७ श्रावण २०८३, बिहिबार | July 23, 2026

‘प्रतिजैविक प्रतिरोध रोकथाम सबैको जिम्मेवारी’ : स्वास्थ्य सचिव श्रेष्ठ



बुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठले प्रतिजैविक (एन्टिबायोटिक) प्रतिरोध रोकथामका लागि व्यक्ति-व्यक्तिमा प्रभावकारी जानकारी र सचेतना पुर्‍याउन आवश्यक रहेको बताएकी छन् । मानवीय तथा पशु-दुवैको स्वास्थ्यमा औषधिको प्रभावकारिता क्रमशः घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले यस समस्याबाट जोगिन प्रत्येक नागरिक सचेत हुनुपर्ने आवश्यकता औंल्याइन् ।

विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह समापनका अवसरमा सोमबार लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा आयोजित अन्तरक्रियामा बोल्दै सचिव श्रेष्ठले औषधीको अर्थ, महत्व र सही प्रयोगबारे जनस्तरमा जानकारी नहुँदा समस्या बढ्दै गएको बताइन् । प्रतिजैविक प्रतिरोध रोक्न स्वास्थ्य क्षेत्रको मात्र प्रयास पर्याप्त नहुने भन्दै उनले ‘‘सबै नीतिमा स्वास्थ्य’’ भन्ने अवधारणा ल्याउने तयारी भइरहेको उल्लेख गरिन् । उक्त अवधारणाले स्वास्थ्य सेवा, औषधीको गुणस्तर, सचेतना तथा समग्र स्वास्थ्य सुरक्षा प्रणालीलाई मजबुत बनाउने अपेक्षा व्यक्त गरिन् ।

कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य महाशाखा प्रमुख नोदनारायण चौधरीले चिकित्सकको सल्लाहबिना औषधि प्रयोग गर्ने, मात्रा र समयअनुसार औषधि नलिने जस्ता गलत बानीले प्रतिजैविक प्रतिरोध तीव्र रुपमा फैलिएको बताए । सही औषधि प्रयोग नगर्दा भविष्यमा ठूलो स्वास्थ्य संकट निम्तिन सक्ने भन्दै उनले जिम्मेवार व्यवहार अपनाउन आग्रह गरे ।

अन्तरक्रियामा दुईवटा कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. इन्द्र ढकालले औषधि दिने व्यक्तिसँग मात्र होइन, सेवन गर्ने व्यक्तिले पनि यसको सही प्रयोगबारे जानकारी पाउन आवश्यक रहेको बताए । अस्पतालले स्वास्थ्य सेवा गुणस्तरीय र सहज बनाउन प्रविधि र पूर्वाधार विस्तारलाई प्राथमिकताका साथ अघि बढाइरहेको उनले जानकारी गराए ।

उनका अनुसार अस्पतालमा पौष महिनाभित्र एमआरआई सेवा सञ्चालन हुन लागेको छ भने अत्याधुनिक सिटी-स्क्यान मेसिन खरिद प्रक्रिया भइरहेको छ । लुम्बिनी प्रदेशमै पहिलोपटक मेमोग्राफी सेवा सञ्चालन गरिएको उनले बताए । मातृ मृत्यु दर कम गर्नका लागि पोष्ट-अप अपरेटिभ थिएटर, रिकभरी वार्ड लगायत आवश्यक संरचनाहरू सञ्चालनमा ल्याइएको उनले जानकारी गराए । साथै, आकस्मिक सेवामा हुने भीड व्यवस्थापनका लागि मेडिकल वार्ड विस्तार तथा ४८ घण्टासम्म सुत्केरी आमालाई राख्न छुट्टै वार्ड निर्माण कार्य पनि जारी रहेको मेसु ढकालले बताए । अस्पतालमा टेलिमेडिसिन सेवा पनि उपलब्ध गराइएको छ ।

कार्यक्रममा माइक्रोबायोलोजिस्ट कन्सल्टेन्ट डा. प्रविता ज्ञवाली र डा. गौरव गंगालले कार्यपत्र प्रस्तुत गरेका थिए । अस्पतालका प्रयोगशाला प्रमुख डा. प्रभाकर कुमार चौधरीको स्वागत र प्रयोगशाला इन्चार्ज मानबहादुर श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

सरकारले नोभेम्बर १८ देखि २४ सम्म ‘प्रतिजैविक प्रतिरोध रोकथाममा आजैबाट जुटौँ, हाम्रो वर्तमान जोगाऔँ, भविष्य सुरक्षित पारौँ’ भन्ने नारासहित देशभर विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह मनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ६ : १६ बजे

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी

शिक्षामन्त्री पोखरेलले एजुकेसन कन्सल्टेन्सी सञ्चालकहरुसँग छलफल गर्दै

काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

पोखरा । सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यक : महालेखापरीक्षक राया

काठमाडौं । महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट