काठमाडौं । काठमाडौं महानगरपालिकाले लैनचौरस्थित नेपाल स्काउटको जग्गामा बनेका पूर्व ऊर्जामन्त्री दीपक खड्काका संरचनामा डोजर चलाएको छ । बुधबार बिहान महानगर प्रहरी टोली डोजरसहित पुगेर ती संरचनाहरू भत्काएको हो ।
नेपाली कांग्रेसका नेता खड्काले नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको नाममा रहेको जग्गा भाडामा लिएर लामो समयदेखि प्रयोग गर्दै आएका थिए । तर, उनले भाडा नतिरेको भन्दै स्काउटले उक्त जग्गा खाली गर्न माग गर्दै कार्तिक २० गते सूचना जारी गरेको थियो ।
सो सूचनामा सात दिनभित्र भाडा चुक्ता गर्न वा जग्गा फिर्ता गर्न भनिएको थियो । उक्त म्याद आज सकिएपछि काठमाडौं महानगरपालिकाले बल प्रयोग गर्दै निर्माण संरचना भत्काएको हो ।
नेपाल स्काउटले समयमै भाडा नतिरेको खड्कामाथि कानुनी कारबाही गर्ने चेतावनीसमेत दिएको छ । स्काउटले आफ्नो जग्गामा निर्माण भएका सम्पूर्ण भवन र सामग्री जफत गरी भाडा असुल गर्ने वा आवश्यक परे खड्काको सम्पत्तिबाट पनि असुल उपर गर्ने जनाएको छ ।
महानगरका अधिकारीहरूले भने यो कारबाही सरकारी जग्गाको दुरुपयोग रोक्ने उद्देश्यले गरिएको बताए ।


















प्रतिक्रिया