१० भदौ २०८३, बुधबार | August 26, 2026

म्याग्दीको अन्नपूर्णमा टोल टोलमा पुगेर स्वास्थ्य परीक्षण



म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले टोल टोलमा पुगेर सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाएको छ । स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइ नभएको टोलमा पुगेर रोग पहिचानका लागि स्वास्थ्यकर्मीहरूले स्वास्थ्य परीक्षण गरेका हुन् ।

गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख समुन्द्र बरुवालले हरेक महिना स्वास्थ्यकर्मीहरू प्रत्येक टोलमा पुगेर सुगर (चिनीरोग) र प्रेसर (रक्तचाप)को परीक्षण गर्ने व्यवस्था मिलाएको जानकारी दिए ।

‘ज्येष्ठ नागरिक, बालबालिका र विपन्नहरूलाई लक्षित गरेर स्वास्थ्यकर्मी टोलमै पुगेर स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको हो’, उनले भने, ‘रोगको पहिचान गरी उपचारको पहुँचमा ल्याउन टोलटोलमा स्वास्थ्यकर्मी कार्यक्रम प्रभावकारी बनेको छ ।’

गत आर्थिक वर्षमा यो कार्यक्रमबाट एक हजार २०० जना लाभान्वित भएका थिए । परीक्षणका लागि सुरु गरेको कार्यक्रम प्रभावकारी बनेपछि यस वर्ष पनि आवश्यक सामग्रीसहित स्वास्थ्यकर्मीलाई टोलटोलमा परिचालन गरिएको स्वास्थ्य शाखा प्रमुख बरुवालले बताए ।

स्वास्थ्य संस्थामा पाइने औषधि लिएर टोलमा पुग्ने स्वास्थ्यकर्मीहरूले परामर्शका साथै निःशुल्क औषधि उपलब्ध गराउने गरेका छन् । परीक्षणका क्रममा समस्या देखिएकालाई थप उपचारका लागि अस्पताल जान सुझाउने गर्छन् । टोलमा पुग्ने स्वास्थ्यकर्मीले बच्चाहरूलाई खोप, गर्भवती र नवजात शिशुको तौल पनि लिने गरेका छन् ।

टोलमै सेवा पाउँदा समयको बचत र उपचारमा सहज पहुँच स्थापित भएको अन्नपूर्ण गाउँपालिका–५ स्वाँतकी वीनाकुमारी तिलिजाले बताइन् । आठ वटा वडा रहेको अन्नपूर्ण गाउँपालिकामा आठ वटा स्वास्थ्यचौकी, छ वटा सामुदायिक स्वास्थ्य एकाइ र दानामा आयुर्वेद स्वास्थ्य केन्द्र छ ।

छरिएका बस्तीहरू रहेको र स्वास्थ्यचौकी तथा एकाइमा पुग्न घण्टौँ हिँड्नुपर्ने टोलमा स्वास्थ्यकर्मी परिचालन गरिएको गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनले बताए । तोकिएको समयमा गर्भ परीक्षण र संस्थागत प्रसूति हुनेलाई घरमै पुगेर भाले उपहार दिने गरिएको छ ।

अन्नपूर्ण गाउँपालिकाले घरमा प्रसूति हुनेको सङ्ख्यालाई लगातार दोस्रो वर्ष शून्य अङ्कमा कायम राखेको छ । यहाँ आव २०८१-०८२ मा ७९ र २०८०-८१ मा ९१ जनाले सुरक्षित प्रसूति सेवा लिएका छन् । आव २०७९/८० मा १३९ मध्ये १३५ जनाले संस्थागत प्रसूति सेवा लिँदा एक जनाले मात्र घरमा र चार जनाले मृत बच्चा जन्माएका थिए ।

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ९ : १६ बजे

टप एण्ड टी-२० सिरिज : नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा

काठमाडौं । अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजमा नेपाल ‘ए’

पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे

कञ्चनपुर । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट नेपाल भित्रिने विदेशी पर्यटकको

प्रधानमन्त्री शाहले आज संसद्मा सांसदका प्रश्नको जवाफ दिँदै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सोधेका

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

काठमाडौं । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल)

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।