२० माघ २०८२, मंगलबार | February 3, 2026

थारू महिलाको पौरख : नेपालगञ्जलाई अर्ग्यानिक स्वाद



राँझा । नेपालगञ्ज सहरको व्यस्तता र आयातित तरकारीको भीडमा बाँके र बर्दियाका ग्रामीण भेगका थारू महिलाले उत्पादन गरेको अर्ग्यानिक तरकारी फरक पहिचान र स्वाद बोकेर आएको छ ।

थारू महिलाको मिहिनेतले उत्पादन भएको यो ताजा उपजले अहिले नेपालगञ्जवासीलाई मात्रै लोभ्याएको छैन, महिला सशक्तीकरण र आत्मनिर्भरताको सुन्दर उदाहरण पनि प्रस्तुत गरेको छ । प्रत्येक दिन बिहानीपख नेपालगञ्जको धम्बोझी चोक क्षेत्रमा थारू महिलाहरूको एउटा मिनीबजार नै लाग्ने गर्छ ।

विषादीरहित र ताजा तरकारीको खोजीमा रहेका उपभोक्ताको यहाँ लर्को लाग्ने गर्दछ । नेपालगञ्ज उपमहानगरपालिका-२ निवासी सुनीलसिंह हमाल विगत तीन वर्षदेखि आफ्नो भान्सामा यही गाउँको अर्ग्यानिक तरकारी पाक्ने गरेको अनुभव सुनाउँछन् । उनका अनुसार यो कार्य आर्थिक कारोबारमात्र नभइ थारू महिलाको सेवाभाव पनि हो ।

मौसमअनुसार महिलाहरूले बिक्री गर्ने तरकारीमा बोडी, फर्सी, लौका, घिरौला, तीतेकरेलो, तोरी र भाजीको साग, काँक्रालगायत उपज प्रमुख छन् । यसबाहेक उनीहरूले अरहर र मसुराको दाल पनि बिक्री गर्ने गरेका छन् ।

ग्रामीण क्षेत्रका थारू महिलाका लागि यो कृषि पेसा केवल जीविकोपार्जनको साधनमात्र नभई स्वावलम्बनको आधार बनेको छ । बाँकेको बैजनाथ गाउँपालिका नौबस्तामा घरवरिपरि तरकारीखेती गरिरहेकी वसन्ती थारू परिवारको जीविकोपार्जन तरकारी बिक्रीबाटै चलेको छ । तरकारीको माग बढेपछि बाँके र बर्दियाका ग्रामीण भेगका थारू महिलाले आफैँले उत्पादन गरेर बजारमा पुर्याउन थालेका छन् ।

बर्दिया बढैयाताल गाउँपालिका-३ की महिला वडासदस्य दुसानी थारू त जनप्रतिनिधि भएर पनि दैनिक बर्दियाबाट नेपालगञ्ज अग्र्यानिक तरकारी ल्याएर बिक्री गर्छिन् । उनी विगत १० वर्षदेखि कृषि पेसामा संलग्न छन्। उनको भनाइमा पहिले साइकलमा राखेर चोकचोकमा पुर्याउनुपर्ने तरकारी अहिले धम्बोझीमा सहजै बिक्री हुन्छ । विभिन्न किसिमका तरकारी बिक्री गरेर मासिक १५ देखि २० हजारसम्म आम्दानी गर्न उनी सफल भएक छन् ।

बर्दिया राजापुरकी श्यामकली थारू तरकारी बेचेर घरखर्च जुटाउन सहज भएको बताउँछिन्। गाउँबाट ल्याएको तरकारी तत्काल बिक्री भई राम्रो आम्दानी हुन थालेपछि यो पेसातर्फ अधिकांश थारू महिला आकर्षित भइरहेका छन् ।

नेपालगञ्जको धम्बोझी क्षेत्रमा तरकारी बिक्री गर्ने थारू महिलाले भारतीय बजार रूपैडिहाको तरकारी बिक्रेताले पनि सँगै राखेर बिक्री गर्दा आफूहरूलाई समस्या भएको गुनासो गरेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले थारू महिलाहरूको यो मिहिनेत र अर्ग्यानिक तरकारी उपलब्ध गराउने कार्य सराहनीय रहेको बताए। उनले उनीहरूले उत्पादन गरेको तरकारी व्यवस्थित रूपमा बिक्री वितरणको व्यवस्था गराउन उपमहानगरपालिकाले आवश्यक पहल गरिरहेको जानकारी दिए ।

बाँके र बर्दियाका थारू महिलाहरूले आफ्नो पौरखबाट सहरलाई स्वस्थ तरकारीको उपलब्धतामात्र गराएका छैनन्, बरु स्थानीय उत्पादन, महिला नेतृत्व र दिगो कृषि प्रणालीको महत्वलाई पनि उजागर गरेका छन् । उनीहरूको यो अभियानले नेपालगञ्जको बजारमा गाउँको स्वाद र पौरखलाई पुनःस्थापित गरिरहेको प्रवक्ता रिजालको भनाइ छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ८ : ०७ बजे

लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले भोली बुधबार प्रदेशभर सार्वजनिक बिदा

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

बागलुङ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा

गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै)

निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि