८ माघ २०८२, बिहिबार | January 22, 2026

घुन्सा र फलेटारमा स्याउ फल्यो : व्यावसायिक खेतीको नयाँ सम्भावना उजागार



ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ अन्तर्गतका हिमाली बस्ती घुन्सा र फलेटारमा स्याउखेतीको परीक्षण सफल भएको छ । स्थानीय किसान र विभिन्न संस्थाहरूले परीक्षणका रूपमा रोपेका स्याउ बिरुवाले फल दिँदा उत्साह बढेको छ ।

विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा आधार शिविर प्रवेशद्वारमा अवस्थित फले र घुन्सामा इटालीबाट ल्याइएका बिरुवा रोपिएको थियो । रोपेको ६ महिनामै स्याउ फल्न थालेपछि स्थानीय आशावादी बनेका छन् । हिमाली भूभागमा स्याउखेतीको यो सफल प्रयासले ताप्लेजुङमात्र होइन, सम्पूर्ण पूर्वी हिमाली क्षेत्रका किसानका लागि व्यावसायिक स्याउखेतीको नयाँ सम्भावना देखाएको छ ।

फलेटार र ग्याप्ला क्षेत्रमा विगतदेखि नै स्याउखेती हुँदै आएको भए पनि घुन्सामा पहिलोपटक परीक्षण गरिएको हो । मनाङ एग्रो फार्मको समन्वयमा इटालीबाट ल्याइएका ‘फुजी’ र ‘गोल्डेन डेलिसियस’ प्रजातिका स्याउका बिरुवा रोपिएको थियो ।

पुतली सहयोग योजना, स्वीट्जरल्याण्डको टोली र स्थानीय समुदायको साझेदारी तथा पुतली सहयोग आयोजनाको सहकार्यमा दिगो पर्यावरणीय कृषि प्रणाली कार्यक्रमअन्तर्गत फलेटार र घुन्सामा दुईदुई रोपनी क्षेत्रफलमा नमूना स्याउ बगैँचा विस्तार गरिएको छ ।

पुतली सहयोग योजनाका जिल्ला संयोजक दावाछिरिङ शेर्पाका अनुसार परियोजनाको उद्देश्य स्याउ उत्पादनसँगै अन्य कृषि उपजमार्फत किसानलाई आर्थिक रूपमा सशक्त बनाउनु रहेको छ ।

घुन्साका स्थानीय नुपुडुण्डुक शेर्पा अहिले आफ्नै स्याउ बगैँचा विस्तार गर्ने योजनामा छन् । उनले भने, ‘हामीले घुन्सामा र फलेमा रोपिएको स्याउ खायौँ । मीठो स्वादको स्याउ फल्यो । अब घुन्सा क्षेत्रमा स्याउखेती गर्ने योजनामा छौँ ।’ घुन्सामा उत्पादन भएको स्याउ सफल परीक्षण भएसँगै थप आम्दानीको स्रोत बढ्ने भन्दै स्थानीयवासी उत्साहित भएको शेर्पाले बताए ।

घुन्सास्थित नमूना बगैँचामा ६० जापानिज फुजी (पोथी), १० गोल्डेन डेलिसियस (भाले) र १० काला (भाले) प्रजातिका स्याउका बिरुवा रहेको छ । बगैँचामा जैविक विविधता कायम गर्न घार मौरी र कुखुरापालन गरिएको छ, यसले स्याउका फूलमा परागसेचनमा सहयोग पुर्‍याउने र माटो उर्वर बनाउने काम गरेको छ ।

स्याउखेतीको सम्भाव्यता अध्ययनका लागि चार वर्षअघि फलेटार र घुन्साको माटो स्वीट्जरल्याण्डमा परीक्षण गरिएको थियो । त्यसैगरी, फले र घुन्सामा उत्पादित स्याउको गुणस्तर परीक्षण पनि सफल भएको छ । स्वीट्जरल्याण्डबाट आएका स्याउ विशेषज्ञ टोलीले स्वाद, दाना र चिनीको मात्रा परीक्षण गर्दा सकारात्मक नतिजा प्राप्त भएको हो ।

पुतली सहयोग आयोजनाका कार्यक्रम संयोजक शेर्पाका अनुसार घुन्सामा उत्पादित स्याउ प्रजातिमध्ये फुजीमा १३ ब्रिक्स, गालामा १३.५ ब्रिक्स र गोल्डेनमा १७ ब्रिक्स चिनीको मात्रा पाइएको छ । यस्तै फलेमा उत्पादन भएका स्याउमध्ये फुजीमा १२ ब्रिक्स, गालामा १३.५ ब्रिक्स र गोल्डेनमा १५ ब्रिक्स मापन गरिएको छ ।

घुन्सा र फले क्षेत्रमा अहिले विदेशी सहयोगमा स्याउ बगैँचा सञ्चालन भइरहेको । यहाँ उत्पादन भएको स्याउको गुणस्तर सफल परीक्षण भएसँगै किसानलाई स्याउ बगैँचा विस्तार गर्न सहयोग गर्ने पुतली सहयोग आयोजनाका जिल्ला कार्यक्रम संयोजक शेर्पाले बताए । उनका अनुसार गत साता स्वीट्जरल्याण्डबाट आएका स्याउ विशेषज्ञ टोली घुन्सा पुगेर केही स्याउखेती गर्न चाहने किसानका जग्गा नापजाँचसमेत गरिएको शेर्पाले बताए ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ८ : ३० बजे

नेदरल्याण्ड्सले नेपाललाई दियो १४१ रनको चुनौती

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो दोस्रो

रास्वपाको चुनावी अभियान : इलाममा बालेन्द्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा

नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले बलिङ गर्दै

काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा

लामाखेतमा धमाधम नदी नियन्त्रणको काम हुँदै

म्याग्दी । लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ ।

आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपालले आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । काठमाडौंमा जारी आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट