बुटवल । ग्रासरुट फुटबल विकास गर्ने उद्देश्यका साथ बुटवलमा आइतबारदेखी छात्र/छात्रा फुटबल प्रतियोगिता सुरु भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को सहयोग तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको स्वर्गीय अनुपम घलान, आदित्य बलम्पाखी, दिवस बाँनिया, प्रियन्स आचार्य, विकल रेग्मी र साइमन योन्जन स्मृति एन्फा यू-१४ अन्तरविद्यालय फुटबल प्रतियोगिता २०८२ आइतबारदेखि देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा सुरु भएको हो ।
उद्घाटन खेलमा कुवँरवर्ती ईगलिस बोर्डिङ स्कुलले शान्ति नमुना सेकेण्डरी स्कुललाई ७-३ गोल अन्तरले पराजित गर्दै शानदार सुरुवात गर्यो । कुवँरवर्तीका लागि वर्षा सुनार खेलकी नायिका भइन् । उनले खेलमा डबल ह्याट्रिक गर्दै ६ गोल गर्दै आफ्नो उत्कृष्ट प्रदर्शन गरिन् । उनका गोल खेलका १९, २१, ३८, ४२, ५२ र ५३ औं मिनेटमा आएका थिए। खेलको १५ औं मिनेटमा सफलता गिरीले थप एक गोल गरिन् । शान्ति नमुनाकी स्वस्तिका चौधरीको ह्याट्रिक पनि जितका लागि पर्याप्त भएन ।

छात्रातर्फको अर्को खेलमा लुम्बिनी वर्ल्ड स्कुलले अक्सफोर्ड बोर्डिङ स्कुललाई ६-० गोल अन्तरले पराजित गर्यो । यस्तै छात्रातर्फ स्कलर्स होम बोर्डिङ स्कुलले कुवँरवर्ती ईगलिस बोर्डिङ स्कुललाई २-१ गोलले हरायो । स्कलर्सका सुजन भण्डारीले खेलको १० औं र २० औं मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे । कुवँरवर्तीका आवास शाहीले २९औं मिनेटमा सान्त्वना गोल फर्काए ।
यसैगरी अर्को रोमाञ्चक खेलमा सिद्धार्थ बोर्डिङ स्कुलले लुम्बिनी वर्ल्ड स्कुललाई ६-० को भारी अन्तरले पराजित गर्यो । सिद्धार्थका बिशाल बिकले ह्याट्रिक गरे । उनका गोल खेलका १८, १९ र ५५ औं मिनेटमा आए । प्रमिद थापाले ३७ र ४५ औं मिनेटमा तथा एलिन थापाले ५९ औं मिनेटमा गोल गर्दै टोलीलाई ठोस जित दिलाए ।
न्यु होराइजन ईगलिस बोर्डिङ स्कुलले बुटवल पब्लिक स्कुललाई ३-० ले हराउँदै सहज जित सुनिश्चित गर्यो । विजयी टोलीका लागि सजग थापा, अरिप्ट सूर्यवंशी र निर्णयराज पुनले गोल गरे ।
प्रतियोगितामा आज सोमबार छात्रातर्फ नवीन औद्योगिक मावि र ब्राइट स्टार ईगलिस बोर्डिङ स्कुल, ग्यालेक्सी बोर्डिङ स्कुल र कान्ति सेकेण्डरी स्कुल, शान्ति नमुना स्कुल र ग्रिन प्लान्ट बोर्डिङ स्कुल तथा अक्सफोर्ड सेकेण्डरी स्कुल र होराइजन जिबिएसबीच भिडन्त हुने खेल संयोजक बुद्धि गुरुङले जानकारी दिए । छात्रातर्फ न्यु होराइजन बुटवल र जनज्योति स्कुल तथा सिद्धार्थ बोर्डिङ स्कुल र नवीन औद्योगिक मावि बीच प्रतिस्पर्धा हुनेछ ।
मंसिर ७ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा छात्रातर्फ १६ तथा छात्रातर्फ ८ विद्यालय टोलीको सहभागिता रहेको छ ।


















प्रतिक्रिया