क्षेत्रमा विशेषतः युवालाई प्राथमिकताका साथ सहभागी गराई सङ्गीतलाई रोजगारी सिर्जनाको माध्यम बनाइनेछ । सङ्गीतको माध्यमबाट महानगरको छवि र परिचयलाई राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरमा थप उचो बनाउन सम्पूर्ण नगरबासी र सङ्गीत क्षेत्रमा लाग्नुभएका सङ्गीत साधक र सङ्गीतप्रेमीको साथ, सहयोग र शुभेच्छा निरन्तर प्राप्त हुनेमा हामी विश्वस्त छौँ ।”

संस्कृति तथा सिर्जजनशीलतालाई दिगो विकासको वाहकको रूपमा अङ्गिकार गरेका सहरहरूलाई एकै थलोमा ल्याई राष्ट्रिय तथा अन्तरराष्ट्रिय लक्ष्य प्राप्तिमा सहयोग पुर्‍याउने हेतुले सन् २००४ देखि युनेस्कोले “युनेस्को सिर्जनात्मक शहरहरूको सञ्जाल” को सुरुवात गरेको हो ।

युनेस्को सिर्जनात्मक सहरहरूको सञ्जाल अन्तर्गत हस्तकला तथा लोक कला, डिजाइन, फिल्म, खानपान, साहित्य, मिडिया कला, सङ्गीत र वास्तुकला गरी आठवटा विधाहरूमध्ये जुनसुकै विधामा सञ्जालको सदस्यताको लागि कुनै पनि सहरले विधिवत रूपमा प्रस्ताव पेश गर्न सक्नेछन् । यस वर्ष प्रदान गरिएको सदस्यता समेत गरी हालसम्म संसारका १०० भन्दा बढी मुलुकका ४०८ वटा सहरहरूले विभिन्न विधाहरूमा यस सञ्जालको सदस्यता प्राप्त गरिसकेका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहिबार  ११ : २९ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा