बुटवल । नेकपा एमालेले आगामी शनिबार देशभरका जिल्लाहरूमा जनसभा गर्दै छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि गठित सरकारले गरेको प्रतिनिधिसभा विघटनप्रति एमालेले विरोध गर्दै आएको छ । सोही क्रममा विघटित प्रतिनिधिसभा पुनः स्थापनाको माग गर्दै एमालेले देशका सबै जिल्लाहरूमा शनिबार जनसभा र प्रदर्शन आयोजना गरेको हो ।
रुपन्देहीमा पनि शनिबार बुटवलमा जनसभा हुँदै छ । नेकपा एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख मीन प्रसाद पौडेलले प्रतिनिधिसभा विघटन विरुद्ध रुपन्देहीमा पनि जनसभा आयोजना गरिएको बताए । पौडेलले शनिवारको जनसभा र प्रदर्शन लोकतन्त्रको पक्षमा र प्रतिगामी षडयन्त्रका विरुद्धमा आयोजना गरिएकोले सबैलाई सहभागी हुन आग्रह गरे ।
जनसभाअघि युवाहरूले बुटवल राजमार्ग चौराहाबाट ट्राफिक चोक सम्म मार्च पास गर्ने छन् । युवाहरूको मार्च पास पछि प्रदर्शन जनसभामा परिणत हुने छ ।
प्रचार विभाग प्रमुख पौडेलका अनुसार एमालेले यस पटकको प्रदर्शनलाई जागरण अभियानको रूपमा अघि बढाएको हो ।
एमालेले प्रतिनिधि सभा विघटनविरुद्ध देशैभरि जनपरिचालन गर्ने निर्णय गरेको थियो ।
सोही अनुसार गत २२ गते देशभरका वडा तथा २५ गते पालिकाहरूमा भेला र जनप्रदर्शन सम्पन्न गरिसकेको छ । शनिवार सबै जिल्लाहरूमा प्रदर्शनपछि मङ्सिर ६ गते काठमाडौंमा जनप्रदर्शन गर्ने एमालेले तयारी गरेको छ ।


















प्रतिक्रिया