काठमाडौं । विश्वकप छनोट र यूएईमा वेस्ट इन्डिजविरुद्धको सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । ओमानबाट फर्किएको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र क्रिकेट संघ नेपाल (क्यान) का सचिव पारस खड्काले स्वागत गरे ।
नेपालले यूएईमा वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक सिरिज जित्दै महत्वपूर्ण उपलब्धि हासिल गरेको थियो । त्यसअघि ओमानमा सम्पन्न टी-२० विश्वकप छनोटमा पनि नेपालले उपाधि हात पारेको थियो । तर, यूएईमा सम्पन्न आईसीसी विश्वकप लिग-२ का खेलहरूमा भने टोलीले अपेक्षित प्रदर्शन गर्न सकेन ।
लामो समय विदेशमा खेल खेलेर फर्किएको राष्ट्रिय टोली अब घरेलु क्रिकेटमा केन्द्रित हुने तयारीमा छ । नेपाल प्रिमियर लिग (एनपीएल) आगामी मंसिर १ गतेबाट सुरु हुँदैछ, जसमा राष्ट्रिय टोलीका अधिकांश खेलाडी सहभागी हुनेछन् ।


















प्रतिक्रिया